कोरोना जितेका गलबहादुर भन्छन्- आइसियुमा पुगेपछि बल्ल थाहा भयो कोरोना के हो भन्ने-Sutra News

कोरोना जितेका गलबहादुर भन्छन्- आइसियुमा पुगेपछि बल्ल थाहा भयो कोरोना के हो भन्ने

शुक्रबार, १४ कार्तिक २०७७

शुक्रबार, १४ कार्तिक २०७७

दमौली– जिल्ला समन्वय समिति तनहुँका सदस्य गलबहादुर गुरुङलाई १५ दिन अगाडि ज्वरो आयो । सामान्य ज्वरो होला भनेर उनले औषधि सेवन गर्दै आवासगृहमै आराम गरे । ज्वरो दिनप्रतिदिन बढ्दै गयो ।



ज्वरोका कारण उनलाई पानीभन्दा केही पनि रुचेन । ज्वरो झन् बढ्दै १०३ सम्म पुग्यो । जिससका प्रवक्ता गुरुङ ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगे । बेलाबेलामा होश नै हराएको जस्तो हुने र श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो ।

बीचमा उनले पोखरा जाने सोच पनि बनाए तर ज्वरो भनेपछि हतपत सवारी साधन नै पाउन गाह्रो भयो । केही दिनपछि एम्बुलेन्समा उनलाई पोखरा लगियो, उपचारका क्रममा उनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भयो । उपचारपछि कोरोनालाई जितेका गुरुङले आफ्ना अनुभव यसरी सुनाए: 

000

जनप्रतिनिधि भएको नाताले विभिन्न भेला र ठाउँमा गइयो । कतिबेला कसरी अदृश्य भाइरसले सङ्क्रमित भइयो, थाहा नै पाइएन । कोभिड हो भन्ने शङ्का नै थिएन त्यसैले मौसमी ज्वरो होला निको भइहाल्छ भनेर एक्लै क्वार्टरमा आइसोलेट भएर बसेँ । दमौलीकै हस्पिटलहरुमा परीक्षण गर्दै औषधि सेवन गरेर बसेँ तर ज्वरो झन् बढ्दै गयो ।

ज्वरो बढ्दै १०३ सम्म पुग्यो । पछि ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगेँ । बेलाबेलामा होश नै हराएको जस्तो हुने, श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो ।

बीचमा पोखरा जाने सोच पनि नबनाएको होइन, तर ज्वरो भनेपछि गाडी पनि पाइएन र केही दिनपछि कार्यालयबाट परीक्षण गर्न जाने भनेर जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, समन्वय अधिकारी र सदस्य साथीहरूले जिसस सदस्य दिव्य्श्वरी बहिनी र कार्यालय सहयोगी दिल राना दाइलाई एम्बुलेन्स लिएर क्वार्टरमा पठाउनु भएको रहेछ र दमौलीको हस्पिटलमा एक्सरे, ब्लड चेक गरेपछि फोक्सोमा समस्या आइसकेकाले तुरुन्तै पोखरा जानू भन्ने सुझाव आयो ।

पछि एम्बुलेन्स लिएर पोखरा गण्डकी हस्पिटल पुगेँ तर गण्डकीमा उच्च ज्वरो भनेपछि भर्ना लिन मानेन । पिसीआरका लागि भोलि आउनू, अहिले घर जानू भनेपछि झन् पीडा थपियो । एकातिर श्वास फेर्न एकदमै गाह्रो भइरहेको थियो, अर्कातिर उच्च ज्वरोले सपना जस्तै भइरहेको थियो । केही सोच्न पनि सकिरहेको थिइन ।

अब भर्ना नलिने भएपछि गाडी खोजेँ, त्यहाँ पनि त्यही समस्या, ज्वरोको बिरामी भनेपछि गाडी नै नमान्ने । केही विकल्प नदेखेपछि हस्पिटलको प्राङ्गणमा नै थचक्क बसेँ । केही समयपछि पूर्वमन्त्री शङ्कर भण्डारी दाइले गण्डकीको इञ्चार्ज अर्जुन आचार्य सरलाई कुरा गर्र्नुभएछ र बल्लबल्ल इमर्जेन्सीको एउटा कुनामा बस्ने व्यवस्था मिलाइयो ।

केही समयपछि त्यहाँबाट पनि प्रिआइसोलेशनमा लगियो र अक्सिजन दिइयो । बल्ल केही राहत महसस भयो र ज्वरोको औषधि चलाउन शुरु गरेपछि ज्वरो पनि कम भयो र पीडा पनि तर श्वास फेर्न चाहिँ गाह्रो भइरहेको थियो ।

भोलिपल्ट पिसिआर परीक्षण भयो र पर्सिपल्ट रिपोर्ट आयो पोजिटिभ । श्वास फेर्न एकदम गाह्रो भइरहेका बेला स्वास्थ्यकर्मीले रिजल्ट पोजिटिभ आएको खबर सुनाउँदा झन् पीडा भयो । तैपनि आफूलाई सम्हालेँ ।

पोजिटिभ त आयो फेरि आइसोलेशनमा बेड छैन भनेर तनाव दिइयो । एक दिन प्रिआइसोलेशनमै बसेपछि बल्लबल्ल भोलिपल्ट आइसोलेशनमा आइसियुमा लगेर राखियो ।

आइसियुमा पुगेपछि बल्ल थाहा भयो कोरोना के हो भन्ने । श्वास फेर्न गाह्रो भएर आफ्नै अगाडि मान्छेहरु भटाभट मरिरहेको प्रत्यक्ष देखेँ, आफ्नै आँखा अगाडि मान्छे मर्दै प्लाष्टिकमा बेर्दै लाँदै गर्दा कति आत्तिएँ, त्यो पल सम्झँदा पनि जीउमा काँडा उम्रेर आउँछ ।

मरिसकेपछि पनि आफन्तले लान नपाउने, सैनिक आएर लैजाने नियम रहेछ । सैनिक आउन ढिलो भएका दिनहरुमा कति दिन त छेउको बेडको लाशहरुसँगै रात बिताउनुप¥यो । मान्छे नमरेको दिन हुँदैनथ्यो । आफ्नै बेडको छेउमा मान्छे मर्दा कति रात आँखा चिम्म नगरी छर्लङ्गै पारियो ।

धेरैले कोरोना साधारण फ्लू हो केही होइन भन्छन् तर त्यसो भन्नेले कोरोनाको आइसियुमा मात्रै तीनचार मिनेट गएर हेरेमा कोरोना के हो प्रष्ट हुन्छ । केही दिन आइसियुमा बसेर अलि रिकभर भएपछि नर्मल बेडमा सारियो ।

बल्ल केही राहत भयो, त्यसपछि भने बाँच्छु भन्ने आश पलायो । दशैँभरि आइसोलेशनमा नै बसियो, आइसोलेशनमा रहँदा धेरै स्वास्थ्यकर्मीहरु हामीसँगै आइसोलेशनमा नै थिए । धेरै स्वास्थ्यकर्मीहरु आफ्नो परिवार छाडेर सङ्क्रमितको उपचारमा खटिएका छन्, त्यसैले सबै स्वास्थ्यकर्मीलाई सम्मान गरेर उनीहरुको मनोबल बढाउनुपर्छ ।

समाजमा अब झन् सङ्क्रमितहरु बढ्दै गइरहेका छन् । त्यसैले सङ्क्रमितहरुलाई घृणा नगरी आइसोलेशनमा बस्न सहज वातावरण मिलाउनुपर्छ । अनि मात्र कोभिडको यो लडाइँमा सफलता पाउन सकिन्छ ।

अबका दिनहरु झन् भयावह हुने निश्चित छ । त्यसैले थोरै बेडको भए पनि हरेक पालिकाले आइसोलेशन बनायो भने केही सहज होला, होइन भने अब सरकारी हस्पिटलहरुमा बेड पाउन ठूलै युद्ध जित्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट