शैक्षिक संस्था तीन साता बन्द गर्न सीसीएमसीको प्रस्ताव-Sutra News

शैक्षिक संस्था तीन साता बन्द गर्न सीसीएमसीको प्रस्ताव

शनिबार, २८ चैत्र २०७७

शनिबार, २८ चैत्र २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणको ‘दोस्रो लहर’ बढेसँगै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शैक्षिक संस्थाहरु तीन साताका लागि बन्द गर्न प्रस्ताव गरेको छ ।



उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा आज (शनिबार) बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको हो ।

यसैबीच सीसीएमसीले कोरोना भाइरसको नयाँ प्रजातिको जोखिम कम गर्न विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ । ।

सीसीएमसीको बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागु हुने बताइएको छ ।

विद्यार्थी र शिक्षकहरु कारोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा रहेकाले सीसीएमसीले शैक्षिक संस्था बन्द गराउनका लागि प्रस्ताव गरेको हो ।

काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (बेलायतको नयाँ भेरियन्ट)को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न डिसिसिएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र) हरुले व्यवस्था गर्ने भएका छन् ।

सपिङ मल, रेस्टुरेन्ट, नाचघर, हिल्म हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालीन व्यावसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरी एउटा स्थानीय तहबाट अर्कोमा जरुरी काम नपरेसम्म आवागमन नगर्ने निर्णय समेत सीसीएमले गरेको छ ।

बैठकमा उपस्थित विज्ञले नाइट क्लब, सिनेमा घर, शैक्षिक संस्था, तरकारी बजार, सार्वजनिक बसपार्कजस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न सुझाव दिएका छन् ।

तर सरकारले अहिले नै पूर्ण रुपमा बन्द गर्ने वा नगर्ने निर्णय गरेको छैन । बैठकले सहरी र बजार क्षेत्रका शैक्षिक संस्था भने कम्तिमा तीन साता बन्द गर्ने प्रस्ताव अघि बढाइएको छ ।

भारतका विभिन्न सहरमा कोरोना भाइरस संक्रणको दोस्रो लहर देखिएसँगै नेपाल भित्रिनेलाई सीमानाकामा स्थानीय प्रशासनले कडाइ गरेका छन् ।

भारतमा संक्रमणको त्रास बढेपछि विभिन्न कामले त्यहाँ पुगेका नेपाली स्वदेश फर्कने क्रम बढेको सीमानाकाका स्थानीय तहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट