कांग्रेस पुनर्जागरणका लागि पौडेलले अघि सारे ७ बुँदे दृष्टिकोण-Sutra News

कांग्रेस पुनर्जागरणका लागि पौडेलले अघि सारे ७ बुँदे दृष्टिकोण

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं–कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी पुनर्जागरणका लागि भन्दै सात बुँदे दृष्टिकोण अघि सारेका छन्। नेता पौडेलले सोमबार सामाजिक सञ्जालमार्फत् आफ्नो दृष्टिकोण अघि सारेका हुन् ।



सभापति शेरबहादुर देउवाले पार्टीलाई गति दिन नसकेको भन्दै रूष्ट बन्दै आएका पौडेलले पार्टी एकताका आधार न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता भएको बताएका छन् ।

यस्ता छन् पौडेलका ७ बुँदे दृष्टिकोण 

१. ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले सैद्धान्तिक विचलन नभएको र फराकिलो राष्ट्रवादी विचार पार्टीमा आवश्यक रहेको बताएका छन् ।

२. लोकतान्त्रिक समाजवाद उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन र युवा केन्द्रित रोजगारी सिर्जना गर्दै श्रमको सम्मान गर्ने संस्कृति हुनुपर्ने पनि पौडेलले बताएका छन् । एकीकृत सामाजिक सुरक्षा र सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र हुनुपर्ने पौडेललेको दृष्टिकोण छ ।

३. अर्को बुँदामा नेता पौडेले बहुआयामिक वातावरण मैत्री पर्यटन र प्रतिस्पर्धी बजारसँग गाँसिएको उद्योग–व्यवसाय हुनुपर्ने बताएका छन् ।

४.स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरु आजको आवश्यकता रहेको बताउँदै स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मानसहित गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगर आवश्यक रहेको पनि पौडेलले बताएका छन् ।

५. सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना गर्नुपर्ने पनि पौडेलले बताएका छन् । उनका अनुसार मौलिक हक र विधिको शासनको प्रत्याभुति, भ्रष्टाचार विरुद्ध कठोर संघीय सुशासन, बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति अपनाउनु पर्छ ।

६. सामाजिक–धार्मिक सद्भावका सन्दर्भमा समाजका हरेक समूहबीच सहकार्य गर्नुपर्ने र सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा पौडेलले जोड दिएका छन् ।

७.परराष्ट्र सम्बन्धका सम्बन्धमा पनि आफ्ना दृष्टिकोण राख्दै नेता पौडेलले नेपालको अखण्डता र स्वाभिमानको रक्षा, बलियो अर्थ–कुटनीतिक अभ्यास, भाइचारामा आधारित असंलग्न नीति हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट