टिभी कार्यक्रम बहिष्कार गर्ने सात चलचित्र संस्थाको निर्णय : ‘एउटा गल्तीविरुद्ध अर्को महागल्ती’-Sutra News

टिभी कार्यक्रम बहिष्कार गर्ने सात चलचित्र संस्थाको निर्णय : ‘एउटा गल्तीविरुद्ध अर्को महागल्ती’

शनिबार, ३१ साउन २०७७

शनिबार, ३१ साउन २०७७

काठमाडौं- नेपाली चलचित्रसँग सम्बन्धित सातवटा संघ संस्थाले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै सम्पूर्ण चलचित्रकर्मीहरुलाई एपिवान टेलिभिजनबाट प्रसारण हुने सञ्चारकर्मी प्रकाश सुवेदीका दुई कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’मा सहभागी नहुन आग्रह गरेका छन् ।



‘चलचित्र, चलचित्रकर्मी र विशेष गरेर नायिकाहरुलाई तुच्छ टिप्पणी गर्ने र हिंसाजन्य क्रियाकलाप गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि सबै चलचित्रकर्मीहरुले ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ कार्यक्रममा प्रस्तुत विषयबाट उब्जिएको विवाद वार्ता वा कानुनमार्फत् नसुल्झिएसम्म कुनै पनि सहभागिता नजनाउनुहुन सम्पुर्ण चलचित्रकर्मीहरुलाई अनुरोध गर्दछौं,’ सात संस्थाले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघको हस्ताक्षर रहेको यो संयुक्त विज्ञप्तीमा पछिल्लो समय विशेष गरेर केही सञ्चारमाध्यममा चलचित्र क्षेत्रमा कार्यरत पेसाकर्मीमाथि लगातार अनर्गल, अशिष्ट, तुच्छ एव अमानवीय र चरित्र हत्या हुने अभिव्यक्ति आइरहेको उल्लेख छ ।

‘अभिव्यक्ति र स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, शारीरिक बनावट अशिष्ट आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनियमात्रै होइन अक्षम्य पनि हुने हाम्रो ठम्याई छ,’ विज्ञप्तीमा लेखिएको छ ।

‘कोही पीडित छ, कसैलाई मानहानी भएको छ भने त्यसको निश्चित कानुनी प्रक्रिया छ। त्यसलाई हेर्ने निकाय प्रेस काउन्सिल छ, त्यहाँबाट चित्त बुझेन भने काठमाडौं जिल्ला अदालतमा गएर मानहानीविरुद्ध रिट हाल्न सकिन्छ, क्षतिपूर्ति माग्न सकिन्छ ।’

एक साताअघि ‘रजतपट’का प्रस्तोता सुवेदीले आफ्नो कार्यक्रममा एक अभिनेत्रीप्रति इंगित गर्दै शारीरिक टिप्पणी गरेका थिए । ‘मैले करिश्मा मानन्धरको पुस्ता पनि देखेँ, रेखा थापा, सञ्चिता लुइटेल आदिको पुस्ता पनि देखेँ । त्यसपछि ऋचा, नम्रता, केकी, नीताहरुको पुस्ता पनि देखियो । हुँदा–हुँदा स्वस्तिमा, आँचल, वर्षा र साम्राज्ञीहरुको अन्तर्वार्ता पनि लिँदै हिँड्नु परेको छ यतिखेर । चार पुस्ता देखेको छु, ठीकै छ, पाँचौँ पुस्ताको अन्तर्वार्ता पनि मेरै खप्परमा लेखेको छ कि, हैन त!’,’ उनी अहंका साथ कार्यक्रममा भनेका थिए, ‘अन्तर्वार्ता दिने पनि आफैँ, बोल्ने पनि आफैँ, नआउने पनि आफैँलाई अनि हामीलेचाहिँ लिएको अन्तवार्ता काटिदिनुपर्ने मिलाई–मिलाई । महानायिका बनाइदिनुपर्ने दारा निस्केको अनुहारलाई । कति हाँस्नु ! ’

कार्यक्रमभित्रै अभिनेत्रीको शरीरलाई लिएर सुवेदीले यस्तो टिप्पणी गरेपछि यो ‘बडि सेमिङ’विरुद्ध धेरैले आवाज उठाए । सर्वत्र आलोचना भएपछि सुवेदी कार्यक्रममार्फत ‘सरी’ समेत भने ।

उता अभिनेत्री पूजा शर्माले उनको यो अभिव्यक्ति आफूप्रति इंगित रहेको फेसबुकमा ‘कति चुप रहने, कति सहने’ भन्ने प्रश्नसहित लामो स्टाटस लेखिन् । आफूले अन्तर्वार्ता दिन नमानेपछि सुवेदीले आफूविरुद्ध शारीरिक टिप्पणीसहित मानहानी गरेको भन्दै चलचित्र कलाकार संघ लगायत थुप्रै संस्थामा न्यायका लागि उजुरीसमेत गरिसकेकी छन् । 

‘के एक पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ? हरेक ट्रोलको शिकारदेखि, यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन नै रहनुपर्ने ?,’ पूजाले प्रश्न गरेकी छन्, ‘अहिले आएर उहाँले मैले कसैको नाम तोकेको छैन भनेर भन्दै हुनुहुन्छ, के यसरी पन्छिन मिल्छ ? म नभए पनि कोही अभिनेत्रीलाई त ‘दारे अभिनेत्री’ भनेर सम्बोधन गरिएकै छ त्यहाँ । हामी कलाकारहरू कहिले सम्म पालैपालो यस्तो अतिबादको शिकार भइरहने ?’’

पूजाको यो प्रश्नपछि प्रकाशको कार्यक्रम प्रस्तुतिविरुद्ध सर्वत्र आलोचना भइरहेकै बेला चलचित्रसँग सम्बन्धित सात संघसंस्थाले उक्त टिभी कार्यक्रम बहिष्कार गर्ने निर्णयसहित निकालेको विज्ञप्तीले भने यतिबेला घटनालाई नयाँ मोड दिएको छ ।

‘यो एउटा भूलविरुद्ध अर्को महाभूल हो,’ सात संस्थाले निकालेको विज्ञप्तीप्रति टिप्पणी गर्दै फिल्मकर्मी मनोज पण्डित भन्छन्, ‘एउटा व्यक्तिलाई ठेगान लगाउन संघसंस्थाले जसरी विज्ञप्ती ल्याएको छ, त्यसले ‘फासिस्ट’ प्रवृत्तिको झल्को दिन्छ । राज्यले नै केही वर्षअघि हटाएको सिन्डिकेट प्रणालीलाई यसले अघोषित तरिकाले निरन्तरता दिएको छ ।’

एउटा प्रवृत्तिविरुद्ध आवाज उठाउँदै अर्को कस्तो प्रवृत्तिको विकास हुन्छ भन्ने कुरा सधैं महत्वपूर्ण रहने उनी बताउँछन् । ‘कुनै पनि संघसंस्था नेपालको कानुन, विधि, प्रक्रियाभन्दा माथि हुन सक्दैनन्,’ उनले भने, ‘त्यसैले कोही पीडित भएको छ भने उसलाई न्याय कानुनले दिन्छ, संघसंस्थाले होइन । संघसंस्था कसैलाई कारबाही गर्नलाई बनेका निकाय होइनन् । हामीले एउटा पीडितको पक्षमा कदम चाल्दै गर्दौ अर्कोलाई पीडित बनाउने मनोविज्ञान बोक्नु हुँदैन । कसैले गल्ती गरेको छ भने त्यसलाई विधि प्रक्रियासम्मत अनुसन्धान गरेर कारबाही गर्ने राज्यको संरचना छँदैछ, त्यसको प्रयोग गरेर पीडितलाई साथ दिनुपर्ने ठाउँमा हामी आफैँले बल प्रयोग गर्न खोज्नु नैतिक र विवेक दुवै पक्षले हाम्रो संघ संस्थाहरु असफल हुनु हो ।’

कुनै पनि व्यक्तिले स्वतन्त्ररुपमा कुनै प्रवृत्ति अर्थात् व्यक्तिविरुद्ध असहमति जनाउन पाउँछ तर संस्थाले बहिष्कार गर्ने कुराकोचाहिँ नैतिक आधार नरहने फिल्म समीक्षकसमेत रहेका पण्डितको टिप्पणी छ । ‘हो, मिडिया प्रस्तुतीकरणमा समस्या भएको छ,’ उनी भन्छन्, ‘ चलचित्र पत्रकारिताभित्र यस्तो प्रवृत्तिको विकास कसरी भयो, मिडियाले सिनेमा र यस क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो हुनुपर्छ, यस्तो बेला संघसंस्थाले यी र यस्ता विषयमा डिस्कोर्स चलाउन सक्थ्यो ।  तर, यहाँ त उल्टै बहिष्कार र तिरस्कारको प्रवृत्ति जन्मियो ।’

तपाईँहरु नेपालको कानुन, विधि र प्रक्रियाभन्दा पनि माथि हो भन्ने सूत्रन्युजको प्रश्नमा उनले उल्टै प्रश्न गरे, ‘हाम्रो फिल्म परिवारलाई गाली गर्नेको कार्यक्रममा नजाऊ भन्न त पाइन्छ होला नि ? मुख छाड्ने, गाली गर्न त पाइएन नि !’

यो विज्ञप्तीको आशय धम्कीपूर्ण रहेको पण्डित बताउँछन् । ‘एक किसिमले यो फिल्मकर्मीप्रति धम्की पनि हो । यो हाम्रो उर्दी हो, मानिनस् भने तँ हाम्रो संस्थाको सदस्य रहन्नस्, भोलि साथ पाउँदैनस् भन्ने आशयले अनुरोध गरिएको छ,’ उनी भन्छन्, ‘हामीकहाँ मिडियालाई दुरुपयोग गर्ने प्रवृत्ति बढेको सत्य हो । तर, यस्तो प्रवृत्तिविरुद्ध संस्थागत शक्ति देखाएर अघि बढ्ने होइन । विवेकपूर्ण निर्णय लिने हो । कसैले अपराध गरेको छ भने त्यसविरुद्ध कानुनी हिसाबले अघि बढ्ने हो । तर, यहाँ एउटा प्रवृत्तिको काउन्टरमा अर्को खतरनाक प्रवृत्ति हाबी देखियो । संस्थाको स्टयाम्प छ भन्दै हामी जे पनि गर्न सक्छौँ भन्ने दम्भ देखियो, जसले यो मुद्दालाई समाधानतर्फ भन्दा पनि झन् भड्खालोमा हाल्ने काम गरेको छ ।’

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगाना पनि संघसंस्थाले विज्ञप्ती निकालेर कुनै पनि सञ्चारमाध्यम, कुनै पनि सञ्चारकर्मीको कार्यक्रममा नजान उर्दी जारी गर्नु, धम्क्याउनु सरासर गैरकानुनी काम रहेको बताउँछन्।

‘यो राम्रो काम होइन,’ उनी भन्छन्, ‘कुनै सञ्चारकर्मीले कहीँकतै काम गर्ने क्रममा कुनै गल्ती गरेको छ अथवा कुनै दण्डनीय काम गरेको छ भने त्यसलाई हेर्ने नेपालका निश्चित कानुनहरु छन्, निश्चित कानुन कार्यन्वयन गर्ने निश्चित निकायहरु छन्, उजुरी लिने निकाय छ, अनुसन्धान गर्ने निकाय छ, कानुनी उपचारको बोटो खोज्नका लागि पीडितले नेपालको कानुनले दिएको अधिकारअनुसार त्यही बाटोमा जानुपर्छ ।’

पत्रकार ढुंगानाका अनुसार कसैले कसैको मानमर्दन गर्‍यो भन्ने आधारलाई टेकेर संघसंस्थाहरुले जसरी कसैलाई एक्ल्याउने हिसाबले एकजुट भएर बहिष्कार गर्ने निर्णय गरेका छन्, त्योचाहिँ एउटाले गरेको गल्तीमाथि अर्को गल्ती थप्नु हो । ‘कोही पीडित छ, कसैलाई मानहानी भएको छ भने त्यसको निश्चित कानुनी प्रक्रिया छ,’ उनी भन्छन्, ‘त्यसलाई हेर्ने निकाय प्रेस काउन्सिल छ, त्यहाँबाट चित्त बुझेन भने काठमाडौं जिल्ला अदालतमा गएर मानहानीविरुद्ध रिट हाल्न सकिन्छ, क्षतिपूर्ति माग्न सकिन्छ । तर, यसरी कोहीमाथि अन्याय भयो भनेर संघसंस्थाले कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीलाई बहिष्कार गर्नु गलत हो । यसलाई तत्काल सच्याउनुपर्छ ।’

यस विषयमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासँग प्रतिक्रिया लिँदा उनले अभिनेत्री शर्माप्रति न्यायिक निर्णय नहुँदासम्म कार्यक्रममा नजान फिल्मकर्मीलाई अनुरोध गरेको बताए ।

तपाईँहरु नेपालको कानुन, विधि र प्रक्रियाभन्दा पनि माथि हो भन्ने सूत्रन्युजको प्रश्नमा उनले उल्टै प्रश्न गरे, ‘हाम्रो फिल्म परिवारलाई गाली गर्नेको कार्यक्रममा नजाऊ भन्न त पाइन्छ होला नि ? मुख छाड्ने, गाली गर्न त पाइएन नि !’

prakash subedi1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट