कोरोना बोकेर फर्किए पूर्वराजा ज्ञानेन्द्र, त्यसैले भएको थिएन उच्चस्तरीय भेट-Sutra News

कोरोना बोकेर फर्किए पूर्वराजा ज्ञानेन्द्र, त्यसैले भएको थिएन उच्चस्तरीय भेट

मंगलबार, ७ बैशाख २०७८

मंगलबार, ७ बैशाख २०७८

काठमाडौं– भारतको हरिद्वारमा गंगा स्नान गरेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहमा भारतीय भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको छ। झन्डै दुई साता लामो भारत बसाईका क्रममा उनलाई कोरोना संक्रमण भएको थियो।



उनी आइतबार मात्र नेपाल फर्किएका थिए। विमानस्थलमा उनलाई फूलमालासहित भव्य स्वागत गरिएको थियो। भारतमा कोरोना संक्रमणको दरले तिव्रता लिएपछि उनको त्यहाँ उच्चस्तरीय भेटवार्ता समेत भएको थिएन।
महाकुम्भ मेलामा पुगेका उनी विभिन्न विषयमाथि मन्थन गर्नका लागि नयाँ दिल्ली पुगेका थिए। २६ चैतमा त्यहाँ पुगेका उनले कुम्भमेलामा शाही स्नान गर्नुका साथै विभिन्न मठ मन्दिरको भ्रमण त गरे तर प्रमुख भनिएको उच्चस्तरीय वार्ताका लागि कोरोना संक्रमण बाधक बनेको थियो। त्यसबेला उनमा कोरोना नदेखिए पनि भारतीय उच्च तहका व्यक्तिमा रहेको थियो।

हरिद्वारमा उनलाई नेपालको राजाको हैसियतमा नै सम्मान गरिएको थियो। जहाँ श्री ५ नेपाल नरेश भनी सम्बोधन भयो। उत्तराखण्ड सरकारले उनलाई शाही सम्मान दिएको थियो। भारतीय जनता पार्टीको सरकार रहेको उत्तराखण्डमा तिर्थसिंह रावत मुख्यमन्त्री छन्। कुम्भमेलामा ज्ञानेन्द्रलाई राजाका हिसाबमा नै सम्मान दिइनु कुटनीतिक राजनीतिक रुपमा अर्थपूर्ण बन्यो। भाजपामा प्रभाव राख्ने केन्द्रीय मन्त्री साध्वी निरञ्जन ज्योतिले हरिद्वारमा नै ज्ञानेन्द्रसँग वार्ता गरेकी थिइन् भने बाबा रामदेवलगायतले उनको सम्मान गरे।

ज्ञानेन्द्र नयाँ दिल्ली फर्किएपछि उच्चस्तरीय भेटवार्ताका लागि समय मिलाइएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, प्रधानमन्त्री कार्यालयका सल्लाहकारले ज्ञानेन्द्रसँग भेट गर्ने कार्यक्रम तय भए पनि भारतमा फैलिएको कोरोनाको दोस्रो लहरका कारण पूरा हुन सकेन।

तर मोदीनिकट धार्मिक नेताहरूले भने नेपालमा हिन्दूत्व र राजसंस्थाको विषयमा बहस चलाउने आश्वासन दिएका छन्। खासगरी भारत सरकारमा प्रभाव राख्ने तथा मोदीलाई समेत प्रभावित बनाउने राष्ट्रिय स्वयम सेवकका प्रमुख मोहन भागवतमार्फत ज्ञानेन्द्रका कुटनीति वार्ताको तयारी भएको थियो। तर भागवत नै कोरोना संक्रमित भएपछि कार्यक्रम प्रभावित भएको बताइन्छ।

उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने भेट गरेका थिए। आदित्यनाथ पनि पछिल्लो पटक कोरोना संक्रमणको शिकार बनेका छन्। कुम्भमेलामा सहभागी धेरैमा कोरोना देखिएपछि ज्ञानेन्द्रले नयाँ दिल्लीमा नै परिक्षण गराएका थिए जसको पुष्टि भएको छ। 

पूर्वराजामा कोरोना पुष्टि भएपछि अब उनको कन्ट्याक्ट ट्रेसिङमा स्वास्थ्य मन्त्रालय जुटेको छ। तर उनको स्वागत सम्मानका लागि हजारौं समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका कारण सरकारलाई सहज भने नरहेको बताइन्छ।

भारत जानुअघि उनले कोरोना भ्याक्सिन लगाएका थिए। तैपनि उनको संक्रमण पुष्टि हुनु भनेको भारतीय भेरियन्टको कोरोना रहेको विज्ञहरुको अनुमान रहेको छ। एक विज्ञ भन्छन्,‘पूर्वराजामा नै देखिएपछि समुदायस्तरमा पनि यो तिव्र हुनसक्ने अनुमान गरिएको छ। त्यस्तो भिडभाडको मेलामा नगएको भए हुने थियो।’

निर्मलनिवासभित्र सेल्फ आइशोलेशनमा बसेर पूर्वराजा दम्पतीको उपचार हुनेछ। उनीहरूका कडा प्रभाव पर्ने खालको लक्षणचाहिँ अहिलेसम्म देखिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट