नेपालको हित विपरित एमसीसी स्वीकार्न सकिदैन : अध्यक्ष नेपाल-Sutra News

नेपालको हित विपरित एमसीसी स्वीकार्न सकिदैन : अध्यक्ष नेपाल

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

नेपालगन्ज- एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ । 



युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगञ्न्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको हित विपरीत हुने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताए ।

‘एमसीसीमा भएका बुँदाहरू प्रष्ट  हुनुपर्छ । मैले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि त्यही सुझाव दिएको छु । नेपालको स्वाभिमान कायम हुने गरी जवाफ आए मात्र त्यस विषयमा छलफल  गर्न सकिन्छ’, नेपालले भने ।

नेपालले एमालेमा कम्युनिस्टको गुण नरहेको समेत टिप्पणी गरेका छन् । उनले एमालेलाई केपी ओलीले निजी कम्पनी जस्तो बनाएकाले बाध्य भएर आफूले विभाजनको बाटो रोज्नु परेको बताए ।

एकीकृत समाजवादीको गठनले एमालेमा नयाँ तरंग पैदा भएको उनको दाबी छ । ‘एमालेले प्रतिनिधि सभामा गरेको हर्कत गलत छ । संवैधानिक अंग र सभामुखको मानर्दन गर्ने कार्य निन्दनीय छ । यसले ओलीलाई पतनको बाटोमा लग्ने छ’, नेता नेपालले भने ।

आफूहरू माओवादीमा विलय हुने भन्ने हल्ला भ्रम मात्रै भएको उनले बताए । आगामी निर्वाचनमा गठबन्धन भने गरेर अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट