कोरोनाको उच्च जोखिममा कालीमाटी तरकारी बजार : पालना गर्दैनन् स्वास्थ्य मापदण्ड-Sutra News

कोरोनाको उच्च जोखिममा कालीमाटी तरकारी बजार : पालना गर्दैनन् स्वास्थ्य मापदण्ड

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले स्वस्थ्यको सामान्य मापदण्ड पनि पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको छ।



बिहीबार बिहान सुत्रन्यूज टिम बजार पुग्दा अवस्था सामान्य देखिएको थिएन। उपभोक्ता र व्यापारीहरुको भिड देखिएको थियो। न सामाजिक दुरी कायम थियो, न मास्क नै कसैले लगाएको देखिन्थ्यो।

आफूले मास्क र सेनिटाइजरको व्यवस्था गरे पनि अरुले मापदण्ड पालना नगरेकोमा चिन्तित देखिन्थे व्यापारी बुद्धि श्रेष्ठ। ‘संक्रमित भइएला भन्ने डर त लाग्छ। तर आउने ग्राहकले पनि सामाजिक दुरी कायम गर्दिए हुन्थ्यो, तर गर्दैनन्,’ उनले चिन्तित हुँदै भने, ‘बाहिरबाट कस्ता मान्छे आउँछन् त्यो पनि थाहा हुँदैन । ज्यानको बाजी राखेर भए पनि व्यापार चलाउनु पर्ने अवस्था छ।’

उनका अनुसार जोखिम देखिएपछि संक्रमणको दरले कतिपयले पसल नै बन्द गरेका छन्।

शुक्रबार बिहान काठमाडौं महानगरको कृषि विभागको अगुवाइमा पनि अनुगमन टोली कालीमाटी तरकारी बजार पुगेको थियो। त्यहाँ पुग्दा सामान्य मापदण्ड पनि पालना नगरेको टोलीले बताएको छ।

यसअघि कालीमाटीका तरकारी बजारको एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ। जोखिम बढ्दासमेत ग्राहक तथा व्यापारीहरूले सावधानी नअपनाएको अनुगमन टोली बताउँछ।

काठमाडौंमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेको छ। शुक्रबारमात्र उपत्यकाभित्र थप ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। यो दैनिक संक्रमण हुने मध्ये आजसम्मकै उच्च दर हो। यससँगै उपत्यकाभित्र संक्रमित हुनेको संख्या ४ हजार ८ सय नाघिसकेको छ।

दैनिक ५ सय मेट्रिकटन तरकारी तथा फलफूल बिक्री हुने कालीमाटीमामा ४ सय ५२ थोक, ६५ खुद्रा र २७ माछा पसल छन्। नजिकको बजारभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि बजारमा भीड बढेको अनुगमन टोलीको निष्कर्ष छ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि तरकारीको आयात घटेर मूल्य बढेको भन्दै गुनासो आएको थियो। गुनासोकै कारण काठमाडौं महानगरपालिकाले अनुगमन सुरु गरेको थियो।

अनुगमनका क्रममा थोक बजारभित्रका स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको अवलोकन गरिएको थियो। त्यस्तै ढक तराजुको अवस्था, खरिद बिक्री बिल, मूल्यसूची, परिचय पत्रलगायत सूचकका आधारमा अनुगमन गरिएको थियो।

कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले महामारीको समयमा पनि व्यापारी र उपभोक्तामा सावधानी नदेखिएको भन्दै सचेत हुन आग्रह गरेका छन् । उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले खरीद बिक्री बिललाई अनिवार्य गर्ने, त्यसका आधारमा मूल्यसूची टाँस्ने तथा मूल्यसूचीका आधारमा उपभोक्ताले खरिद गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन्।

कालीमाटी बजार विकास समितिले गत भदौ ७ गते दुईपांग्रे सवारीसाधनलाई बजार प्रवेशमा रोक लगाउने, किसान बजार बन्द गर्ने, बजारमा कार्यरत भरिया र मजदुरलाई समूहमा बस्न निरुत्साहन गर्नेलगायत ११ बुँदे सूचना जारी गरेको थियो।

सूचनामा इजाजत प्राप्त व्यवसायीले दुई जनाभन्दा बढी बस्न नपाइने, बजार प्रवेश गरेपछि साबुनपानीले हात धुनुपर्ने, मास्कको प्रयोग गर्नुपर्ने, कृषिउपज लिएर आउने सवारी साधनले बिहान ९ देखि राति ११ बजेसम्म मात्र प्रवेश गर्न पाउने, सामान जुन अवस्थामा आएको छ, त्यही अवस्थामा बिक्री गर्नेलगायत विषय उल्लेख गरिएको थियो।

तर, बाहिरी जिल्लाबाट आएका माल बाहक साधनहरु पनि बिना सेनिटाइजर आइरहेका टोलीको निस्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट