विवाहको भिडभाडले बढायो कोरोना-Sutra News

विवाहको भिडभाडले बढायो कोरोना

आइतबार, २ जेष्ठ २०७८

आइतबार, २ जेष्ठ २०७८

बागलुङ- भिडभाडले कसरी कोरोना संक्रमणलाई समुदायस्तरमा फैलाउँछ भन्ने उदाहरण अहिले बागलुङ बनेको छ । हप्तादिन अघिम्म सयजना कोभिड-१९ का सक्रिय संक्रमित भएको बागलुङमा अहिले बढेर ७४७ पुगेको छ ।



बागलुङमा संक्रमित ह्वात्तै बढ्नुमा जनस्वास्थ्यको मापदण्ड पालन नगर्नु नै मुख्य कारण देखिएको छ । विवाह, अन्य धार्मिक गतिविधि र समाजिक संस्कार र भिडभाडसहित भोजभतेर गरिएकाले बागलुङमा संक्रमण फैलिएको हो ।

वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका-४ मा भएको विवाह भोजले त्यहाँ कोरोना फैलियो । भोज आयोजना गर्ने परिवारका एक सदस्यको कोरोनाबाट मृत्यु भएपछि विवाहमा सहभागीको पिसिआर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भयो ।

कोरोनाले बडिगाडका एकै परिवारका चार जनाको मृत्युसमेत भइसक्यो । भिडभाडसहित विवाह भोज गरिएका कारण नै यस्तो घटना भएको स्थानीयवासीस बताउँछन् ।

बडिगाडमा देखिएका अधिकांश संक्रमित भिडभाडमा गएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताए ।

विवाहमा धेरै जन्ती लगेपछि बागलुङ नगरपालिका-८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो । सात जनामात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो ।

त्यसपछि सिगानामा कोरोना भाइरसको लक्षण देखिएकाको परीक्षण गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा कोरोना पुष्टि भएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए ।

‘जिल्लामा सङ्क्रमणको दर तीव्ररूपमा फैलनुमा विवाह, भोजभतेर तथा पूजाआजा हो’, जिसीले भने, ‘सरकारले मात्रै गरेर हुँदैन, नागरिक सचेत नभएसम्म समस्या हुन्छ, राज्यको नियम उलंघन हुँदा समस्या बढ्छ ।’

कोरोना बढ्नुको मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै सचेत र गम्भीर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउँछन् ।

संक्रमण बढ्दै गएपछि जेठ १ गतेदेखि विवाह घरमै सीमित राख्न स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ । अटेरी गरेमा तुरुन्तै कारबाही गरिने कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट