जसले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाए-Sutra News

जसले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाए

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसियाकप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।



मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिती राईसहित, निशा थोकर,  स्ट्राइकर रजनी थोकर, रश्मि घिसिङ, सविता राना मगर, विमला विक र सृजना सिंह ठकुरी रहेका छन् ।

अन्य खेलाडी भने पुरानै अनुहार छन् । यस पटक शर्मिला थापाले टोलीमा स्थान बनाउन सकिनन् । यस्तै पहिलो चरणमा कोरोना कारण रेखा पौडेल टोलीबाहिर रहिन् । यस्तै घुडाको शल्यक्रिया गर्न कतार अस्पेटारमा रहेकी सावित्रा भण्डारी साम्बा पनि टोलीमा छैनन् ।

नेपाली टिमले छनोट खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ । यस्तै २१ तारिखमा हङ्कङको सामना गर्नेछ । यसअघि समूह एफको खेल नेपालमा हुने भनिए पनि कोरोनाको कारण उज्वेकिस्तानमा सरेको छ । प्रत्येक समूहका विजेताले एसियाकप खेल्न पाउने छन् ।

पहिलो पटक स्थान बनाउने खेलाडी

प्रिती राई

मिडफिल्डर प्रितीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । गत राष्ट्रिय लिगमा एपीएफबाट खेलेकी प्रिती दोस्रो प्रयासमा राष्ट्रिय टोलीमा पर्न सफल भएकी हुन् । लिगमा उनले दुई गोल गरेकी थिइन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षणमा रहेकी प्रिती भुटानमा भएको साफ यू–१५ खेल्न पुग्दा राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन् । काठमाडौं निवासी प्रिती उमेर समूह यू–१५ को कप्तान हुन् । उनले यू–१९ टोलीबाट समेत खेलेकी छन् । प्रिती हालको राष्ट्रिय टोलीको कान्छी सदस्य हुन् ।

निशा थोकर

अग्लो कदकी निशाले पहिलोपटक राष्ट्रिय टोलीमा डेब्यू गर्दैछिन् । महिला फुटबल र एकेडेमीको लागि उर्वर भूमि मानिने रौतहटको खेलाडी हुन् थोकर । उनले गत लिग विभागीय एपीएफ क्लबबाट खेलेकी थिइन् । लिगको उपाधिसमेत एपीएफले जितेको थियो । यसअघि डिफेण्डर निशा १३ औं साग र हिरो गोल्डकप भारतमा खेल्न जाने टोलीको प्रारम्भिक प्रशिक्षणमा रहेकी थिइन् । निशाले नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छन् ।

रजनी थोकर

स्ट्राइकर रजनी थोकर पनि पहिलोपटक राष्ट्रिय टोलीमा परेकी हुन् । उनी पहिलो प्रयासमै टोलीमा स्थान बनाउन सफल भइन् । स्ट्राइकर रजनीले राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् । उनले नेपालको उमेर समूहको प्रतिनिधित्व गरिसकेकी छन् ।

रश्मि घिसिङ

त्रिभुवन आर्मी फुटबल क्लबकी रश्मि घिसिङ पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । उनी दोस्रो प्रयासमा टोलीमा परेकी हुन् । गत लिगमा रश्मिले एक ह्याट्रिकसहित ६ गोल गरेकी थिइन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) चोटका कारण टोलीबाहिर रहेसँगै रश्मिलाई अट्याक लाइनमा प्रमाणित गर्ने अवसर छ ।  रौतहटकी रश्मीले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छन् ।

सविता राना मगर

राष्ट्रिय लिगमा साविता राना मगरले चौदण्डीगढीविरुद्ध ह्याट्रिकसहित ४ गोल गरेकी थिइन् । सविताले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । उनी दोस्रो अवसरमा टोलीमा अवसर पाउँदै छिन् । सविताले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलेकी छन् । मिडफिल्डर सवितालाई प्रशिक्षकले आवश्यकताअनुसार अट्याकमा पनि बढाउन सक्छन् ।

विमला विक

राष्ट्रिय महिला लिगमा प्रभावशाली प्रदर्शन गरेकी विमलासमेत पहिलोपटक राष्ट्रिय टिमको ढोका खोलेकी हुन् । डिफेण्डर विमलाले आर्मी क्लबबाट प्रतिनिधित्व गर्दै २ गोल गरेकी थिइन् । उमेर समूहमा समेत अब्बल प्रदर्शन गरेकी विमलाले राष्ट्रिय टोलीमासमेत डेब्यू गर्न लागेकी हुन् । विमलाले उमेर समूहमा यू–१५, १६ र १९ बाट खेलिसकेकी छन् ।

सृजना सिंह ठकुरी

विराटनगर महानगरपालिकाबाट राष्ट्रिय लिगमा प्रतिनिधित्व गरेकी सृजना सिंह ठकुरी पनि पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दैछिन् । पश्चिम नेपालकी डिफेण्डर सृजनाले पहिलो अवसरमै राष्ट्रिय टोलीको ढोका खोलेकी हुन् । उमेर समूहमा सृजनाले नेपालको यू–१९ टोलीबाट खेलेकी छन् । समाचार एजेन्सी न्युज कारखानाबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट