आवास अनुदानको किस्ता कार्तिक मसान्तसम्म लिइसक्न आग्रह-Sutra News

आवास अनुदानको किस्ता कार्तिक मसान्तसम्म लिइसक्न आग्रह

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ । बिहीबार बसेको समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो ।



अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ । लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्मण गर्न मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडा अध्यक्षले सिफारिस समेत गर्नु पर्नेछ ।

त्यसपछि, प्राधिकरणको जिल्ला इकाईले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार संझौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ । त्यसैगरी, बैठकले निर्माण भइसकेका निजी आवासहरु निर्धारित मापदण्ड बमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि निर्णय गरेको छ ।

यस्ता घरहरुका लागि लाभग्राहीले अनुदानको किस्ता लिई सकेपछि प्राविधिकको सुझावअनुसार स्थानीय तहबाट सुधार गरी निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि स्थानीय तहमा दाबी गर्ने कबुलियतनामा गर्नुपर्नेछ । अनुदान लिएर घरमा आवश्यक सुधार कार्य गरी सुरक्षित नबनाएमा प्राधिकरण र स्थानीय तहले तोकेको कार्वाही भोग्न लाभग्राही तयार हुनुपर्नेछ ।

त्यस्तै, कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेको भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिदको कार्य सम्पन्न गर्न पनि आग्रह गरेको छ । यस्ता लाभग्राहीले पनि कार्तिक मसान्तसम्म अनुदानका किस्ता लिनेगरी घर निर्माण गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट