सम्मानको नाममा औचित्यहीन बिदा कहिलेसम्म ?-Sutra News

सम्मानको नाममा औचित्यहीन बिदा कहिलेसम्म ?

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी यति बेला एसियाली देशहरूको भ्रमण छ । यही क्रममा उनी पहिलो पटक मंगलबार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन् । 



कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको र त्यस क्रममा क्रमशः फिलिपिन्स, बंगलादेश हुँदै नेपालको भ्रमण गर्ने कार्य तालिका छ । कतारी अमिर नेपाल आइपुग्दै गर्दा नेपाल सरकारले उनको सम्मानमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मित्र देशहरूका राष्ट्र प्रमुख र सरकार प्रमुखको भ्रमणको बेला नेपाल सरकारले यस्ता सार्वजनिक बिदाहरू दिने गरेको पाइन्छ । सरकारले यसरी बिदा दिँदै गर्दा प्रश्न उठेको छ, खास यो र यस्ता बिदाको औचित्य के ?

किन बिदा दिइएको हो ? भन्ने प्रश्नमा सरकारले सधैँ गोलमोटोल उत्तर दिने गरेको छ । सरकारले बिदाको कारणमा सम्मान र सुरक्षा भन्ने गरेको छ । नेपाल विश्वमै सबैभन्दा बढी सार्वजनिक बिदा दिने देशमा पर्छ । नेपालले वर्षमा ३५ दिन बढी सार्वजनिक बिदा दिएर रेकर्ड नै राखेको छ । यो ३५ दिन त क्यालेण्डरमा प्रकाशित बिदा हो, प्रकाशित नभएको बिदा पनि कम हुँदैन । जसको कुनै लेखाजोखा नै छैन । कतारी अमिरको सम्मानमा बिदा दिँदैन छ तर, रोचक कुरा के छ भने कतारले आफ्नो देशमा वर्षभरिमा जम्मा ४ दिन सार्वजनिक बिदा दिने गरेको छ । 

नेपालले विदेशी राष्ट्र प्रमुख र सरकार प्रमुखको भ्रमणको बेला सम्मान र सुरक्षाको नाममा बिदा दिने परम्परा नै बसालेको छ । २०७५ वैशाख २८ गते भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र २०७८ मंसिर १३ गते भारतकै राष्ट्रपति रामनाथ गोविन्द नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो । यस्तै, २०७६ असोज २५ गते चिनियाँ राष्ट्रपति सी जिङपिङ आउँदा पनि सार्वजनिक बिदा दिएको थियो । बिदाको रोचक कुरा के थियो भने उक्त दिन शनिबार थियो र भ्रमणको अवधि १८ घण्टाको थियो भने बिदा २४ घण्टाको । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् ।

के यस्ता बिदाहरूबाट भ्रमणमा आएकाहरू साँच्चिकै खुशी र मोहित हुन्छन् त ? के बिदा नदिँदा उनीहरूको अपमान हुन्छ त ? परिश्रम र काममा विश्वास गर्ने देशको राजाको स्वागतमा सार्वजनिक बिदाको घोषणा गरेर, राजा रिझाउने, सम्मानको नाममा आम जनतालाई अनावश्यक मानसिक र आर्थिक पीडा दिने गरेको थाहा पाउँदा राजा पनि के सोच्लान् ? कस्तो सरकार भन्लान् ?

नेपालको कर्मचारीतन्त्र कुन गतिमा काम गर्छ ? आम नेपाली जनतालाई राम्रै थाहा भएको कुरा हो । कर्मचारीलाई समयमा तलब, भत्ता र धेरैभन्दा धेरै छुट्टी भए उनीहरूलाई स्वर्गीय आनन्द यहीँ प्राप्त हुन्छ । सबै कर्मचारी यसभित्र पर्दैनन् तर, अधिकांश यस्तै छन् । 

यी बिदाहरूको उपलब्धि खोज्दा शून्य हात लाग्छ । औचित्य पुष्टि हुन् नसकेको बिदा दिएर नयाँ दलका युवा मन्त्रीहरू, जो यस्ता कार्यको खुलेरै विरोध गर्थे, आज तिनै व्यक्ति भएको मन्त्रिमण्डलले यस्ता निर्णयमा हस्ताक्षर गर्दा कस्तो अनुभुति भयो होला ? यस्ता बिदाहरूले आम मानिसहरूको दैनिक जीवन कसरी प्रभावित गर्छ ? त्यो हिसाब गर्नु राज्यको दायित्व हो वा होइन ?

लगानी सम्मेलनको मुखमा भएको कतारी अमिरको भ्रमण आफैँमा महत्वपूर्ण छ तर, सरकारले सार्वजनिक बिदा दिएर अल्छि र कमजोरहरूको देश भनेर चिनाएको त छैन भन्ने प्रश्न पनि महत्वपूर्ण बनेको छ । कतारका अमिरको नेपाल भ्रमण सुखद् र फलदायी होस् । यो भ्रमणबाट नेपाल र कतारको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बनोस् । कतारलाई युवा शक्ति निर्यात गर्ने सम्झौता मात्रमा ध्यान केन्द्रित नभइ कतारको लगानी भित्र्याउने सन्दर्भमा पनि नेपाल अघि बढोस् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट