नेताहरू दुई धारमा विभाजित भएपछि सिट बाँडफाँटमा झनै सकस-Sutra News

नेताहरू दुई धारमा विभाजित भएपछि सिट बाँडफाँटमा झनै सकस

बुधबार, ८ भाद्र २०७९

बुधबार, ८ भाद्र २०७९

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते हुने भएपछि अहिले विभिन्न राजनीतिक दलहरु चुनावी तयारीमा लागिसकेका छन् । निर्वाचनमा चुनावी तालमेल गरेर जाने पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न सकस परिरहेको छ । सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक बसिरहे पनि टुंगो लाग्न सकिरहेको छैन ।



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठक छलफल शुरु हुनै लाग्दा नेताहरु दुई धारमा विभाजित भए । बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र गठबन्धनका अन्य दलका नेताहरु अर्को तिर भए ।

बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’ बारे छलफल हुनै नपाएको एक नेता बताउँछन् । कांग्रेसले गएको स्थानीय तह निर्वाचनको परिणामलाई आधार मानेर ‘मोडालिटी’ बनाइनुपर्ने कुरा राखेको छ भने गठबन्धनका अन्य दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले भने फरक कुरा राखे ।

उनीहरुले प्रतिनिधिसभामा २०७४ को निर्वाचनमा पाएको सिटलाई आधार मानेर मोडालिटी बनाउनुपर्ने कुरा राखे । गठबन्धन दलका नेताहरु दुई धारमा देखिँदा सिट बाँडफाँट गर्न धेरै नै सकस पर्ने देखिन्छ । बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने वान टु वान वार्ता गरेपछि सिट बाँडफाँड टुंगिने बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको प्रतिनिधिसभामा ६० सिट आफूहरुले पाउनै पर्ने दाबी छ । यसअघि २०७४ को निर्वाचनमा माओवादीले नेकपा एमालेसँग तालमेल गर्दा ३७ सिट जितेको थियो ।

जसमा एमाले र माओवादीबीच ६०-४० को भागबण्डा भएको थियो । स्थानीय तहको निर्वाचनमा सिट बाँडफाडमा भेदभाव गरिएको भन्दै असन्तुष्टि जनाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी लगायत जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले भने ५०–५० को भागबन्डा गर्नुपर्ने कुरा राख्दै आएका छन् ।

यता कांग्रेसले आफू एक्लै लड्दा पनि ८० सिट ल्याउन सक्ने अनुमान लगाउन थालेको छ । त्यति मात्र होइन कांग्रेसले सय सिट दाबी गर्न भ्याएको छ । सिट बाँडफाडको लागि बनेको कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुईरदुई जना सदस्य छन् ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट