आगोको सामुन्ने दुई युवती-Sutra News

आगोको सामुन्ने दुई युवती

शुक्रबार, ९ साउन २०७७

शुक्रबार, ९ साउन २०७७

सपनामा आएपछि उ छुटेर कता गई गई । बिउँझिदा मेरो सिरानीमा निवस्त्र निदाइरहेको थियो एउटा पुस्तक । केही छिनपछि जब सपना कल्पनाको बिन्दुमा पुग्यो, मैले उसलाई देखें, उसलाई सोचें ।



सपनाभर ममबत्तीयुक्त टेबलमा मेरो वरिपरि युवतीहरु थिए । तर, उ हातमा कुचि लिएर क्यानभासमा दृश्य कोरिरहेकी थिई । पर्दा पछाडीको उसको आकृतिको छाँयाले पुरै कोठालाई मग्न तुल्याएको थियो ।

नियतिको अधिनमा थियो कि सपना? अदृश्य भावनाहरुले स्पष्ट रुप लिनु अगावै विपनाको उपनिवेशमा परेर टेबलबाट ममबत्ती खस्यो । र क्यानभासमा अनुहार बन्न बाँकी चित्र पूर्ण खरानीमा परिणत भयो ।

खरानी उठाउनु अघि म सपनाबाट विउँझिएँ । बिउँझिदा मेरो सिरानीमा निवष्त्र निदाईरहेको थियो एउटा पुस्तक ।

सपनाको प्रसंगलाई लिएर म डुल्न थालें । शहर एउटा सागर बनेको थियो । मनरुपी डुङ्गाको सयरबाट एउटा अज्ञात टापुमा पुगिसकेको थिएँ म केही बेरमा नै ।

portrait2.jpg

अदभूत दृश्य थियो त्यो । सपनामा मेरो सामुन्नेका युवतीहरु अब संख्यामा विभाजित थिए । सपनामा ध्यान उप्रति भएकै कारण कोठामा अरु कति जना युवती थिए मैले याद गर्न सकिनँ । उ विभाजित संख्या ‘तीन’ मै सम्मिलित थिई । तीनै तिन युवतीहरुको भिडबाट छुट्टिएर केही पर क्यानभासमा दृश्य कोरिरहेकी थिई उ । सामुन्ने एक युवती अर्की युवतीको पाउनेर घुँडा टेकी बसेर क्यानभासमा आफूलाई छाप्नमा तल्लिन थिई ।

अज्ञात टापुको अज्ञात घरभित्रको एउटा अज्ञात कोठा । सामुन्नेका युवतीहरु एकाएक बिलाउँछन् । मेरो खोजी अनौठो भयमिश्रित स्वभावहरुले भरिएको छ । ग्रसित भई सन्नाटाको शुन्यतामा उनीहरुको खोजीमा छु म ।

पछाडीपट्टिबाट कोही चिहाईरहेको छ मेरा पाइलाहरुलाई सायद । लाग्छ, कोही पछ्याईरहेको छ मेरो चालको गतीलाई ।

एउटै पाइलामा श–शरिर आँखाहरुले पछाडी फर्किन्छन् । सामुन्ने दुई युवती हात समाएर सेतो गाउनमा उभिएका छन् ।

‘मैले सपनामा तिमीहरुलाई देखेको थिएँ ।’

भयमिश्रित आवाजमा म बोल्छु ।

‘होईन तिमीले हाम्रो बारेमा सोचेका थियौं ।’

‘यो सबै के हो? म कसरी यहाँसम्म आईपुगें ।’

‘तिम्रो सोचले तिमीलाई यहाँसम्म डोर्होयायो ।’

‘कसरी ? मेरो सोचमा त शुन्यता थियो ।’

‘शुन्यता क्षणिक थियो ।’

‘अनि मेरो सोच?’

‘सोचाईहरु क्षणिक हुँदैनन् ।’

युवतीहरु अज्ञात घरको त्यो प्यासेजमा मेरो सामुन्नेबाट एकाएक बिलाए । उनीहरुको खोजी गर्नुपर्ने कोठाहरु थुप्रै थिए । अज्ञात टापुको अज्ञात यो घरमा कतै दाउरा जल्दाको चिट–चिट आवाज चुहिरहेको थियो । कतैबाट सुरम्य महिला आवाजमा गीत गाएको चुहिरहेको थियो ।

कोठाहरु खोल्दै र बन्द गर्दैको श्रृङ्खलाले लामो समय लियो । काठाहरु चहार्दै जाँदा एक कोठामा जलेको क्यानभासको फ्रेम भुईमा अलपत्र अनाथ परेको थियो । फ्रेम मात्रै त थियो त्यहाँ, क्यानभास जलिसकेको थियो ।

भुईको खरानीमा मैले क्यानभासमा बनेको चित्र खोजें । खरानीका एक एक अंशहरुलाई नियाल्दा त्यहाँ केही थियो, जुन नाङ्गो आँखाले ठम्याउन सकेनन् । खरानीको बिचबाट एउटा नेकलेसमा झुण्डिएको पकेट वाच निस्कियो । रंगिबिरंगी खरानीले छोपिएको त्यो वाचलाई हत्केलाले पुछेर हेरें ।

सपनामा देखिएकी एक युवती पकेट वाँचमा चित्राङ्किित भएकी थिई । खरानीहरु एकाएक उड्न थालें । पकेट वाचलाई पकेटमै हालेर म खरानीको पछि पछि भाग्दै गएँ, भाग्दै गएँ । खरानीहरु बन्द एउटा ढोकाको फेदबाट कोठाभित्र छिरे । बल गरेर ठेल्नु अघि नै ढोका खुलिदियो

ढोकैबाट देखिएको दृश्यमा दुई युवती निवस्त्र बेरिएर निदाईरहेका थिए विस्तरामा । बिरालो चालले उनीहरुको नजिक गएर निद्राबाट बिउँझाउँन झकझक्याउन खोज्दा एकाएक बिलाए दुवै युवती । निवस्त्र शरिरमा अघिसम्म कम्मरसम्म ओडिएको पातलो सेतो कपडा मात्रै थियो विस्तरामा ।

download.jpg

कपडा उठाएँ । त्यहाँ त्यहि पुस्तक थियो, जुन मैले आफ्नै कोठामा बिउँझिदाँ मेरो सिरानीमा निदाएको पाएको थिएँ । तर, यहाँ त्यो पुस्तक निवस्त्र थिएन् । पुस्तकमा निलो रंगको गाता हालिएको थियो ।

पुस्तक उठाएँ । बुकमार्कले लगाईएको चिन्हको पानामा औंलाहरुले पुर्‍याएँ ।

–पाना न. २८ ।

पानाको एकचौथाईमा एक युवती निदाईरहेकी थिई, जसलाई मैले सपनामा क्यानभासमा दृश्य उतारिरहेको देखेको थिएँ । केही अघि यहि विस्तरामा उ अर्की युवतीसँग निदाइरहेकी थिई । नग्न निदाइरहेकी युवती एकाएक किताबको पानाबाट उठी । पकेटबाट पकेट वाच एकाएक हावामा उडन थाल्यो ।

किताबबाट उठेकी युवती र पकेटबाट निस्किएको पकेट वाचबाट निस्किएकी युवती हावामा चंगा भए । म उनीहरुलाई पछ्याउँदै गएँ ।

सुरम्य टापु एकाएक पुरानै शहर भईसकेको थियो । युवतीहरु चंगा भएरै उडिरहेका थिए । भुई छाडी आकाश हेरि पछ्याउँदा पछ्याउँदै पुरानो शहरिया गल्लीको भित्री भागमा आइपुग्दा युवतीहरु एउटा धुमिल घरभित्र पसें । उनीहरुको पिछा पिछा गरिरहँदा फर्किएर आफ्नै बासस्थानमा आइपुगेको थिएँ म, जहाँबाट बिहानै आफ्नो सोचको गतिमा पाइलाहरु बगेर कता कता पुगेका थिए ।

सपनाबाट बिउँझिदाँ सिरानीमा भेटेको त्यो अज्ञात पुस्तक थिएन् । चंगा युवतीहरु कोठामा छिरेका थिए, तर, कोठामा पनि थिएनन् ।

बेपत्ता भईसकेका अज्ञात पुस्तक र अज्ञात युवतीहरुको सट्टामा कोठाको भित्तामा एउटा ठूलो क्यानभास थियो । जहाँ तीनै दुई युवतीहरु थिए ।

निवस्त्र दुई युवतीहरु आगोको सामुन्ने बेरिएर बसिरहेका थिए अंगालोमा । र छेवैको टेबलमा थियो, त्यो अज्ञात पुस्तक । आधा पट्याईएको थियो एउटा पाना ।

–पाना न. २८ ।

फ्रान्सेली सिनेमा ‘प्रोटेट अफ अ लेडी अन फायर’ हेरिसकेपछि..

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट