नेपाल गरीब हुनुमा पुरानो राजनीतिक नेतृत्वको दोष छ – अनुप बोहोरा [अन्तर्वार्ता]-Sutra News

नेपाल गरीब हुनुमा पुरानो राजनीतिक नेतृत्वको दोष छ – अनुप बोहोरा [अन्तर्वार्ता]

बुधबार, २५ साउन २०७९

बुधबार, २५ साउन २०७९

यही आउँदो मङ्सिर ४ गतेका लागि घोषणा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका तयारीमा राजनीतिक दलहरू लागेका छन् । राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारहरू पनि मैदानमा भिड्ने तयारीमा देखिएका छन् ।



पुराना राजनीतिक दल र नेताहरूलाई विस्थापित गर्ने अभियान पनि चलिरहेको छ । यसै क्रममा काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेका अनुप बोहोरासँग सुत्रन्यूजले कुराकानी गरेको थियो ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश –

तपाइँ आगामी प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा उठ्दै हुनुहुन्छ, किन ?

चुनावमा उठ्नु संविधानले नागरिकहरुलाई दिएको एउटा अधिकार हो । म आफू जन्मेको हुर्केको र दुख गरेको आफ्नो ठाउँ तथा देशलाई नै एउटा दिशातर्फ लैजान तथा सम्वृद्धिको उचाईमा लैजानका लागि मा चुनावमा उठेर नेतृत्वमा पुग्न चाहन्छु । त्यसमा पनि म सक्षम छु । मलाई कुनै पार्टीले टिकट दिनुपर्ने अवस्था छैन । देशलाई अब युवा नेतृत्वको खाँचो छ भनेर नै मैले मेरा साथि भाईहरु युवाहरु, बुद्धिजीवीहरुसँग सल्लाह गरेर नै मैले मेरो उम्मेदवारी घोषणा गरेको हो । मैले गत जेष्ठ ३० गते सामाजीक संजालबाट उम्मेदवारी दिने जानकारी गराएको थिएँ ।

चुनावमा उम्मेदवारी त दिने घोषणा गर्नुभएको छ यहाँको भिजन तथा मिसन के हो ? खासगरी यो चुनावमा उठ्ने सांसद बन्ने भन्ने कुरा सबै केमा केन्द्रीत छ ?

हुन त म एक व्यवसायी हुँ । म आइटी क्षेत्रसँग सम्बन्धीत रहेको छु । देशको एउटा जिम्मेवार पदमा पुगिसकेपछि देशमा सुशासन भ्रष्टाचारलाई हटाउनु नै मेरो खास उद्धेश्य हो । आजको देश राजनीतिक कारणहरुले नै अस्तव्यस्त बनेको छ ।

यो सबैलाई थाहा नै छ । एउटा सांसद भइसकेपछि धेरैभन्दा धेरै जिम्मेवारी आइपर्छन् । हाम्रो देशको केही पनि क्षेत्रहरु आवश्यक तरिकाले व्यवस्थापन हुन सकेको छैन । देशमा भएको अव्यवस्थित कुराहरुलाई व्यवस्थापन गर्नेतर्फ लैजान पहल गर्नु नै मेरो मुख्य उद्धेश्य हो । म एक व्यवसायसँग जोडिएका कारण देशलाई कसरी आर्थिक सम्वृद्धिको पाटोमा अगाडी लैजान सकिन्छ भन्ने कुरामा मेरो ध्यान रहन्छ । कृषि, पर्यटन, निर्माण, प्रविधिहरुलाई प्रयोग गरेर देशलाई कसरी आर्थिक सम्वृद्धिको बाटोमा अगाडी लैजान सकिन्छ भन्ने कुरा नै मेरो प्राथमिकतामा रहेको छ ।

देशमा भएका स्रोत साधनहरु प्रयोग गरेर अगाडी लैजान सकिन्छ भन्ने कुराको सुरुवाती अनुसन्धान गरेर कार्य अगाडी बढाउनुपर्छ भन्ने मेरो मान्यता हो । नेपाल गरिब हुनुमा अर्थात यो अवस्थामा आउनुको पछाडी सबै नेतृत्वको नै दोष हो भन्ने मलाई लाग्छ । त्यसैले यो सुध्रनुपर्छ, भिजन र मिसन भएका व्यक्तिहरुले मात्र देशको नेतृत्व पाउनुपर्छ ।

एउटा कुरा के भने तपाइँ व्यवसायी हो तपाइँको पृष्टभूमि राजनीति होइन तर संघीय चुनावमा नै लड्ने तयारी गर्नुभएको छ नेपालको सिस्टम फेरी उही राजनीति गर्नेले राम्रो नराम्रो गरे पनि उनैलाई जिताउने भन्नेमा छ तपाइँलाई जनताहरुले विश्वास के आधारमा विश्वास गरेर भोट देलान् ?

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने राजनीतिक दलप्रति जनताको वितृष्णा दिनानुदिन बढ्दै छ । जनताले राजनीतिक दल को हुन् के हुन् भनेर लगभग बुझिसकेको अवस्था छ । म मेरो आफ्नै केही महत्वाकांक्षाले चुनाव लड्न लागेको होइन । म युवाहरुकै साथ् सल्लाह हौसलाले गर्दा चुनावमा उठ्न लागेको हुँ । अनि अर्को कुरा के भने उही पुराना नेता उही पुरानो सिस्टमले जनताहरु वाक्कदिक्क भइसकेका छन् । यो कुरा स्थानीय तहको चुनावले पनि पुष्टि गरेको छ । देशलाई सुशासन तथा सही ट्रयाकमा ल्याउने जिम्मेवारी अब युवाहरुको हो, सक्षम व्यक्तिहरुको हो भन्ने कुरालाई जनताहरुले बुझिसकेको अवस्था छ ।

म युवा व्यवसायी भएका कारणले व्यवसाय गरेर सम्वृद्धिको बाटो तय गर्नका लागि मसँग ज्ञान छ । एउटा व्यवसायी र सम्बन्धीत क्षेत्रको ज्ञान भएका कारण मा राजनीतिमा छिरेर समग्र देशलाई नै आर्थिक उपार्जनको बाटोमा लैजान सहायोग गर्छु भन्ने विश्वास जनतालाई दिलाउन सक्छु भन्ने लाग्छ । म अहिले ३१ वर्षको भएँ अब जनताहरु आँफै सोच्न सक्नुहुन्छ कि मेरो राजनीतिक करियर कति लामो छ भनेर ।

देशमा पटकपटक प्रधानमन्त्री भइसकेका र अझै हुने दाउ छोपेर बसेका नेताहरुले स्वतन्त्र उम्मेदवारमाथि खिसिट्युरी गरेको उदाहरणहरु यहाँले पक्कै देख्नुभएको छ उनीहरुको दिमागमा स्वतन्त्रले केही गर्ने सक्दैन भन्ने कुरा भरिएको छ नेतृत्वमा पुगिहाले साथ नहुने खालको संकेत गरिरहन्छन् यसमा तपाइँको दृष्टिकोण के हो ?

उहाँहरुले देशमा लामो समयदेखि राजनीति गर्नुभयो । लड्नुभयो, आन्दोलन गर्नुभयो । देशलाई एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा रुपान्तरण गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल आदी । उहाँहरुले अब देशको नेतृत्व अरुलाई सुम्पनुपर्छ । उहाँहरुले अब आराम गर्ने बेला आएको छ । उहाँहरुको अभिव्यक्तिमा म थप टिप्पणी गर्न चाहन्न ।

प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिंदै हुनुहुन्छ अहिलेका युवाहरुको मनोभावना सम्बोधन गर्ने खालका एजेण्डाहरु तपाइँसँग केके छन्  त नि ?

म पनि ३१ वर्षको युवा नै हुँ । अहिले देशको स्थिति के छ भन्दा धेरैभन्दा धेरै युवाहरु बेरोजगारी साहन नसकेर विदेश जानुपर्ने बाध्यता हामिकहाँ रहेको छ । देशमै राम्रो गर्छु भन्नेलाई अवसर छैन स्रोत साधन केही पनि छैन ।

मलाई याद छ । आजभन्दा झन्डै ७ वर्ष अगाडी मलाइ पनि मेरो परिवारले अष्ट्रेलिया, अमेरिका युरोपका अन्य देशहरु जान फोर्स गरिरहनुहुन्थ्यो । तर मलाई के लाग्थ्यो भने विदेशको सट्टामा यही केही न केही गर्नुपर्छ ।  त्यसैले नेपालमै केही गर्नका लागि म मा भित्रैदेखि उर्जा भरिएर आयो । मैले त्यतिबेला नै व्यवसाय सुरु गर्छु भन्ने आँट गरे । आज त्यसैलाई निरन्तरता दिंदैछु ।

आजका युवाहरुको प्रमुख समस्या भनेको आत्मनिर्भर हुन नसक्नु हो । त्यो पनि स्रोत र साधनहरु तथा राज्यको युवामैत्री कार्यक्रमहरु नल्याएका कारण । नेपालमा भएका स्रोत साधनहरु प्रयोग गरेर सरकारलाइ सशक्त बनाएर, युवाहरुको इच्छा बुझेर त्यहीअनुसार अगाडी बढ्ने मेरो मुख्य उद्धेश्य हो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट