१३ दिनभित्र संसद अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश-Sutra News

१३ दिनभित्र संसद अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासले २ महिना लामो बहसपछि संसद विघटन गर्ने निर्णय बदर गरेको हो ।



मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ ।

‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ,’ फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय स्वीकृत गरेकी थिइन् ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट