रिपोर्टरमा जाँगर थपिरहने बलराम सर-Sutra News

रिपोर्टरमा जाँगर थपिरहने बलराम सर

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

मध्य असार २०७३। कान्तिपुर पब्लिकेशन्ससँग ‘इन्टर्नसिप’ सुरु गरेको चौथो महिना लागेको थियो । समाचारका लागि एक दिनअघि लप्सेफेदी पुगेकी थिएँ । समाचार त ल्याएँ । तर न राम्रो मोबाइल, न क्यामेरा थियो । फोटो ल्याउन सकेकी थिइनँ ।



त्यतिखेर मैले बलराम बानियाँलाई समाचार बुझाउनुपर्थ्यो । ‘भोलि फोटो ल्याउँछु,’ भनेँ । तर भोलिपल्ट भारी वर्षा हुन थालेपछि जान सकिनँ । अझ जोरपाटी-साँखु सडक सम्झिँदा पनि दिक्क लाग्दो । सार्वजनिक यातायातले दिउँसो निस्किए त्यहाँ पुगेर आउँदा साँझ होइन, रातै पर्थ्यो। हतपत लप्सेफेदीको गाडी पनि नपाइने ।

पानी परेको दिनको भोलिपल्ट साथीको क्यामेरा लिएर पुगेँ । संयोग, जोसँग एक दिनअघि समाचार संकलनका लागि त्यहाँ पुगेर आएकी थिएँ उहाँहरू बीच बाटोमै भेट हुनुभयो । ‘फोटो नछापिएको प्रति असन्तुष्टि पोख्नुभयो । अनि बल्ल थाहा पाएँ, जुन समाचारको लागि फोटो खिच्न जाँदैछु त्यो त आजको पत्रिकामा छापिइसकेछ ।

बेलुका अफिस आएपछि डराइ–डराइ गुनासो गरेँ, ‘सर, त्यो न्युज त गएछ । अस्ति फोटो ल्याएपछि छाप्ने भन्नुभाथ्यो ।’

‘अनि ल्याउनुभयो त?’

‘हिजो पानी पर्‍यो, अनि ल्याइनँ,’ मेरो जवाफ थियो ।

सधैंझैँ शान्त स्वरमा उहाँले प्रश्न गर्नुभयो, ‘अनि पानी परेको दिन पत्रिका छापिँदैन?’ मसँग बोल्न बाँकी केही थिएन । घोसेमुन्टो लाएर फर्किएँ ।

पत्रिकामा काम गर्ने भएपछि सबैलाई हो कि मलाई मात्र, साँझ नपरी त केही नफुर्ने । कहिले क्यान्टीन गएको छ, कहिले समाचार संकलनका लागि फिल्डमा । तर जति नै छिटो अफिस आए पनि, समाचारका लागि आवश्यक सबैथोक पुगे पनि साँझ नपरी नफुर्ने । कति दिन त ‘आज के लेख्ने’ भन्ने निर्णय नै साँझमा लिइन्थ्यो ।

ठ्याक्कै मिति याद भएन, तर गर्मीको महिना । २-३ बजेको हुँदो हो । मेरो लागि त्यो ‘समाचार लेख्ने समय’ थिएन । बलराम सरले सोध्नुभयो, ‘आज के लेख्दै हुनुहुन्छ त बैनी ?’

एक त त्यत्तिकै उहाँदेखि डर लाग्थ्यो । जहिल्यै म बस्ने कुर्सी पछाडिबाट उहाँ हिँड्दा मनमनै यही प्रश्न नआइदियोस् भन्ने लागिरहन्थ्यो । डरले आँखा पनि जुधाउँदैनथेँ । नदेखेझैँ गरिदिन्थेँ । कतिसम्म डर थियो भने आँखा जुध्यो कि ‘नमस्ते सर’ भनिदिहाल्ने । यस्तैमा एकदिन ‘हैन तपाईँ दिनमा कतिपल्ट नमस्ते गर्नुहुन्छ ?’ भन्ने प्रश्न आएको थियो ।

आफूले लेख्न लागेको न्युजबारे आफैँलाई पनि थाहा हुन्न्थ्यो कहिलेकाहीँ । त्यसैले पनि लेखिसकेर मात्र सिनियरलाई ‘आज यो लेखेँ’ भन्थेँ । योजना सुनाउनुपर्ने मिटिङबाट जसरी हुन्छ भाग्थेँ । लेखिसकेपछि मात्र त्यसमा थप्नुपर्ने वा सुधार्नुपर्ने कुरा सुझावअनुसार मिलाउँथे ।

उहाँले कहिलेकाँही सोध्नुहुन्थ्यो, ‘के छ बहिनी ?’ आजको समाचार के छ भनेर सोध्नुभएको थाहा हुँदाहुँदै जवाफ दिइन्थ्यो, ‘ठीक छ सर ।’ उहाँ फेरि केही सोध्नुहुन्न्थ्यो ।

तर त्यो दिन फेरि नचाहेको प्रश्नको जवाफ दिनुपर्ने थियो । ‘सर, आज त केही छैन,’ डराउँदै जवाफ फर्काएँ।

उहाँको अनपेक्षित प्रश्न आयो, ‘फोटो छ ? अलिक ठूलो खालको ?’

म अक्क न बक्क । सोधेँ, ‘कसको फोटो सर?’

‘तपाईँको । अब न्युज नलेखेपछि तपाईँकै फोटो त छाप्ने होला नि पत्रिकामा,’ उहाँको जवाफ सुनेर आफ्नै बानीदेखि लाज लाग्यो त्यो दिन ।

आज २८ साउन बुधबार, २०७७ । कृष्णाष्टमीको भोलिपल्ट । साथीले दुखद खबर भन्दै फेसबुकमा एउटा समाचारको लिंक सेयर गरिन् । खबर साँच्चै नै दुखद थियो । अत्यन्तै दुखद । बलराम सरको शव भेटिएको बारे । पत्याउनै गाह्रो पर्‍यो । अन्य साइटमा हेरेँ, उही समाचार ।

तीन वर्षअघिको कृष्णाष्टमी सम्झेँ । कान्तिपुरको टप फ्लोरमा रहेको क्यान्टीन । बलराम सर अफिसकै कृष्ण सरसँग चिया खाँदै हुनुहुन्थ्यो । मलाई आग्रह आएपछि स्वीकारेँ ।

म खासै ‘फ्रेन्डली’ त होइन । अझ कार्यालयका वरिष्ठहरूसँग त झनै होइन । त्यसैले पनि चिया–खाजाका मामिलामा प्रायः एक्लै हुन्छु वा मिल्ने मान्छेसँग । कहिलेकाँही समाचार स्रोतसँग पनि । मलाई लाग्छ, कार्यालयमा ‘सहकर्मी’ र ‘वरिष्ठ’ फरक होउन् । किनकि मलाई ‘काम लगाउने’ भूमिकामा रहनेले त्यसै अनुसार ‘अह्राउन सक्ने’ सम्बन्ध बनाएर राख्नुपर्छ ।

कान्तिपुरमा काम गरेको दोस्रो वर्ष चल्दै थियो । मलाई तलब र नामभन्दा पनि काम गर्न ‘डर’को बढी भूमिका हुन्छ । ‘सिनियरले समाचारबारे सोधे भने के जवाफ दिने होला’ भन्ने डर भएन भने कामले गति लिँदैन । आफ्नै पाराले विस्तारै काम गरिरहेकी हुन्छु ।

त्यहाँ दुई वर्ष जति मेरो ‘इमिडिएट सुपरभाइजर’ हुनुहुन्थ्यो बलराम सर । ‘कृष्ण र बलराम सँगसँगै चिया खाएर कृष्णष्टमी मनाउँदै हुनुहुन्छ कि कसो ?’ मैले सोधेँ । तीनै जना एकछिन हाँस्यौं ।

आज २०७७ को कृष्णाष्टमीको दिन उहाँको शव भेटिएको नराम्रो खबर सुनेँ । उहाँबारे आएको समाचार पत्याउन मन छैन । सधैं शान्त देख्थेँ ।  कम र मसिनो बोल्नुहुन्थ्यो । कसैसँग केही गुनासो भए पनि आफैँसम्म सीमित राख्नुहुन्छजस्तो लाग्थ्यो । अरुको लागि थाहा भएन, मेरो लागि भने मैले बिर्सिनै नसक्ने सिनियरका रूपमा हुनुहुन्छ ।

हामीले कसैलाई गुरु नमाने पनि, त्यो भूमिका नदिए पनि धेरै सिक्न पाउँछौं । प्रकाशन पत्रकारितामा पहिलोपल्ट कान्तिपुर दैनिकमा आबद्ध भएपछि उहाँबाट धेरै कुरा सिक्न पाएकी छु । कतिपय कुरा जुन उहाँले सिकाउनुभयो, आजीवन काम लागिरहनेछन् । धेरै यस्ता सम्वाद छन् जसले उहाँलाई सम्झाइरहनेछ।

‘मलाई काम लगाउन सक्ने सिनियर’ का रूपमा सम्झनामा रहिरहनुहुनेछ । जसले समाचार लेख्न सधैं घच्घच्याइरहनुभयो । अल्छी गर्न दिनुभएन ।

उहाँसँगका यी केही घटना मोबाइलको नोट्समा टिपेर राखेकी थिएँ । सोचेकी थिएँ, कुनै दिन उहाँलाई नै सुनाउनेछु । पत्रकारिता हो, पत्रकारका संस्था र पद परिवर्तन भइरहन्छन् । आश थियो, एकदिन फेरि उहाँकै अन्तर्गत रहेर काम गर्न पाउनेछु र यी घटना सुनाउनेछु । सायद त्यतिबेलासम्म उहाँसँगको डर समाप्त भइसकेको हुनेछ र सँगै चिया खाने हैसियत बनाइसकेकी हुनेछु ।

उहाँसँग २०७६ असार मध्यतिरको कुराकानी नै अन्तिम भयो । मैले सम्झेको अन्तिम वाक्य हो, ‘अहिलेलाई काम गर्दै गर्नुस् न ।’ सोचेकी थिइनँ फेरि भेट नहोला भनेर । अलबिदा बलराम सर ।

(शिल्पा कर्णको ब्लगबाट)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट