नेताहरुकै लाइनमा बालेन !-Sutra News

नेताहरुकै लाइनमा बालेन !

बिहिबार, ३० असार २०७९

बिहिबार, ३० असार २०७९

काठमाडौं – कुनैबेला काठमाडौं महानगरबासीको लागि आशलाग्दा मेयर बनेका बालेन्द्र शाह ‘बालेन’ अहिले महानगरबासीको आखाँमा बिझाउँन थालिसकेका छन् । गएको स्थानीय तहको निर्वाचनमा ठुला राजनीतिक दलका उम्मेदवारहरुलाई फराकिलो मतले पराजित गर्दै उनी स्वतन्त्र उम्मेदवारबाट काठमाडौं महानगरपालिकाको मेयर बनेका थिए ।



राजनीतिक दलको कामबाट सन्तुष्ट नभएका काठमाडौंबासीले यसपटक एक युवा र स्वतन्त्र उम्मेदवारबाट काठमाडौंको फोहर व्यवस्थापन लगायतका कामको आश गरेका थिए । तर लामो समयदेखिको फोहर व्यवस्थापनको समस्या बालेनले समाधान गर्न सकेनन् ।

शुरुमा काठमाडौंको फोहर व्यवस्थापन होला-होला जस्तो भए पनि अहिले जस्ताको त्यस्तै छ । काठमाडौंका विभिन्न स्थानमा अहिले फोहरको थुप्रो देखिन्छ । मानिसहरु उही पुरानै अवस्था जस्तो नाक थुनेर हिड्न बाध्य छन् । यति मात्र होइन पछिल्लो समय विभिन्न काण्डले पनि उनको आलोचनाका आवाजहरु सुनिन थालिएको छ ।

सडक पेटीमा मकै बेचेर गुजारा चलाउनेमाथि काठमाडौँ महानगरले डण्डा चलाएपछि बालेनको आलोचना गर्न थालिएको थियो । पछि फेरि उनी सालिक काण्डमा पनि फसे । काठमाडौँ महानगरले ¥यापर यमबुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएपछि त्यसको व्यापक आलोचना भयो ।

यमबुद्ध तिनै ¥यापर हुन् जसले ‘जीवनदेखि हार खाएर’ आफ्नै ज्यान फालेका थिए । मकै काण्डको आलोचनाको ‘आलो घाउ’ सुक्न नपाउँदै मेयर बालेनले अर्को घोषणा गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भयो । त्यति मात्र होइन सालिकको आलोचना सहन नसकेर उनले फेरि अर्को गल्ती गरे । आफ्नै तलबबाट यमबुद्धको सालिक काठमाडौंमा बनाउछु भनेपछि महानगरबासी झन अचम्मित परेका छन् । दैनिक मकै पोलेर गुजारा गर्नेलाई डण्डा चलाउने बालेन आफ्नै ज्यान फाल्ने एक ¥यापरको सालिक बनाउन किन कस्सिए ?

के काठमाडौँ महानगरवासी उनको सालिक बनाउँदा खुशी हुन्छन् ? महानगरवासीको गाली सहने र नयाँ काम गरेर देखाउने भनेका मेयर बालेनको के यहि हो नयाँ काम ? महानगरमा कुनै योगदान नै नगरेका यमबुद्धको सालिक किन महानगरमै बनाउने ? धरहरालाई सेतो टावर भन्न भ्याउने बालेन एउटा विना योगदानका यमबुद्धको सालिक बनाउन किन तम्सिए ? यो धेरैको प्रश्न पनि छ ।

महानगरको फोहरको व्यवस्थापन छाडेर सालिकमा मन लगाउँदा आश गरेका महानगरवासी अहिले उनको अरु कामको आश गर्न छाडिसकेका छन् । महानगरवासीले अहिले उनी पनि नेताहरुकै लाइनमा उभिन थालेको टिप्पणी गर्न थालेका छन् । आफूले गरेको वाचा भुसुक्कै बिर्सिएर प्रतिबद्धता विपरित काम गरेको महानगरवासीहरु बताउँछन् ।

काठमाडौंको मेयरमा निर्वाचित भएपछि र सपथको बेलामा पनि माला र खादा पनि नलगाएका बालेनले एक कार्यक्रममा माला लगाएरै सम्बोधन गरेपछि महानगरवासी झनै निराश बनेका छन् । उनले त्यससमय फोहोर ब्यवस्थापन नभएसम्म खादा नलगाउने बताएका थिए । तर व्यवस्थापन जस्ताको तेस्तै छ । बालेनले यो बाचा तोडेपछि महानगरवासी आक्रोशित हुँदै मिडियामा दुखेसो पोखेका छन् । अहिले महानगरवासी भन्छन् – ‘जुन जोगी आए पनि कानै चिरेको’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट