कहिलेसम्म सेयर किन्दा लाभांश तथा हकप्रद सेयर पाइन्छ?-Sutra News

कहिलेसम्म सेयर किन्दा लाभांश तथा हकप्रद सेयर पाइन्छ?

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

अहिले सेयर बजारमा लगानी गर्ने धेरै जसो नयाँ लगानीकर्तालाई कुन कम्पनीको सेयर कुन समयमा किन्दा कम्पनीले प्रदान गर्ने लाभांश तथा हकप्रद सेयरको दाबेदर बन्न सक्छु भन्ने आम जिज्ञासा सुन्न पाइन्छ। यदि कुनै पनि कम्पनीले लाभांश अथवा हकप्रद सेयर कुन मितिमा सेयर किन्नेले पाउँछ भन्ने समयलाई बुक क्लोज (सेयर दाखिला खारेज)को समय भनिन्छ।



कुनै निश्चित समयमा कायम लगानीकर्तालाई साधारण सभामा सहभागी गराउने लाभाशं तथा हकप्रद सेयर प्रतिफल प्रदान गर्नका लागि कम्पनीको ऐनमा भएको व्यवस्थाअनुसार निश्चित समयको लागि सेयर दाखिला बन्द गर्ने गर्छ। त्यो समयमा त्यस कम्पनीको सेयर खरिद बिक्री भइरहेको हुन्छ। बुक क्लोज मिति र त्यसपछि सेयर खरिद गर्ने लगानीकर्ताले सम्बन्धित कम्पनीले त्यसबखत घोषणा गरेको लाभांश प्राप्त गर्न सक्दैनन्।

त्यसैले कम्पनीले घोषण गरेको प्रतिफल लिनका लागि बुक क्लोज भएको मितिभन्दा अगाडि दोस्रो बजारको सेयर खरिद गरिसकेको हुनुपर्छ। बुक क्लोजको सूचना कम्पनीले नेपाल स्टोक एक्सचेन्ज तथा विभिन्न राष्ट्रिय दैनिकमार्फत् दिएको हुन्छ। सेयर लगानीकर्ताले त्यही सूचनालाई आधारमा जानकारी लिन सक्छन्।

यस्तो सूचना कम्पनीले कम्तीमा सात दिन अगाडि निकाल्नुपर्ने हुन्छ। कम्पनीको बुक क्लोज समय, लाभांश दर, कम्पनीको साधारण सभा गर्ने समय तथा स्थानबारे जानकारी दिनुपर्ने हुन्छ। योसँगै कम्पनीले प्रस्ताव तथा विषेश प्रस्तावहरु प्रस्तुत गरेको हुन्छ।

कम्पनीले बुक क्लोजको मिति यति गतेबाट यति गतेसम्म भनेर तोकेको हुन्छ। जुन समयलाई सेयर दाखिला खारेजको समय वा बुक क्लोज मिति भनिन्छ।

उदारणको लागिः नेपाल स्टक एक्सचेन्जमा सूचीकृत फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको असोज २८ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको साधारण सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा विहान ११ बजेबाट सुरु हुँदैछ। सभामा कम्पनीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। संस्थाले गत आर्थिक वर्ष २०७५-०७६ को नाफाबाट १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।

कम्पनीले ११ करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ६१ लाख २३ हजार ५२३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। सभाले रिक्त सञ्चालकको पदपूर्ति प्रस्ताव पनि अनुमोदन गर्नेछ।

यसैगरी, गत आवको नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्नेछ। साधारण सभाका लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गरेको छ। असोज १३ गतेसम्म सेयर खरिद गरी कायम लगानीकर्ताले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

यसअनुसार बुक क्लोजको समयभन्दा अघिल्लो दिनसम्म कमपनीको सेयर खरिद गरेका सेयरधनीहरुले कम्पनीले प्रदान गर्ने नगद लाभांश तथा बोनस सेयर पाउने हुन्छन्। त्यस समयभन्दा पछाडि सेयर खरिद गर्दा लगानीकर्ताले उक्त लाभांशको हकदार हुन पाउने छैनन्। १३ गतेभन्दा अगाडि कम्पनीको सेयर लगानीकर्ताले नामसारीको लागि पठाइसकेको हुनुपर्छ।

बुक क्जोजपछि कम्पनीको सेयरको मूल्य निम्न गणनामा गरिन्छ। बुक क्लोजभन्दा अगाडिको प्रतिकित्ता सेयरको मूल्य– प्रतिसेयर नगत लाभांश। बोनस दिँदा बुक क्लोज पछिको मूल्य– बुक क्लोजभन्दा अघिको प्रतिकित्ता सेयरको मूल्य/१+ बोनस सेयर दर।

यस उदारणमा दिएको फर्स्ट माइक्रोफाइनान्सको कुराको के स्पस्ट गराउँछ भने कम्पनीले दिने लाभांश प्राप्त गर्न कम्पनी त्यस्तो प्रक्रिया गरेको हुन्छ। हकप्रद सेयर भनेको कुनै पनि कम्पनीले आफ्नो कम्पनीको पुँजी बढाउन वा कम्पनी विस्तार गर्नको लागि हकप्रद सेयरको निष्काशन गर्ने गर्छ।

यो सेयर कुनै कम्पनीले आफ्नो कम्पनीमा लगानी रहेका लगानीकर्ताको लागि हकप्रद सेयर ल्याउँछ। कम्पनीमा पहिलेबाटै सेयरमा लगानी गरिरहेका लगानीकर्ताहरुलेमात्र हकप्रद सेयरमा आवेदन दिन पाउने हुन्छन्। कम्पनीले हकप्रद सेयर निष्कासनका समयमा पनि बुक क्लोज गर्ने गर्छ।

उदारणको लागिः नेपाल स्टक एक्सचेन्जमा सूचीकृत समृद्धि फाइनान्स कम्पनीको २०० प्रतिशत हकप्रद सेयरमा बुक क्लोज मिति तय भएको छ। कम्पनीले जारी गर्न लागेको हकप्रदमा भदौ १२ गते बुक क्लोज गरिने भएको छ। यसर्थ, भदौ ११ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्।

अब यस कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयर किन्नको लागि लगानीकर्ताले भदौ ११ गतेभन्दा अगाडि त्यो कम्पनीको दोस्रो बजारको सेयर खरिद गरिसकेको हुनुपर्छ। त्यसपछिमात्र लगानीकर्ताले कम्पनीले निष्काशन गरेको उक्तहकप्रद सेयर खरिद गर्न पाउँछ। यस्तो कम्पनीको सेयर बुक क्लोज हुनुभन्दा अगाडि सेयर बजारमा उच्च मूल्या बिक्री भइरहेका हुन्छन्।

हकप्रद सेयर जारीगर्दा बुक क्लोज पछिको मूल्य। बुक क्लोज पछिको मूल्य पछिको मूल्य बराबर बुक क्लोजअघिको एक सेयरको मूल्य+ एक सेयरमा प्राप्त हुने हकप्रद सेयर मूल्य/१+ एक सेयरमा प्राप्त हुने हकप्रद सेयरको अनुपात। कम्पनीको हकप्रद सेयर यसरी बिक्री वितरण हुने गर्छ।

(युवा सेयर लगानीकर्ता कमल पन्थीसँग सूत्रन्युजका लागि सुमित्रा कार्कीले गरेको कुराकानीमा आधारित।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट