महिला हिंसाको आरोप लगाउने साथीलाई खुला पत्र-Sutra News

महिला हिंसाको आरोप लगाउने साथीलाई खुला पत्र

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

प्रिय साथी !



लामो समय भयो, तिमीसँग प्रत्यक्ष भेटघाट हुन नसके पनि तिम्रो बारेमा अनभिज्ञ भने थिइनँ । तिमीसँग सम्बन्धित घटना–परिघटनाहरु, तिमी हिँडेका र हिँड्दै गरेका बाटाहरु, तिमीले खाएका ठक्करहरु, तिम्रा क्रियाकलापले तिम्रो परिवार, आफन्त र समग्र समाजमा पार्न सक्ने प्रभावका बारेमा म लामो समयदेखि जानकार नै छु ।

तिम्रो व्यक्तिगत जीवन स्वतन्त्र रुपमा जिउन पाउनु तिम्रो नैसर्गिक अधिकार हो । तर पनि तिमी र म बीचको भावनात्मक सम्बन्ध भएकै नाताले चिन्नेहरुले तिम्रो प्रसंग जोडेर मलाई नानाथरी कुरा सुनाउने गर्दछन्, जसको जवाफ मसँग हुँदैन वा दिन सक्दिनँ पनि ।

प्रिय साथी, तिमीले हिजो केके गर्यौ, खाटा बसिसकेका ती घाउ कोट्याएर तिमीलाई अझ बढी दुःखी म बनाउन चाहन्नँ । तर, आज तिमी जे गर्दैछ्यौ, यो बाटो चाहिँ तिमीले मोड्नुपर्छ । पछिल्लो समयका तिम्रा क्रियाकलापले हरेक सञ्चार माध्यममा मनग्य ठाउँ पाए । यसरी समाचारका पृष्ठहरुमा तिमी र पुरुषबीचको सम्बन्ध यति छरपस्ट रुपमा बाहिर आयो,  जसले गर्दा पुरुषले भोग्ने नियति क्षणिक रुपमा कठिन देखिएला ।

तर त्योभन्दा कठिन तिम्रो नियति हुनेछ भोलिसम्म । तिमी र त्यो पुरुषबीचको सम्बन्धका बारेमा म धेरै पहिलेदेखि नै जानकार थिएँ । यति लामो समयसम्म तिमीहरुबीचको सम्बन्धको सीमा रहेन । तिम्रो छोरा–छोरीको अनुहार हेर त, त्यहाँ कसको स्वरुप देख्छ्यौ ? मलाई लाग्छ, उनीहरुको अनुहारमा तिम्रा श्रीमान्को भन्दा त्यो परपुरुषको स्वरुप नै बढी झल्किन्छ । तर, यति लामो समयसम्म त्यो पुरुषसँग होली खेल्ने, अनि अहिले आएर आफ्नो स्वार्थ पुरा नहुँदा रङ्ग छ्यापेको आरोपमा महिला हिंसाको उजुरी गर्ने ? तिम्रो भित्री मनले भन त, के हिंसा महिलाका लागि मात्र हुन्छ, पुरुषमा हुँदैन ? हिंसा दुबै पक्षलाई हुन्छ र त्यसको असर पनि दुबैमा उत्तिकै परेको हुन्छ ।

साथी, बाँकी कुरा पछि गरौँला । त्योभन्दा अगाडि त्यो परपुरुषसँगको तिम्रो सम्बन्धका कारण अहिलेसम्म कुनकुन पक्ष बढी प्रभावित भए, हेरौँ ।

परपुरुषको परिवार

साधारण ढंगबाट उसले आफ्नो पारिवारिक जीवन अगाडि बढाइरहेको थियो । दुःख के हो ? उसले राम्रोसँग बुझेको छ । उसको त्यो भावनाको फाइदा कसरी र कुन बेला लिन सकिन्छ भनेर तिमी पछि लागिरह्यौ । जबजब तिमी पुरुषसँग नजिक हुन थाल्यौ, उसको परिवारमा अशान्ति मच्चिन थाल्यो । न त छोराछोरीले बाबुको पूर्ण संरक्षकत्व पाउन सके, न श्रीमतीले आडभरोशा । कुनै पनि स्वास्नी मानिसले आफ्नो श्रीमान्ले अधिकांश समय अरु कसैसँग बिताएको थाहा पाउँदा उसको मनमुटु कस्तो हुन्छ होला ? केही भनूँ, आफ्नो लोग्ने । नभनूँ व्यवहार ठीक लाग्दैन । भित्रभित्रै गुम्सिँदागुम्सिँदै डिप्रेसनको सिकार बन्न बाध्य हुन्छे र अन्त्यमा मृत्युवरण गर्ने अवस्थासम्म आउन सक्छ । उता, छोराछोरीका बाबु जुन ढंगबाट अगाडि लाग्नुपर्ने हो, त्यो हुन नसक्दा अन्योल व्याप्त हुन्छ । हरक्षण तनावपूर्ण हुनाले परिवारमा हाँसोखुसी घट्दै जान्छ । कुनै दीर्घ रोगीको घरजस्तो हुँदै जान्छ त्यो घर ।

त्यो परपुरुष

त्यो पुरुष सामान्य परिवारको सदस्य भएको नाताले उसलाई दुःख, अभाव र समस्याहरुका बारेमा थाहा नहुने कुरै भएन । आफ्नो काममा दत्तचित्त भएर लागिरहने उसको बानीले पद र प्रतिष्ठा सबै हात लाग्दै पनि गयो । यही पद र प्रतिष्ठालाई उसले सही ढंगबाट जोगाउन असमर्थ भयो । जब मानिस पद र प्रतिष्ठा हासिल गर्दछ, ऊभित्र खै के जन्मिन थाल्छ, उसमा जे गरे पनि हुन्छ भन्ने भाव जाग्छ । उसले त्यो समयको फाइदा उठाउन खोज्छ । फाइदा उठाउने क्रममा कोही फाइदा लिएर उम्कन सक्छन् त कोहीलाई समयले बाँधिदिन्छ । जब उसले तिमी र तिमी जस्तै अरु महिलासँग समय बिताउन थाल्यो, आप्mना छोराछोरी र श्रीमतीबाट टाढिन थाल्यो । आफ्नो पद र घरपरिवार, अनि तिमी लगायतका महिला मित्रबीच सन्तुलन गर्नमै उसको समय व्यतीत हुन थाल्यो । घरपरिवार लथालिंग हुँदै गयो ।

तिम्रा श्रीमान्

श्रीमान्–श्रीमती एक रथका दुई पाङ्ग्रा हुने सत्यलाई तिमीले बुझ्न सकिनौ । पछिल्लो समयका तिम्रा क्रियाकलापहरुका कारण तिम्रो बाहिरी आवरण उदाङ्गिएको छ । यति लामो समय तिम्रा श्रीमान्को जीवन कसरी व्यतीत भयो होला ? सोचनीय विषय छ । श्रीमतीको व्यवहार, चालचलनका कारण वाक्क भएर आधा उमेर बितेपछि एक्लो जीवन जिउनुपर्यो भने श्रीमान्लाई कति गाह्रो होला ?

तिमी स्वयं

तिमी आफ्नो परिधिमा रहन सकेकी भए आज तिम्रो जीवन स्वर्ग हुने थियो । तिमीले श्रीमान्लाई आवरणमा थपना गरी भित्रभित्र परपुरुषसँग समय बिताइरह्यौ । खै, तिम्रो मनले के भन्यो पछि ? र, तिम्रो मनले हिजोसम्म ठीक मानेको विषयलाई आज एकाएक गलत साबित गर्न खोज्यो । तिमी त्यो परपुरुषलाई थान्को लगाएर पानीमाथिको ओभानो बन्न खोज्दैछ्यौ । सोच त, अब तिमीलाई समाजले कसरी हेर्ला ? साँच्चै भन त, तिम्रा छोराछोरीले तिमीलाई कसरी बुझ्लान् ? तिमीले अबको समय पश्चात्तापको भुमरीमा रुमलिएर एक्लै बिताउनुपर्ने हुन सक्छ ।

साथीभाइ, आफन्त समाज

समाजमा घटिरहने यस्ता राम्रा–नराम्रा घटना–परिघटनाबाट मानिसहरुले पाठ सिक्ने हो । हाम्रो समाजमा ठूलठूला परिवर्तनहरु भए । आज लामो समयको राजनीतिक क्रान्तिको परिणामस्वरुप देशमा लोकतान्त्रिक, गणतन्त्रात्मक संघीय शासन व्यवस्था लागू भएको छ । सम्बृद्ध नेपालको परिकल्पनास्वरुप सबै वर्ग र समुदायको समान रुपमा विकास गर्ने लक्ष्यका साथ समावेशिताको सिद्धान्त अवलम्बन गरिएको छ । समाजमा पछाडि परेका र पारिएका वर्ग र समुदायको सुरक्षाका लागि भनेर महिला अधिकारका लागि यति धेरै कानुन बनेका छन्, जसका कारण महिलाहरू शक्तिशाली भएका छन् । कताकति त्यसको दुरुपयोग हुन थालेको छ । यतिसम्म कि, महिलाको स्वार्थ मिलुन्जेल सम्बन्ध जायज हुने र स्वार्थ बाझिनेबित्तिकै ‘नाजायज’ वा ‘हिंसात्मक’ हुन थाल्यो । अर्कातिर, महिला–पुरुष सम्बन्धमा साँच्चै अनैतिकता नहुने होइनन्, तर बाहिर ल्याउने आँट-साहस नहुँदा तैं चुप मै चुपको अवस्थामा छन् धेरैजसो पीडित ।

साथी ! जे हुनु भैसक्यो । अब ठन्डा दिमागले सोच, के आजसम्मको तिम्रो व्यवहारको परिणति ठीक भयो त ? तिमी पछि जन्मेका तिम्रा बहिनीहरुले पनि यही पाठबाट शिक्षित हुन खोजे भने अरु धेरै परिवार पनि यही परिस्थितिको सिकार हुन बाध्य हुनेछन् । अबको समय तिमीले आफूले गरेको गल्तीलाई स्वीकार गरी आप्mना बहिनीहरुलाई यो गलत बाटोमा लाग्न दिनु हुँदैन । यदि बाटो देखाउनेहरुले बाटो बिराउने हो भने पछि लाग्नेहरु पनि गलत बाटोमा हिँड्नेछन् ।

अन्त्यमा, मैले तिम्रो व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न खोजेकी होइन । केवल तिम्रो भलो चाहने साथीको नाताले सम्झाउन खोजेकी हुँ । नारी घरपरिवार सम्हाल्ने वर्ग हो, व्यवस्थापन गर्ने वर्ग हो, घरपरिवार र समाज निर्माणको आधार हो । घरको जग नै बलियो बनाउन नसके हामी कसरी सुरक्षित भएर सम्बृद्ध समाज निर्माणको अभियानमा लाग्न सकौँला ?

त्यसैले, लिङ्गका आधारमा अरुलाई दोष दिएर बदनाम गराउने प्रवृत्तिले कसैलाई पनि फाइदा पुग्न सक्दैन । नारी र पुरुष समाजका दुई पाटा हुन्, यिनीहरुको समान विकासबिना पूर्ण समाजको निर्माण हुनै सक्दैन । यी दुई वर्ग सँगसँगै अगाडि बढ्न सके मात्र समाज समृद्ध बन्न सक्छ ।

साथी, नारी अस्मिता अमूल्य छ । यसलाई संरक्षण र सम्बर्द्धन गर्नु तिमी–हामी सबैको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट