कर्मचारीलाई प्रहरीले रोकेपछि उपत्यकाका बैंकहरु अनिश्चितकालका लागि बन्द-Sutra News

कर्मचारीलाई प्रहरीले रोकेपछि उपत्यकाका बैंकहरु अनिश्चितकालका लागि बन्द

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- नेपाल बैंकर्स संघले काठमाडौं उपत्यकाका सम्पूर्ण बैंकहरु बन्द गर्ने निर्णय गरेको छ। बैंक वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय आउने क्रममा प्रशासनका कर्मचारीले अभद्र ब्यवहार गरेपछि संघले बैंकिङ सेवा नै बन्द गर्ने निर्णय गरेको हो।



बैंकिङ सेवा अत्यावश्यकीय क्षेत्रभित्र पर्ने भएकाले नेपाल राष्ट्र बैंकले पनि सीमित कर्मचारीमार्फत् सेवा प्रदान गर्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएको थियो। केन्द्रीय बैंकले गृहमन्त्रालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई सहज आवागमनको व्यवस्था गर्न अनुरोध गरेको छ।

काडमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ।

केन्द्रीय बैंकले सम्बन्धित निकायहरुमा अनुरोध गरेपनि बिहीबार बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु कार्यालय आउने क्रममा प्रहरीले रोकेपछि संघले सबै बैंकहरु बन्द गर्ने निर्णय गरेको नविल बैंकका सिइओ अनिल केशरी शाहले बताए।

बैंकका सबै शाखा बन्द भएपछि चेक क्लियरिङको काम पनि रोकिन्छ। यसका साथै अन्तर्राष्ट्रिय ब्यापारका काम पनि नहुने उनले बताए। अब सरकारले जे निर्णय गर्छ, त्यहीअनुसार भोलिदेखि बैंक तथा वित्तीय संस्था खुला हुने उनले बताए।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयअनुसार पनि बैंकिङ सेवा अत्यावश्यक क्षेत्रअन्तर्गत पर्ने भएकाले सीमित कर्मचारीबाट सेवा दिन आग्रह गरेको थियो। तर, सेवा दिनका लागि कार्यालय जाने क्रममा कर्मचारीलाइ बाटोमा रोकेपछि बिहीबारका लागि बैंकिङ सेवा ठप्प भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट