प्रेमिकासँग हिंडेपछि मन्त्री पद चट भयो यिनको-Sutra News

प्रेमिकासँग हिंडेपछि मन्त्री पद चट भयो यिनको

बुधबार, ५ जेष्ठ २०७८

बुधबार, ५ जेष्ठ २०७८

नर्वेका मत्स्यपालन मन्त्री पेर स्यान्डबर्ग आफ्नी प्रेमिकासँग छुट्टी मनाउन इरान गएपछि विवाद उठेका कारण राजीनामा दिन बाध्य भएका छन् । 



अन्ठाउन्न वर्षीय मन्त्री स्यान्डबर्ग २८ वर्षीया पूर्व मिस इरान तथा प्रेमिका बहारीह लेटनेससँग जुलाईमा छुट्टी मनाउन इरान गएका थिए । त्यसक्रममा उनले सुरक्षा प्रोटोकल उल्लंघन गरेका थिए । 

खासमा नर्वेको जासूसी निकायले चीन र रुससँगै इरानलाई पनि जासूसी गराउने देशको सूचीमा राख्ने गरेको छ । त्यो देशमा गएर स्यान्डबर्गले प्रोटोकल तोडेको निकायको निष्कर्ष छ । 

स्यान्डबर्गले छुट्टीका बारेमा प्रधानमन्त्री कार्यालयलाई सूचना पनि दिएका थिएनन् । उनले आफ्नो सरकारी मोबाइल फोन साथै लगेका थिए । 

यस विषयमा सत्तापक्ष र विपक्ष दुवैले उनको आलोचना गरेका थिए । 

नर्वेमा प्रोग्रेस पार्टीले कन्जर्भेटिभ र लिबरलसँग मिलेर सरकार बनाएको छ । प्रोग्रेस पार्टीमा स्यान्डबर्ग दोस्रो नम्बरमा थिए । 

नर्वेकी प्रधानमन्त्री अर्ना सोल्बर्गले भनिन्, ‘स्यान्डबर्गलाई राजीनामा दिन लगाउनु सही निर्णय थियो । उनी एक जिम्मेवार पदमा थिए तर उनले सुरक्षाको विषयमा बुद्धिमानी देखाएनन् ।’

मन्त्रीकी प्रेमिकाले नर्वेको नागरिकता पाउनका लागि तीनचोटि निवेदन दिइसकेकी छन् । तीनैचोटि उनको निवेदन खारेज गरिएको छ । उनलाई देशनिकाला पनि गरिएको थियो । 

तर उनले इरानमा आफ्नो जबर्जस्ती बिहे गरिने सम्भावना रहेको बताएपछि नर्वेमा बस्ने अनुमति दिइएको थियो । 

लेटनेसले अनेकौं सुन्दरी प्रतियोगिता जस्तै मिस इरान २०१३, मिस ग्लोब इरान २०१४ र मिस ग्य्रान्ड इन्टरनेसनल इरानमा देशको प्रतिनिधित्व गरेकी थिइन् । 

उनी दुई कम्पनीकी मालिक हुन् जसमार्फत नर्वे र इरानबीच माछा तथा ग्यास आयात निर्यात हुन्छ । 

नर्वेको जासूसी संस्थाले लेटनेसका विषयमा अनुसन्धान शुरू गरेको छ । लेटनेसले चाहिँ इरान सरकारको कसैसँग पनि आफ्नो सम्बन्ध नरहेको बताउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट