पार्टीले रोजे, अधुरा काम पुरा गर भने फेरी मेयरमा उठ्छुः विद्याशुन्दर शाक्य-Sutra News

पार्टीले रोजे, अधुरा काम पुरा गर भने फेरी मेयरमा उठ्छुः विद्याशुन्दर शाक्य

आइतबार, २६ मंसिर २०७८

आइतबार, २६ मंसिर २०७८

काठमाडौं महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले अर्को कार्यकाल पनि मेयरमा उठ्न तयार रहेको बताएका छन् । २७ औं काठमाडौं महानगर दिवसका अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मेयर शाक्यले पार्टीले विश्वास गरेर टिकट दिए पुनः मेयरमा उठ्न तयार रहेको बताएका हुन् ।



शाक्यले पार्टीको निर्णय अनुसार चल्ने बताउँदै सुरु गरेका तर अपुरो नै रहने कामहरुलाई पुरा गर्न पनि मेयरमा पुन उठ्नुपर्ने अवस्था आउने बताए । उनले भने– ‘मैले सुरु गरेका काम अपुरो रहेका र त्यो काम यसैले पुरा गरोस भनेर पार्टीले मलाई रोज्छ भने मैले नाई भन्ने कुरा हुँदैन ।’ उनले आफ्नो साढे ४ वर्षको अवधिमा ५४ वटा काम भएको र केही काम सुरु गरेको भन्दै त्यो यही कार्यकालमा पुरा नहुने बताए । शाक्य २०७४को स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाडौंको मेयरमा निर्वाचित भएका थिए ।

कार्यक्रममा शाक्यले उपत्यका विकास प्राधिकरणको कुनै काम नभएको भन्दै खारेजीको माग गरे । ‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो, उसको काम भनेको नीति बनाउने हो,’ मेयरश शाक्यले भने, ‘स्थानीय निर्माणका सबै काम स्थानीय तहले गर्ने हो, यो अधिकार स्थानीय तहमा आएपछि यस्तै प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’

त्यसैरी उनले संघीय र प्रदेश सांसदहरुलाई पनि सकेसम्म एकिकृत योजनासहित ठूला–ठूला योजनाका काम गर्न आग्रह गर्दै महानगरपालिकाले गर्ने काममा बजेट खर्च नगर्न सुझाव दिए । ‘माननीयज्युहरुको पनि बाध्यता छ । आफूलाई जिताएर पठाएका मतदाताको माग अनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ,’ उनले भने, ‘सकेसम्म उहाँहरुले संसदकोषको बजेटबाट मिलेर ठूला–ठूला योजनाका काम गरिदिनुहोस् भन्ने छ ।

शाक्यले महानगरले १९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको बताए । उनले १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए ।

‘मेरो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २२६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ शाक्यले भने, ‘वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको छ । वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालयहरू निर्माणाधीन अवस्थामा छन् । वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरूको स्तरोन्नति गरिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट