सुशान्तको मृत्युमा देखिएको भारतीय समाज र मिडियाको खतरनाक अनुहार-Sutra News

सुशान्तको मृत्युमा देखिएको भारतीय समाज र मिडियाको खतरनाक अनुहार

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

एउटा समय थियो जब टेलिभिजन न्यूज मिडिया दोषीलाई सजाय दिलाउन सत्यको लडाईँमा वकालत गर्थे। सन् १९९९ को जेसिका लालको हत्याको घट्नामा तहल्का र एनडिटिभीले जेसिकाकी बहिनी सबरीना लाललाई अन्तिमसम्म साथ दिएका थिए। फलस्वरुप मनु शर्माले सजाय पाए। सन् २००६ मा जब उच्च अदालतले मनु शर्मालाई जन्मकैदको सजाय सुनाएको थियो, तब मनु शर्माका बुबा विनोद शर्मा सत्ताधारी पार्टी कांग्रेसका शक्तीशाली नेता थिए।



यो लडाइँलाई अहिले पनि सत्ताको विरुद्धमा सत्यलाई उभ्याएको उदाहरणको रुपमा लिइन्छ। कुनै मिडिया संस्थानले यदि पत्रकारिताको सही पढाई गराउँछ भने यो पूरै लडाईँलाई मिडियाको तागतको ‘सही उपयोग’को रुपमा समावेश गर्न सक्छ।

यो त्यो बेला थियो जब ‘मिडिया ट्रायल’ र ‘मिडिया एक्टिभिज्म’ सधैं दोषीलाई सजाय दिलाउने काम गर्थे। र यिनीहरुको आधार ‘ठोस पत्रकारिता थियो।’

अहिलेको जस्तो चौकिदारदेखि डेलिवरी गर्ने मनिसको मुखमा माइक ठोस्ने पत्रकारिता थिएन त्यो बेला।

तर, जब मिडियाको चरित्र बदलियो र दर्शकहरुमा सनसनीपूर्ण ट्याबलोइड न्युजको स्वाद पर्‍यो, तब मिडिया ट्रायल र मिडिया एक्टिभिज्मले एउटा दुःस्वप्नको रुप लियो जुन, घोर महिलाविरोधी बन्दै गयो।

ऊ सत्तालाई प्रश्न गर्न डराउन थाल्यो, षड्यन्त्र सिद्धान्तलाई प्रेम गर्न थाल्यो। अति नाटकियता र आक्रमकता उसको प्रमुख हतियार बन्यो। मिडियाले पत्रकारिताका सिद्धान्तलाई आफ्नो कामको आधार बनाउनुको सट्टा आम नागरिकलाई खोजी गरेर उनीहरुको मुखमा माइक र शब्द ठोस्ने रुप लियो।

यसको पहिलो सिकार बने आरुषी तलवार हत्या काण्डमा राजेश र नुपुर तलवार। अहिले त्यही मिडियाले त्यही सर्कस, त्यही द्वेष र त्यही भयावहतालाई साथमा लिएर बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा रीया चक्रवर्तीलाई आफ्नो शिकार बनाइरहेको छ।

केही समयअघि रियाले आफ्ना कुराहरु राख्नलाई अन्तर्वार्ता दिइन्। हाम्रो कानुनअनुसार जबसम्म कसैमाथि लागेको आरोप पुष्टि हुँदैन, तबसम्म हरकोहीले आफ्नो पक्षका कुराहरु राख्न पाउँछ। त्यसो भए रीयालाई यो हक किन नदिने? रीयाबाहेक लगभग सबैले आफ्नो पक्षका कुराहरु विगत केही महिनादेखि टिलेभिजनमा राखिरहेका छन्। यसबीचमा रीयालाई स्थान किन नदिने आफ्नो कुरा राख्न?

सामाजिक सञ्जालमा कैयौं मानिसले उनको अन्तर्वार्ता ‘स्क्रिप्टिेड’ थियो भनेर भनिरहेका छन्। कैयौंले उनलाई गम्भीर प्रश्न सोधिएन् भनिरहेका छन्। कैयौंले त्यो अन्तर्वार्तालार्ई प्रश्नको जवाफ एक-एक शब्दमा दिइएको भनिरहेका छन्। कैयौंले रीयाको अन्तर्वार्तामा नाटक बढी भएको भनिरहेका छन्। कैयौंले अन्तर्वार्तामा रीयाले ‘सुशान्त मेरो सपनामा आए र आफ्नो कुरा राख्नु भने’ भनेको कुरालाई हाँस्यास्पद र नाटकीय कुरा भएको भनिरहेका छन्।

तर, रीयाले जे कुरा अन्तर्वार्तामा बोलेकी छन्, त्यसले प्रायः सबै प्रश्नको जवाफ दिन्छ, जुन प्रश्न अहिले लगातार ‘मिडिया ट्रायल’को हिस्सा बनिरहेको छ।

एकदेखि पौने दुई घण्टाको अन्तर्वार्ता दिन सजिलो हुँदैन। त्यो पनि जब तपाईँलाई ती प्रश्न सोधिन्छन्, जुन यो घट्नासँग जोडिएको हुन्छ। एनडिटिभीलाई रियाले दिएको अन्तर्वार्ता लाइभ थियो र यसमा उनले यसमा केही यस्ता प्रश्नको पनि जवाफ दिइन् जुन राजदीप सरदेसाइले दिएको अघिल्लो अन्वर्तार्तापछि सामाजिक सञ्जालमा पटकपटक सोधिएको थियो। यी प्रश्नहरुमा हवाई जहाजमा यात्रा गर्न सुशान्तलाई डर लाग्ने कुरासँग जोडिएका प्रश्नहरु थिए। पछि सन् २०१५ को एउटा पुरानो भिडियो पनि सार्वजनिक भयो, जसमा सुशान्त आफैँले आफूलाई ‘क्लास्ट्रोफोबिक’ भएको स्वीकारेका छन्।

तपाईँ एउटा दर्शक भएर हेर्नहुन्छ भने रीया चक्रवर्तीले अन्तर्वार्तामा केही प्रश्नलाई अनुत्तरित छाडेपनि सत्र हजार इएमआई भर्नेजस्ता केही अधुरा जवाफ पनि दिएकी थिइन्। केही प्रश्नहरु सोध्न पनि मिल्दैनन्। उदाहरणका लागि उनले यति महँगो वकिल कसरी हायर गरिन्? तर, उनले यी अन्तर्वार्तामा आफ्नो कुरा निकै स्पष्टसँग राखेकी छन् र बिना कुनै अर्थ चर्चामा आएका कैयौं षड्यन्त्र सिद्धान्तहरुलाई पनि भत्काएकी छन्। योसँगै उनी केही यस्ता प्रश्न पनि उठाउँछिन्, जो तर्कसंगत छन् र यी प्रश्नहरुले सेन्ट्रल व्युरो अफ इन्भेस्टिगेशन (सिबिआइ)लाई अगामी दिनमा हुने अनुसन्धानको दिशा तय गर्न मद्दत गर्न सक्छन्।

यस्तै कुरा ती अडियो टेपबाट पनि बुझिन्छन्, जहाँ सुशान्त आफ्नो भविष्यको योजना बनाइरहेका छन् र रीया त्यसमा सहयोग गरिरहेकी छन्। यी अडियो टेपहरुमा सुशान्तले स्पष्टरुपमा आफूलाई ‘बाइपोलर डिसअर्डर’ भएकाले भविष्यलाई सुरक्षित बनाउन चाहेको बताएका छन्।

तर, के हाम्रो समाज र मिडिया यी कुराहरुलाई पचाउन सक्षम छैनन्? हुनसक्छ रीया चक्रवर्ती नै दोषी हो र उनीमाथि लागेका सबै आरोप र षड्यन्त्र सिद्धान्तहरु पनि सत्य हुन्। यस्तो भएमा उनलाई अवश्य सजाय हुनुपर्छ। तर, यसको फैसला कानुनले गर्ने हो। र, जबसम्म यो फैसला हुँदैन किन हाम्रा मिडिया रीया चक्रवर्तीका यी कुराहरुलाई स्वीकार्न सकिरहेका छैनन्? अन्तर्वार्ता, अडियो टेप र च्याटका स्क्रिनसट बाहिर आउनुअघि र आएपछि जुन किसिमले रीयामाथि घृणा प्रस्तुत गरिएको छ, आखिर यसले हाम्रो समाजबारे के बताउँछ?

तपाईँ यो आलेखमा ‘मिडिया ट्रायल’सँग गजोडेर वर्णन गरिएका माथिका तीन उदाहरणमा उल्लेख महिला पात्रहरुको जीवनलाई हेर्नुहोस्। जेसिका लाल हत्या काण्डमा सन् १९९९ देखि सन् २००६ सम्म समाजमा जुन चिन्तन थियो, त्यसमा पनि जेसिका लालको व्यक्तित्वलाई लिएर थुप्रै प्रश्नहरु उठाइएका थिए। एक मोडल त्यति राति मानिसलाई मदिरा किन ‘सर्भ’ गरिरहेकी थिइन्? लगायत यस्तै अन्य प्रश्नहरु उठाइएका थिए।

त्यतिबेला बेला अहिलेको जस्तो सामाजिक सञ्जाल र टेलिभिजन मिडिया व्यापक थिएनन्। नत्र सोचेर हेर्नुहोस त, के जेसिका लालको विरुद्धमा पनि यस्तै भाष्य सिर्जना गरिन्थ्यो होला जस्तो अहिले रीया चक्रवर्तीको विरुद्धमा सिर्जना गरिएको छ ? आज रीया चक्रवर्तीलाई विषकन्यादेखि राक्षसी, कालो जादु गर्नेदेखि धनी प्रेमीको पैसा हड्पने ‘गोल्ड डिगर’ प्रेमिकासम्म भनिएको छ। त्यो बेला झन् ‘ग्य्लामरस’ मोडल जेसिका लाललाई के-के भनिन्थ्यो होला?

आरुषी तलवार हत्याकाण्डमा पनि मिडियाको भूमिकालाई ध्यान दिएर हेर्नुहोस्। त्यो बेला पनि सुशान्त सिंह राजपुतको मुद्दाजस्तै तलवार दम्पत्तिको घरमा काम गर्ने व्यक्तिदेखि छरछिमेकका मानिसलाई टेलिभिजनहरुले र्‍याखर्‍याख्ती पारेका थिए। रात-दिन हाम्रा टेलिभिजनहरुले अपरिचित र अन्जान मानिसको मुखमा माइक ठोसेका थिए।

उनीहरुले यस्तो भाष्य निर्माण गरे, जसका अनुसार राजेश तलवार र नुपुर तलवारले नै आफ्नी छोरी आरुषी तलवारको हत्या गरेका हुन्। टेलिभिजनले निर्माण गरेको भाष्य यति उचाईमा पुग्यो कि एकदिन मिडियाको कुरालाई सत्य मानेर एक व्यक्तिले अदालतमा राजेश तलवारमाथि चक्कु प्रहार गरे। उक्त घट्नामा राजेश घाइते भएका थिए।

मिडिया हाबी भइदिँदा यसको छानबिन गरिरहेको प्रहरीदेखि सिबिआइमाथि पनि कैयौं प्रश्नहरु उठे। सन् २०१७ मा इलाहावाद उच्च अदालतले राजेश र नुपुर तलवारलाई निर्दोष भएको फैसला गर्‍यो। यसपछि सन् २०१८ मा सिबिआइले उच्च अदालतको फैसलालाई नमान्दै सर्वोच्च अदालतमा फेरि मुद्दा दायर गर्‍यो, जसलाई सर्वोच्च अदालतले पनि स्वीकार गर्‍यो। अहिले यो सर्वोच्च अदालतमा चलिरहेको छ। सन् २००८ मा भएको हत्याकाण्ड अहिलेसम्म पनि सुल्झिएको छैन।

आरुषी तलवारको हत्याकाण्डको समयमा भएका मिडिया ट्रायलले आरुषीकी आमा नुपुर तलवारको जीवनमा पनि असर गरेको थियो। उनले पनि रीया चक्रवर्तीले जस्तै विभिन्न टिभी स्टुडियोमा चक्कर लगाएर आफूलाई निर्दोष भएको बताउनुपरेको थियो। त्यो बेला पनि हाम्रो समाजले यही कुरा भनिरहेको थियो, जुन अहिले रीया चक्रवर्तीको अन्तर्वार्ता हेरेर भनिरहेको छ।

‘हेर त, कत्ति पनि भावुक भएकी छैन।’

‘हेर त, रटेर आएको जवाफ दिइरहेकी छे।’

‘हेर त, कसरी भाष्यलाई परिवर्तन गर्ने प्रयास गरिरहेकी छे।’

‘हेर त, अनुहारमा कति कठोरता। आफ्नो छोरीको मृत्युको दुःखसम्म छैन।’

मिडियामा प्रस्तुत हुँदा नुपुरमाथि यस्ता टिप्पणी आएका थिए। ती मिडिया ट्रायलमा नुपुर तलवारलाई मात्रै खराब देखाएन। मिडिया र प्रहरीले आरुषी, हेमराज र बुबा राजेश तलवारको सम्बन्धलाई लिएर जुन कुरा गरिरहेका थिए, त्यसले १४ वर्षकी आरुषीको सम्झनाहरुलाई पनि गलत बनाइदियो। ठीक यसरी नै अहिले मिडिया ट्रायलका कारण सुशान्त सिंह राजपुतको अन्तिम दिनका यादहरुलाई खराबरुपमा प्रस्तुत गरिएको छ।

मिडिया र समाज संस्थागतरुपमा कति महिलाविरोधी हुन्छन् भन्ने कुरामा पश्चिमा मुलुकको एक कुख्यात मिडिया ट्रायल पनि उदाहरण छ। उक्त मिडिया ट्रायललाई अमान्डा नाक्स मिडिया ट्रायलको रुपले चिनिन्छ। २१ वर्षीय अमेरिकी छात्रा अमान्डा नाक्स, जो अध्ययनका लागि इटाली गएकी थिइन्, उनलाई सन् २००७ मा उनको कोठाको साथी हत्याको दोषी मानिएको थियो। सन् २००९ मा इटालीमा उनलाई २६ वर्षको सजाय सुनाइएको थियो। यसबीच इटाली तथा विश्वभरकै मिडियाहरुले अमान्डा नाक्सलाई ‘मर्डरर’, ‘मेन-इटर’, ‘साइकोपैथ’ लगायतका शब्दले परिचित गराउँदै प्रस्तुत गरेका थिए।

पछि इटाली अदालतले उनलाई निर्दोष भएको फैसला गरेर मुक्त गरेको थियो। तर, उनीमाथि मिडियाले स्वघोषित गरेका घोषणाहरु फिर्ता हुन् सकेनन्। यही घट्नामा आधारित भएर नेटफ्लिक्समा एक डकुमेन्ट्री पनि सार्वजनिक भएको छ।

बिना कुनै आधार आफैँ घोषणा गरेको र त्यसले निम्त्याएको दूष्प्रपरिणामका कारण यो घट्नामा भएको मिडिया ट्रायललाई सधैँ आलोचना गरिन्छ।

आज २८ वर्षीया रीया चक्रवर्तीको साथमा हाम्रो मिडिया र समाजले जे गरिरहेका छन्, त्यो पनि उत्तिकै गलत छन्, जति माथि वर्णन गरिएका उदाहरणहरुमा विभिन्न समयमा महिलामाथि मिडिया र समाजले गरेका थिए। यदि रीया चक्रवर्ती सुशान्त सिंहको मृत्युको कारण हुन भने पनि अहिले भइरहेको मिडिया ट्रायल कसरी सही हुन सक्छ? उनी दोषि होइनन् भने हामीले आफू कति हदसम्म गिर्‍यौं त्यसलाई नियालेर हेर्नुपर्ने हुनसक्छ। रीयामाथि हामीले गरेका घोषणाहरुलाई फेरि चिहाउनुपर्छ।

हाम्रा सनसनीपूर्ण मिडियाहरुले के गर्छन, यदि सिबिआईले रिया चक्रवर्तीलाई सुशान्तको मृत्युको दोषी नभएको बतायो भने? के उनीहरुले सार्वजनिकरुपमा माफी माग्लान्? के मिडियाहरुले आफ्नै पत्रकारको मुखमा त्यसरी नै माइक ठोस्लान, जसरी अहिले गरिरहेका छन्?

अह! गर्दैनन्। उनीहरु यी सबै कुरालाई भुल्नेछन्। केही नभएको जस्तो गर्नेछन् अनि फेरि अर्को कुनै घट्नामा अहिलेको जस्तै हल्ला गर्न थाल्नेछन्।

(सत्याग्रहमा प्रकाशित सामग्रीको सूत्रन्युजकर्मी अमि प्रिन्सले गरेको भावानुवाद) 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट