जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति-Sutra News

जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं–जनता समाजवादी पार्टीले जारी गरेको प्रेस विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। आइतबार (साउन २५ गते) समाजवादी पार्टीले एक विज्ञप्ति जारी गर्दै सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको थियो।



‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ। वर्तमान सरकार बनेदेखि नै संघीय, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्रसहित पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रूपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको बिउ रोप्ने काम गर्दैछ,’ समाजवादीको विज्ञप्तिमा उल्लेख थियो।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार विज्ञप्ति निकाल्दै गर्दै समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिमा रहेका शब्द र भाषाप्रति गम्भीर आपत्ति रहेको जानकारी दिए।

‘सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ‘ पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीकोसमेत ज़िम्मेवारी सम्हालिसकेका,अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोचको दिवालियापन नै हो।’

प्रधानमन्त्रीको आलोचना र गाली कुनै नौलो नभएको उल्लेख गरिएको छ। ‘जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलौज गरिएको सन्दर्भ हो यो कुनै नौलो कुरा होइन। आफ्नो निहित स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन्। अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ।’

शिशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुने उल्लेख गर्दै जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत रहिआएको विज्ञप्तिमा बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट