अदृश्य शक्तिबाट हुनसक्छ मनोरोगको उपचार-Sutra News

अदृश्य शक्तिबाट हुनसक्छ मनोरोगको उपचार

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

उपचार वा जाँचका लागि पहिलो पटक अस्पताल पुग्ने मानसिक रोग वा छारे रोगका विरामीहरू प्रायः एक दुुई पटक धामी–झाँक्री वा माताकहाँ पुगेर उपचार गराइसकेका हुन्छन् । धामी–झाँक्रीको उपचारले केही समय ठीक भएको अनुुभव पनि सुनाउँछन् ।



साठी–पैसठ्ठी वर्ष पहिले गाउँघरमा अस्पताल, डाक्टर, औषधि पसल थिएनन् । थिए नै भनेपनि वैद्यको आयुर्वेदिक औषधिको पसल हुन्थ्यो, त्यो पनि नजिकै ठूलो बजार भएमा मात्र । पिनास भए फुुक्ने, पेट दुखे पानी मन्तरेर खान दिने गरिन्थ्यो । उपचारको यस्तो तरिकाको कुनै वैज्ञानिक आधार भने हुँदैनन् । सिर्फ यति गरेपछि ‘निको हुन्छ’ भन्ने विश्वासले चाहिँ केही काम गरेको हुनुपर्छ ।

अहिले पश्चिमी देशहरूमा पनि चाइनिज एक्यूपंचर, जापानिज रेकी, टिवेटियन उपचार विधिहरूको प्रयोग भएको पाइन्छ । नेपालमा पनि पहिले–पहिले हुुने गरेका उपचार विधिलाई नयाँ रूपमा प्रयोग गरिदैछ । यस्तो पद्धतिबाट भएको उपचारबाट आफूू निको भएको कुरा कतिपयले बताउने गरेका छन् । उपचारको यो तरिका आफैं अपनाउन सकिन्छ, यसका लागि कसैकहाँ जानु पनि पर्दैन ।

स्ट्रानफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका एक इन्जिनियरले विभिन्न रोगहरूको उपचार गर्ने विधिको रूपमा इमोसनल फ्रिडम टेक्निक (इएफटी) विकास गरे, जुन अहिले पश्चिमी देशहरूमा निकै लोकप्रिय हुन थालेको छ । त्यसको अभ्यास पनि व्यापक हुँदै गएको छ । उनी अहिले ‘अनसिन थेरापिष्ट’ वा नदेखिने शक्तिलाई आव्हान गरेर आफ्नो उपचार गर्न सकिन्छ भन्ने दावी गरिरहेका छन् ।

उनको पुस्तक पढ्न चाहने व्यक्तिले उनको ‘द अनसिन थेरापिष्ट बाई गेरी क्र्याग’ WWW.EmoFree.com डाउनलोड गर्न सक्छन् । त्यसमा यस्तो उपचारबाट फाइदा भएका वा निको भएकाहरूको अनुभव पाउन सकिन्छ ।

हुन त, कतिपय स्वास्थ्य समस्याहरू आफैं निको हुने पनि गर्छन् । आराम गर्ने, पोषणयुक्त खाना खाने र तनाव घटाउने काम गर्ने हो भने कतिपय रोगहरू आफै निको हुन्छन् । किनकि रोगलाई हाम्रो शरीरले नै निको पार्ने सक्दो प्रयास गर्छ, जसलाई हामी ‘इम्युनिटी पावर’ वा ‘आफै भित्रको रोगसँग लडने शक्ति’ भन्छौ । चिकित्सक कहाँ गएर, जँचाएर औषधि खाँदा ‘अब निको हुन्छ’ भन्ने विश्वास भयो भने पनि रोग छिटो निको हुन्छ भन्ने विश्वास छ । यसमा केही सत्यता अवस्य पनि छ ।

रामदेव बाबाले कपालभाँती, अनुलोमविलोम र केही योगासनको अभ्यासले धेरै रोग निको हुन्छन् भनेका छन् । ‘निको भएँ’ भन्नेहरू पनि छन् । पतन्जली योग नेपालमै धेरै ठाउँमा चलिरहेका छन् । श्री श्री रविशंकरले ‘सुुदर्शनक्रिया’ सिकाउनु हुन्छ । यसबाट ‘चिन्तारोग’ र ‘डिप्रेसन’ ठीक हुन्छ भन्ने रिपोर्टहरू आएका छन् ।

नेपालमा झण्डै पाँच लाखको संख्यामा धामी–झाँक्री, माता, गुरुबा आदि छन् । उनीहरूले गर्ने झारफुक र पूूजाआजाले आफूमा देखिएको स्वास्थ्य समस्या समाधान हुन्छ भन्ने विश्वास कतिपय नेपालीहरूलाई छ । यस्ता धामी–झाँक्रीहरूको पेशा–व्यवसाय पनि राम्रैसँग चलेको छ ।

नाम चलेका एकजना धामीसँग मैले सोधेको थिएँ, ‘तपाईँहरु कसरी रोग निको पार्नु हुन्छ ?’ उनले भनेका थिए, ‘मन्त्र पढेर आफ्नो देवतालाई बोलाउँछु । उनीसँग मेरो विरामीको उपचार गरिदिनुस् भनेर अनुरोध गर्छु । त्यसपछि रोग निको हुन्छ ।’
धामीहरूको उपचार गर्ने तरिका बुुझ्ने सिलसिलामा अरू केही व्यक्तिलाई पनि मैले यही प्रश्न गरेको थिएँ । उनीहरूमध्ये कसैले ‘भयर देवता’, कसैले ‘देवी’ लाई बोलाउने बताए ।

कतिपयले ‘आफ्नो गुरुले सिकाएजस्तो गरेर उपचार गर्छौं’ भने । ती धामीहरूले जस्तै ती अमेरिकी इन्जिनियर ग्यारी क्रेगले पनि अदृश्य शक्तिलाई बोलाउने र उपचार गर्ने कुरा बताएका छन् । त्यसैले, ग्यारी क्रेग र धामीहरूको कुरामा धेरै समानता पाइन्छ ।

विश्वासले मानसिक सोच र भावनामा गहिरो प्रभाव पार्दछ । विश्वासलाई ‘पारसमणि’सँग तुलना गरिएको छ । विश्वास विना आध्यात्मिक चिन्तन पनि हुुँदैन । भनिन्छ, ‘शरीरभित्रै सबै कुरा छन्, रोग निको पार्ने शक्ति आफैंभित्र छ ।’ जुन रोग आफै निको हुुन्छन्, ती रोग अदृश्य थेरापिस्टले निको पारेको हो वा साच्चैं उपचार भएकाले निको भएको हो, यो कुरा भन्न कठिन छ । यद्यपि, विश्वास र शरीर भित्रै उपचार गर्ने शक्ति छ भन्ने सुझाव भने महत्वपूर्ण नै छ ।

अब इन्जिनियर ग्यारी क्रेग र उनको उपचार विधिबारे थप कुरा गरौँ । चीनमा पाँच हजार वर्ष अघिदेखि गरिने एक्युपंचर विधिबाट गरिने उपचार पद्धतिले अहिलेपनि निरन्तरता पाएकै छ । भनिन्छ, शरीरमा अनगिन्ती ‘इनर्जी फ्लो’ हुने च्यानलहरू हुन्छन् । ती च्यानलहरू ‘ब्लक’ भएमा (रोकिएमा) विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । एक्युपंचर विधिले ‘ब्लक’ भएका मुख्य च्यानलहरू चिन्ने र खोल्ने काम गर्छ । र, देखिएको स्वास्थ्य समस्या समाधान हुन्छ । एक्युपंचर विधिले मात्र होइन, ‘एक्युप्रेसर’ विधिले पनि यसैगरी च्यानल खोल्छ र यो विधिबाट उपचार गर्न सकिन्छ भन्ने गरिएको छ ।

परम्परागत चिनियाँ मेडिसिनको सिद्धान्त वा एक्युपंचरको सिद्धान्त अहिलेको ‘मेडिकल साइन्स’ भन्दा भिन्न छ । रोगहरू लाग्दा ‘यीन र याङ्ग’ (Yin and Yang) को सन्तुलन र आपसी निर्भरताबारे बढी हेरिन्छ । यीन र याङ्गको असन्तुलनले विभिन्न रोग लाग्ने र तिनीहरूको सन्तुलनले रोग निको हुने मान्यता छ । हृदयलाई मनको केन्द्र मानिन्छ । हृदयले मस्तिष्क, चेतना, सम्झना, विचार र निन्द्रा आदिलाई नियन्त्रण गर्छ भन्ने विश्वास गरिन्छ ।

हाम्रो शरीरमा इनर्जी वा प्राण शक्तिले इडा, पिङ्गला र शुष्मा जस्ता सुक्ष्म नाडीमा ‘इनर्जी फ्लो’ गर्छन् । यस्तो इनर्जीलाई ‘ची’ भनिन्छ र यिन (Yin) र याङ (Yang)  मिलेर ‘ची’ इनर्जी बन्छ । हुन त, शरीरमा ७२ हजार नाडीहरू छन् भनिन्छ । तीमध्ये दश वटा अलिक बढी महत्वका र तीन वटा अति महत्वका मानिन्छन् । नाडीहरूमा राम्रोसँग इनर्जी वा ‘ची’ फ्लो हुनु भनेको नै स्वास्थ्य राम्रो हुनु हो । तिब्बती मेडिसिन पद्धतिमा बुद्धलाई भैषज्यराज् अर्थात् चिकित्सक मानिन्छ । त्यसैले, रोगको उपचार गर्दा औषधीहरूको साथै भैषज्यराजको पूूजा र प्रार्थना गर्ने गरिएको छ ।

ग्यारी क्रेगले एक्युप्रेसर प्वाइन्टमा आफ्नै औंलाले ट्यापिङ गर्दा पनि स्वास्थ्य समस्याहरू ठीक भएको तथ्य फेला पारे । यति सजिलो र आफै आफ्नो उपचार गर्न सकिन्छ भने किन प्रयास नगर्ने ? भनेर पश्चिमाहरूले पनि यसको प्रयोग गरे । र, यो फाइदाजनक नै भएको पाए । अहिले यो पद्धतिमा धेरै सुधार गरिएको छ ।

ग्यारी क्रेगले ‘एक प्राकृतिक उपचार प्रत्येक भावना, पीडा र रोगका लागि उपयोगी हुन्छ’ भनेका छन् । यद्यपि उनी कुनै स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेको स्थिति छ भने औषधि छाड्न नहुने सुुझाव पनि दिन्छन् । यो तरिकाले सबै स्वास्थ्य समस्याको समाधान नहुुनसक्ने बताउँदै यस्तो सुुझाव दिएका हुन् । उनी भन्छन् ‘रोगहरूको मुख्य कारण मन, सोचाई वा भावना हो, शरीर होइन ।’

उनका यी दावीहरुको कुनै प्रमाण भने छैन । मेडिकल साइन्सले पनि किन रोग लाग्छ भन्ने कुरा किटेर भन्न सक्दैन । तर विभिन्न कारणले रोग लाग्न सक्छ । जस्तै: वंशाणुगत, वातावरणीय, जीवनशैली, खानपिन, अटो–इम्युन र अज्ञात कारणहरू आदि ।

प्रश्न उठ्न सक्छ, त्यसो भए ‘अज्ञात कारण’ कारणहरू के–के हुन् त ? मानसिक स्वास्थ्य समस्याका सन्दर्भमा त यस्तो अज्ञात कारण अझ बढी हुन्छ । प्रायः विरामीहरूलाई ‘किन चिन्ता रोग लाग्छ, किन डिप्रेसन हुन्छ, किन मानसिक असन्तुलन हुन्छ ?’ भन्ने सम्बन्धमा निश्चित रुपमा ‘यही कारणले यस्तो समस्या देखिएको हो’ भन्न सक्दैनौं । ‘वंशाणुगत कारण, न्युरोट्रान्समिटर, मानसिक तनाव, बाल्यकालदेखि दबिएका भावनात्मक समस्याका कारण यस्तो भएको हो’ भनेर हामी जवाफ दिन्छौं ।

मानसिक रोगको कारण ठ्याक्कै भन्न नसकिएपनि यस्तो रोगको उपचार यसरी गर्नुपर्छ भन्ने जानकारी चाहिँ हामीलाई छ । यो छुुट्टै कुरा हो कि, उपचार गर्दा धेरै विरामीहरू निको हुन्छन्, केहीको अवस्था राम्रो हुन्छ र केहीलाई उपचारले समेत काम गर्दैन । उपचार किन कामयावी भएन, त्यो चाहिँ भन्न सकिने अवस्था हुँदैन । ग्यारी क्रेगको विचारमा मस्तिष्क शरीरको अंग हो, तर मन (Mind) मस्तिष्क होइन । मनमा विश्वास र भावनाहरू हुुन्छन्, जसको सम्बन्ध अध्यात्मसँग हुुन्छ । मनलाई छुन सकिदैन ।

त्यसो भए के हो त अदृश्य शक्ति वा थेरापिस्ट ?

ग्यारी यो प्रश्नको उत्तर यसरी दिन्छन्, ‘तिनलाई जे नामले पुकारे पनि हुन्छ– प्रेम, ईश्वर, दैवी शक्ति, बुद्ध वा आफ्नो आस्था र विश्वास भएको अन्य कुनै शक्ति वा प्रकृति । तीनको कुनै शरीर छैन । तिनी पुरुष पनि होइनन्, स्त्री पनि होइनन् । तर दयालु, कोमल र सहयोग गर्ने हुनाले मातृशक्ति चाहिँ मान्न सकिन्छ ।’

एक शिक्षित अमेरिकी इन्जिनियरले यस्तो कुरा गरिरहेका छन्, जुन नेपालीहरूले सयौं वर्षदेखि गर्दै आइरहेका थिए, छन् । तरिका भिन्न होला, तर शक्तिलाई आह्वान गरेर उपचारको लागि प्रार्थना गर्ने प्रचलन पहिलेदेखि नै हामीकहाँ छ । चाहे त्यस्तो प्रार्थना धामी, झाँक्री, पण्डित, जान्ने माता आदि जो कोहीबाट गरिएको किन नहोस् ।

यो कुरा निश्चित हो कि, विश्वासले मानसिक सोच र भावनामा गहिरो प्रभाव पार्दछ । विश्वासलाई ‘पारसमणि’सँग तुलना गरिएको छ । विश्वास विना आध्यात्मिक चिन्तन पनि हुुँदैन । भनिन्छ, ‘शरीरभित्रै सबै कुरा छन्, रोग निको पार्ने शक्ति आफैंभित्र छ ।’ जुन रोग आफै निको हुुन्छन्, ती रोग अदृश्य थेरापिस्टले निको पारेको हो वा साच्चैं उपचार भएकाले निको भएको हो, यो कुरा भन्न कठिन छ । यद्यपि, विश्वास र शरीर भित्रै उपचार गर्ने शक्ति छ भन्ने सुझाव भने महत्वपूर्ण नै छ ।

यो लेख लेख्नुको मुख्य उदेश्य हो, धेरै स्वास्थ्य समस्याहरू मनसँग सम्बन्धित छन् र ती समस्याहरूको उपचार विभिन्न तरिकाले गर्न सकिन्छ भने जानकारी गराउनु । चिनियाँ एक्यूपंचर वा एक्यूप्रेसर, जापानिज रेकी, इ.एफ.टी, इनर्जी हिलिङ, रामदेव बाबाका तरिकाहरू, श्री श्री रविशंकरज्यूको सुुदर्शनक्रिया, नेपालका धामी–झाँक्रीको झारफुक विधि, मनोविद्हरूको सल्लाह, साइकोथेरापी सबै मनसँग सम्बन्धित छन् ।

साइकोथेरापी अन्तर्गत मनमा दबिएका कारण के–के छन्, तिनीहरूको खोजी गरिन्छ, मानसिक तनावबारे बुझिन्छ र समस्या समाधानका विभिन्न तरिकाहरुबारे छलफल गरिन्छ । बाल्यकालदेखिका कुटपिट, हेलाँ, यातना, दुव्र्यवहार, यौनसँग सम्बन्धित विभिन्न समस्या, डर, रिस, घृणा आदि सबैले मनमा गाँठाहरू परेका हुन्छन्, तिनलाई फुकाउने काम साइकोथेरापीले गर्छ ।
श्रीमद्भागवत गीता अध्याय ६, श्लोक नम्बर ५ (६) पनि यसका लागि कामयावी हुनसक्छ ।

जस्तो कि, त्यसमा भनिएको छ, ‘मानिसले आफ्नो मनको सहायताले आफ्नो उद्धार गरोस् । आफूूलाई तल खस्न नदेओस् । यो मन जीवको मित्र पनि हो र शत्रु पनि हो । जसले मनलाई जितेको छ, उसका लागि मन नै सर्वश्रेष्ठ मित्र हो । जसले मनलाई जित्न सकेको छैन, त्यसका लागि मन नै सबैभन्दा ठूलो शत्रु पनि हो ।’

(उपाध्याय वरिष्ठ मनोचिकित्सक हुन्।)

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट