पहिरोले क्षति पुर्याएको विद्यालय नबनेपछि विद्यार्थी सामुदायिक भवनमा-Sutra News

पहिरोले क्षति पुर्याएको विद्यालय नबनेपछि विद्यार्थी सामुदायिक भवनमा

शनिबार, २२ कार्तिक २०७७

शनिबार, २२ कार्तिक २०७७

बागलुङ- पहिरोले क्षति पुर्याएको विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा यहाँको एक विद्यालयका बालबालिका सामुदायिक भवन र खुला चौरमा पढ्न बाध्य भएका छन् ।



बागलुङको जैमिनी नगरपालिका–१० राङखानी किटेनीमा रहेको जनता प्राथमिक विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरुलाई खुला चौर र सामुदायिक भवनमै वैकल्पिक सिकाइमा सहभागी गराइएको हो । फलस्वरुप विद्यार्थीको सिकाइ प्रभावित भएको छ ।

किटेनी, कालाखोला, धुल्लुबास्कोट सडकको नयाँमार्ग खुलाउँदा बनाइएका घुम्तीहरुका कारण विद्यालय भवन भाँसिएपछि जनता प्राथमिक विद्यालय विस्थापित बनेको हो । स्थानीय शिक्षासेवीहरुले २०४३ सालमा यो विद्यालयको जग बसालेका थिए ।

स–साना बालबालिकालाई टाढा रहेका विद्यालयमा पुग्न असहज भएको भन्दै ३४ वर्षअघि बसालिएको जग यसवर्षको वर्षामा भाँसिएको विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य ८० वर्षीय खडकबहादुर श्रीसले जानकारी दिए । ‘गाडी चढ्ने सपनाले शिक्षाको ज्योती दिने भवन भाँसियो’, उनले भने, ‘सडक खन्दा फेरो नहालेको भए जमिन राम्रै थियो ।’

सडक निर्माणका क्रममा भवनको माथि भएर एक घुम्ती र भवन मुनिको भागमा दुई घुम्ती बनाइएको छ । ‘गत असार १२ गते रातिको पानीले घुम्ती बनाउँदा थर्केको जमिन भाँसियो, भवन कामै नलाग्ने भएका छन्’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले भने, ‘यहाँबाट विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ । कहाँ लैजानु, कसैले चासो दिएनन् ।’

विद्यालय भवन रहेको जमिन चर्किने र धाँजा फाट्ने भई दुई वटै भवन बस्न नमिल्ने गरी भत्किएका छन् । ट्रसले निर्माण गरिएको दुईकोठे भवन भाँसिएको छ । ढुंगाले छाएको अर्को दुईकोठे भवनसमेत पूर्ण रुपमा भत्किएको विद्यालयले जनाएको छ । भवन पूर्ण रुपमा नढले पनि कक्षाकोठा भित्रको भुइँ, छानो र पर्खाल पूर्णरुपमा क्षतिग्रस्त भएको प्रधानाध्यापक कृष्णा कुमारी श्रीस थापाले बताइन् ।

भवन अभावका कारण विद्यालयले महिला समूहले बनाएको सामुदायिक भवनमा राखेर विद्यार्थीलाई वैकल्पिक सिकाईमा सहभागि गराएको उनको भनाइ छ । यो विद्यालयमा ३० विद्यार्थी अध्ययनरत छन् । दुई सरकारी दरबन्दी, एक राहत कोटा, एक कर्मचारी र दुई स्थानीय स्रोतका शिक्षकबाट पठनपाठन हुँदै आएको छ ।

विद्यालय व्यवस्थापन समितिले वडादेखि नगर र प्रदेशसम्म विद्यालय भवन भाँसिएको सन्देश पठाएको छ । नगरपालिकाको प्राविधिक टोलीले अध्ययन गरेको भएपनि अहिलेसम्म कुनै सुझावसमेत नपाएको उनको गुनासो छ ।

जैमिनी नगरपालिकाको प्राविधिक टोलीले पनि बाटोका कारण विद्यालयमा क्षति पुगेको नगरप्रमुखलाई जानकारी गराएको छ । ‘सडकका कारण विद्यालयमा क्षति पगेको छ । क्षतिग्रस्त विद्यालय भवन बनाउने तत्काल कुनै योजना छैन’, नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘सरोकारवाला निकायमा यस सम्बन्धी आवश्यक कागजात पेश भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट