[ब्लग] कोरोना त्रास हटाउन जिपलाइन-Sutra News

[ब्लग] कोरोना त्रास हटाउन जिपलाइन

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

कोरोना भाइरसको महामारी फैलिएर आफ्नै टोल, सहरसम्म आइपुगेपछि मनमा एक किसिमको डरलाग्दो त्रासले जरा गाड्यो । देश-विदेशमा संक्रमणले ज्यान गुमाइरहेका मानिसहरु, पीडामा छटपटाइरहेका आफन्तहरु, भरिएका अस्पताल र थकित डाक्टर, नर्सको अवस्थाले सधैं व्यस्त र चमकधमक भइरहेको सिंगो विश्वको अनुहार नै फेरिएको थियो ।



यस्तो अवस्थामा लामो समय घरभित्रै बस्नुपर्दा झन् उकुसमुकुस भएर आत्मबल कमजोर हुँदै गएको महसुस गरिरहेकी थिएँ । अब के गर्ने त ? मनको त्रास हटाउन आफूलाई बलियो बनाउने उपायहरु सोच्दै जाँदा केही साहसिक खेलहरु दिमागमा आए ।

विस्तारै कोरोनाको संक्रमण घटेर बन्द भएको समय खुल्न थालेपछि धुलिखेल जान मन लाग्यो । केही समयदेखि लगातार दाई विष्णुकान्त घिमिरेले सोसल मिडियामा धुलिखेलमा नयाँ एडभेन्चर गेम जिपलाइनबारे सेयर गरिरहेको देखेकी थिएँ । त्यसपछि मलाई पनि जिपलाइनले विस्तारै तान्यो । एडभेन्चरमा मेरो त्यस्तो धेरै अनुभव केही थिएन् । डाँडा पाखा त चढेको हो, हिँडेको हो तर ती अलि फरक थिए ।

जिपलाइन भने नेपालीकै लागि नयाँ नाम र नयाँ खेल हो । पछिल्लो समय नेपाली वयस्कहरुमा एडभेन्चरप्रतिको आकर्षण बढेको छ । यो नेपालजस्तो साहसिक पर्यटनका लागि उपयुक्त भौगोलिक बनावट भएको देशमा आन्तरिक पर्यटनलाई उकास्नेतर्फको सकारात्मक लाइन हो ।

एकपटक घरनजिकै क्यानोनिङका लागि परीक्षण हुँदा म पनि गर्छु भनेर तयार भएँ, जब मेरो पालो आयो मैले तल हेर्दा डर लाग्यो अनि छोडे । एडभेन्चर देख्दा मात्रै सजिलो र रमाइलो लाग्ने रैछ । आफैंले गर्न भने थोरै साहस जुटाउनु नै पर्ने । त्यसैले पनि यसलाई साहसिक खेल भनिएको होला ।

त्यति बेला अग्ला ठाउँमा जान डर लाग्दैनथ्यो । तर कोरोनाको डरले एन्जाइटी बढेर अग्लो स्थानमा जान मलाई अलि गाह्रो पर्न थालेको थियो । सोचेँ एकपटक जिपलाइन गरुँ अनि केही डर कम हुन्छ की ? लामो समयदेखि योजना बनाएर बसेँ । त्यसपछि फेसबुकमा धुलिखेल जिपलाइनको पेज सर्च गरेर हेर्न थाले । साना केटाकेटीदेखि ७० वर्षका हजुरबुवाले पनि जिपलाइन गरेको देखेपछि मलाई सक्छु भन्ने आँट आयो ।

अनि धुलिखेल जाने निर्णय गरे । कोरोना भाइरसको दोस्रो लहर नेपालमा सुरु हुनुभन्दा केही दिन अगाडि विष्णु दाईसँग सम्पर्क गरेर श्रीमान्सँगै बैशाख १० गते धुलिखेल पुगेँ । काठमाडौंबाट लगभग एक घण्टामा धुलिखेलको टेक अफ हुने ठाउँ थाक्ले डाँडा पुगेर जिपलाइनको डोरी हेर्दा उत्साहित भएँ । त्यतिबेला भने आँफैलाई अचम्म लाग्यो । अग्ला डाँडा र भिर देखेर डराउनुपर्ने म त्यहाँ पुग्दा विपरित भयो, म त झन् रमाएँ ।

जिपलाइन गराउँदा दोहोरो सुरक्षा कवच बनाइएको रहेछ । यसपछि डराउन पर्ने रहेनछ । जिपलाइनका लागि हार्नेस लगाउँदै गर्दा त्यहाँ प्रयोग भइरहेका उपकरण र तीनको सुरक्षा मापदण्डका बारेमा विस्तृत जानकारी पाएपछि मन ढुक्क भयो । हामी त्यहाँ भएका तीन प्रकारका जिपलाइनमध्ये कपल जिपलाइन गर्न गएका थियौ ।

दुवै जनासँगै भएपछि डर कम होला भन्ने मेरो मनमा थियो, तर त्यति साहै डर लागेन् । टावरमाथि चढिसकेपछि ११ सय मिटरको दुरीमा रहेको ल्यान्डिंग बिन्दु हेरेँ, एकपटक लामो सास फेरे । एक हातले डोरी समाउनुपर्ने, अर्को हातले सँगैको साथीलाई समाउनुपर्ने भएपछि गोप्रोबाट भिडियो खिच्न विवेकलाई जिम्मा लगाएँ ।

विस्तारै उडानको समय आयो । जब डोरीमा सररर सर्न थालेपछि सुरुमा हल्का डरको अनुभूति त भयो । खेत, बारी र जंगल हेर्दै उड्दा १ मिनेट बढी समय सकिएको पत्तै भएन । ल्यान्ड भइसकेपछि समय थोरै भएको महसुस भयो । अब फेरि, अर्कोपटक पनि जिपलाइन गर्न आउनुपर्छ भन्ने लाग्यो । पहिलोपटक गरेको साहसिक खेल जिपलाइन पछि मनको धेरै डर हटेकाे जस्तो भयो ।

धुलिखेलको जिपलाइनको बारेमा भन्नुपर्दा त्यहाँ क्लासिक, सुपरम्यानर टेण्डममध्ये धुलिखेल जिपलाइनले सुपरम्यान मोड नेपालमै पहिलोपटक सञ्चालन गरेको रहेछ । जिपलाइनमा तीन किसिमबाट रमाइलो गर्न सकिन्छ । तर यहाँको सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो ।

जिपलाइनले सबै उमेर समूहका व्यक्तिको मनोरञ्जन र एडभेन्चरको सपना पूरा गर्न चिल्ड्रेन एड्भेन्चर क्याम्पअन्तर्गत बालबालिकाका लागि बेबी जिपलाइन, भि सेप ब्रिज, टायर ब्रिज, प्लेइङ ब्रिज र हाई रोपलगायत खेल पनि सञ्चालन गरेको छ । धुलिखेलको थाक्लेडाँडादेखि सुरु हुने जिपलाइन पाँचखालको खावामा पुगेर टुङ्गिन्छ । थाक्लेडाँडोखि खावासम्म सञ्चालन भएको जिपलाइनको दूरी करिब ११ सय मिटर छ ।

वि.सं. २०७५ फागुन महिनादेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको जिपलाइनमा युवा, वृद्धवृद्धा, बालबालिका सबैको आकर्षण बढ्दो छ । जिपलाइन गर्दा त्यहाँ हरियाली वातावरणमा चिसो हावासँगै लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचु लगायतका हिमालको दृश्य देख्न पाइन्छ ।

समुद्र सतहदेखि १३ सय मिटर उचाइबाट सुरु भएर भर्टिकल ड्रप २ सय ४० फिट हुँदै १२ सय मिटरको उचाईमा पुग्दा पर्यटकले साहसिक आनन्द लिन सक्छन् । अमेरिकी र क्यानेडाली प्रविधिको गुणस्तरीय उपकरण प्रयोग गरेर बनाइएको जिपलाइन खेलमा नेपाल सरकारको नियमानुसार दुर्घटना बीमा पनि गरिएको छ ।

कोरोना भाइरसको दोस्रो लहर सुस्त भएसँगै पुनः जनस्वास्थ्यका मापदण्ड अपनाएर खेल सुरु गरिएको छ । यसरी अन्तर्राष्ट्रिय प्रविधि, सुरक्षाका मापदण्ड प्रयोग गरेर बनाइएको धुलिखेल जिपलाइनले केही समयको यात्रामा नै नेपालको पर्यटनमा विशेष स्थान बनाएको छ ।

कोरोना भाइरसको महामारीले देशको अर्थतन्त्र कमजोर बनेका बेला यस्ता साहसिक पर्यटनहरुले वित्तिय सुधारका लागि धेरै सहयोग पुर्याउने स्पष्ट देखिन्छ । यसकारण पनि आन्तरिक पर्यटनलाई प्रवर्धन गर्नु हाम्रो कर्तव्य हो भने अर्कोतर्फ महामारीले कमजोर बनाएको हाम्रो मानसिक स्थितिलाई बलियो बनाउन पनि जिपलाइनजस्ता साहसिक खेलले ठूलो भूमिका खेल्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट