कोभिड–१९ को चपेटामा खेल्दै सिक्ने केन्द्र-Sutra News

कोभिड–१९ को चपेटामा खेल्दै सिक्ने केन्द्र

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

नेपालगन्ज– कोरोना महामारीको प्रभाव बाँकेको वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगन्जमा तीन वटा खेल्दै सिक्ने केन्द्रका बालबालिका र किशोरकिशोरीहरुमा समेत परेको छ।



नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउन रणनीतिक कार्ययोजना तयसमेत भइसकेको अवस्थामा कोभिड–१९ को महामारी र त्यसपछिको लकडाउनले अप्ठेरोमा पारेको छ।

नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदलले निर्माण गरेको कार्ययोजना कोरोना महामारीका कारण कार्यान्वयनमा ल्याउन नसकिएको समन्वय एकाइ बाँकेका प्रमुख रामसुरत यादवले बताए।

करिब १२ हजार बालबालिका र किशोरकिशोरी विद्यालयबाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्य राखिएको सो कार्ययोजना महामारीको अवस्थालाई आँकलन गरी कार्यान्वयमा ल्याइने जनाइएको छ।

उपमहानगरपालिकाको घसियारन टोल, बसुदेवपुर र भवनियापुरमा केन्द्र स्थापना भइसकेको छ। खेल्दै सिक्ने केन्द्रलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने सम्बद्ध वडा कार्यालयले यसको अपनत्वसमेत ग्रहण गरेको छ।

श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जुनसुकै समयमा आएर पढन र खेल्न पाउने व्यवस्था मिलाइएको छ। यद्यपि कोरोना महामारीका कारणका अहिले उनीहरुको पहुँच त्यहाँ पुग्न सकेको छैन।

बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले केन्द्र सञ्चालनमा ल्याइएको साझेदार संस्था बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक रवि तुलाधरले बताए।

केन्द्रमा विद्यालय छाडेका १० वर्षदेखि १९ वर्ष उमेरका तथा जाँदै नगएका बालबालिका र किशोरकिशोरीलाई विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशील, सूचना तथा प्रविधि, आय आर्जनलगायतका विषयमा ज्ञान दिने अनौपचारिक पाठ्यक्रम निर्माण गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट