टी २० विश्वकपमा कस्तो होला नेपालको प्रदर्शन ? यस्ता छन् सबल र दुर्बल पक्ष !-Sutra News

टी २० विश्वकपमा कस्तो होला नेपालको प्रदर्शन ? यस्ता छन् सबल र दुर्बल पक्ष !

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । आगामी जुन १ देखि अमेरिका र वेष्ट इण्डिजले संयुक्त रूपमा आयोजना गरेको टी २० विश्वकपमा एक दशकपछि फर्किएको नेपाली राष्ट्रिय टोलीले कस्तो प्रदर्शन गर्ला ? सबैको चासोको विषय बनेको छ ।



नेपालले अहिलेसम्म खेलकुद क्षेत्रतर्फ विश्वकपमा सहभागी जनाएको छ भने त्यो हो– टी २० विश्वकप । योबाहेक अन्य कुनै पनि खेलको विश्वकपमा नेपालले स्थान बनाउन सकेको छैन ।

नेपाली टोलीको नेतृत्व टी २० विश्वकप इतिहासकै सबैभन्दा कान्छा कप्तान रोहित पौडेलको काँधमा छ । उनको कप्तानीमा आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल र कमल सिंह ऐरी समावेश छन् ।

बलात्कारको अभियोगमा उच्च अदालत पाटनबाट सफाई पाएसँगै पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने टोलीमा समावेश हुने भएका छन् । उनी टोलीमा फर्किंदा विवेक यादव, विनोद भण्डारी, लोकेश बम आकाश चन्द र सागर ढकालमध्ये एक जना वैकल्पिक खेलाडीका रूपमा स्क्वाडमा समावेश हुने भएका छन् ।

सबल पक्ष

टी २० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी उत्कृष्ट फर्ममा रहनु सकारात्मक पक्ष हो । विश्वकपमा सहभागी हुन अमेरिका जानुअघि घरेलु मैदानमा सम्पन्न वेष्ट इण्डिज ‘ए’विरुद्धको पाँच खेलको टी २० शृङ्खलामा नेपाल दुई खेलमा विजयी भएको थियो । उक्त खेलमा रोहितले टी २० करिअरको आफ्नो पहिलो शतकसहित उत्कृष्ट ब्याटिङ प्रदर्शन पेश गरे । उक्त श्रृङ्खला वेष्ट इण्डिज ‘ए’विरुद्ध रोहित जस्तो देखिएको थियो ।

यता, ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा कतारविरुद्ध खेलको अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका ऐरीले अनेक कीर्तिमान बनाएका छन् । पछिल्लो समय उनी आईसीसीको टी २० विश्व वरियतामा अलराउण्डरतर्फ शीर्ष १० मा पर्न सफल भएका छन् । उनको उत्कृष्ट ब्याटिङ फर्म नेपालको टी २० विश्वकप यात्राका लागि निक्कै महत्त्वपूर्ण रहनेमा दुविधा छैन ।

दोस्रोपटक टी २० विश्वकपमा सहभागी हुने नेपाली टोली बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट देखिएको छ । सन् २०१४ मा तत्कालीन कप्तान पारस खड्का नेतृत्वको टोलीभन्दा अहिलेको टोली निकै उत्कृष्ट रहेको खेल क्षेत्रका जानकारले बताउँदै आएका छन् ।

नेपाली टोलीमा सहभागी खेलाडीमा अहिले अलराउण्डरको संख्या अधिक हुनु पनि टोलीको सबल पक्ष हो । विश्वका एसोसिएट्सतर्फ शीर्ष अलराउण्डर ऐरीसहित स्वयम् कप्तान पौडेल पनि बलिङ र ब्याटिङमा उत्कृष्ट छन् ।

टी २० विश्वकपमा सहभागी नेपाली टोलीका कम्तीमा आठ खेलाडीले बलिङ र ब्याटिङ गर्न सक्नु नेपालको सबल पक्ष हो । योबाहेक पछिल्लो एक वर्ष धेरै अन्तर्राष्ट्रिय म्याच खेल्ने अवसर पाउनु नेपालका लागि अर्को सकारात्मक कुरा हो ।

टी २० विश्वकपमा नेपाली टोलीको सबैभन्दा सबल पक्ष नेपालसहित एउटै समूहमा परेको टोलीहरू हो । नेपाल समावेश समूह ‘डि’मा दक्षिण अफ्रिकाबाहेक बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स समावेश छन् ।

नेदरल्यान्ड्स नेपालभन्दा बरियतामा अगाडि भए पनि यसअघि पटकपटक प्रतिस्पर्धा गरेको परिचित टोली हो । नेपालले यो टोलीसँग खेलेको खेलमा पराजित गर्दै आएको पनि थियो । बंगलादेश र श्रीलंकासमेत कमजोर फर्मका कारण टी २० विश्वकप क्वालिफाएर खेलेर विश्वकपमा स्थान बनाएका कारण नेपालले बिना दबाब खेले दक्षिण अफ्रिकाबाहेक अरु टोलीलाई पराजित गर्न कठिन असम्भव देखिँदैन । दक्षिण अफ्रिका यो समूहको सबैभन्दा बलियो टोली हुनाले नेपाललाई ठूलो सहयोग पुर्‍याएको छ ।

एशियाकपमा औपचारिक सहभागिताको क्रममा विश्व क्रिकेटका ‘पावर हाउस’ पाकिस्तान र भारतसँगको खेलमा समेत नेपालले दबाब दिएको थियो । यी टोलीसँगको खेलपछि नेपालले जस्तोसुकै बलियो टोलीलाई पनि पराजित गर्ने कुरा अन्तर्राष्ट्रिय क्रिकेटका जानकारले स्वीकार गर्न थालेका छन् । यी दुई देशसँग भएको खेलमा नेपाल पराजित भए पनि ठूलो दबाब दिएको थियो ।

विश्वकप सुरु हुनुअघि नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान)ले पनि महत्वपूर्ण अग्रसरता लिएको छ । टी २० विश्वकपभन्दा एक महिनाअगाडि अमेरिका भ्रमण गराएर स्थानीय हावा पानीसँग घुलमिल तथा अभ्यास खेलका कारण नेपाली टोलीलाई सहयोग पुग्ने छ ।

दुर्बल पक्ष

नेपाली टोलीको दुर्बल पक्षको कुरा गर्दा कप्तान रोहित पौडेलबाटै सुरु गर्नु पर्ने हुन्छ । टी २० क्रिकेट आक्रमक शैलीमा खेलिने खेल हो । तर, टोलीका कप्तान पौडेलको आक्रमकताको कमी सबैभन्दा ठूलो दुर्बल पक्ष मानिएको छ ।

यसका अतिरिक्त नेपालको दुर्बल पक्षको चर्चा गर्दा दबाबमा ब्याट्सम्यान टिक्नै नसक्नु हो । यदि, ‘पावर प्ले’मा नेपालले दुई वा सोमाथि विकेट गुमायो भने नेपालको कप्तान पौडेलबाहेक अन्य ब्याट्सम्यानले विपक्षी टोलीमाथि खेल्न सक्दैनन् । यो नेपालको सबैभन्दा कमजोर पक्ष हो ।

त्योबाहेक क्यान र आईसीसीको हेपाहा प्रवित्तिले टी २० विश्वकपअगाडि टेष्ट मान्यता प्राप्त राष्ट्रसँग अभ्यास खेल खेल्न नपाउनु नेपाली टोलीको दुर्बलता मानिएको छ । टेष्ट मान्यता राष्ट्रसँग अभ्यास खेल खेल्न नपाउने नेपाल एक्लो टोली हो ।

विश्वकपअघि नेपालले खेल्न पाएको सबैभन्दा ठूलो टोलीसँगको अभ्यास खेल भनेको वेष्ट इण्डिज एविरुद्ध घरेलु मैदानमा खेलेको पाँच खेलको टी २० शृङ्खला हो । टेष्ट मान्यता प्राप्त ठूला राष्ट्रविरुद्ध अभ्यास खेल खेल्न नपाउनु नेपालको दुर्बल पक्षमध्ये एक हो ।

औसत बलिङ र ब्याटिङ पनि नेपाली टोलीको ठूलो कमजोरी हो । कुनै बेला एसोसिएट्स टोलीमध्ये उत्कृष्ट बलिङ रहेको नेपाली बलिङको स्तर अहिले खस्किएको छ । स्टार लेग स्पिनर लामिछाने नेपाली बलिङ स्क्वाडमा सहभागी हुनु सबैभन्दा ठूलो कुरा भए पनि उनीमाथि मात्रै भर पर्ने अवस्था छैन । लामो समय क्रिकेट खेल्न नपाएका उनी अदालतबाट सफाई पाएसँगै अभ्यासमा जुटेका छन् । बलिङमा उनीमाथि भर पर्नु पनि दुर्लब पक्ष हुन सक्छ ।

नेपालको ब्याटिङमा कप्तान पौडेल र अलराउण्डर ऐरीबाहेक अन्य ब्याट्सम्यानको खराब फर्म तथा मंगोलियाविरुद्ध टी २० इतिहासकै सबैभन्दा ठूलो स्कोर बनाउनुका बाबजुद नेपालका शीर्ष ब्याट्सम्यानको खराब फर्म सबैभन्दा चिन्ताजनक विषय हो ।

आगामी जुन ४ मा अमेरिकामा चिर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले आफ्नो दोस्रो टी २० विश्वकप यात्रा सुरु गर्दा १२ जुनमा अमेरिकामै श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दा बंगलादेशविरुद्ध १७ जुनमा वेष्ट इण्डिजमा प्रतिस्पर्धा गर्दा समूह चरणको अन्तिम खेलमा १५ जुनमा दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।

पाँच टोली सहभागी ग्रुपमा शीर्ष दुईभित्र रहे नेपाल टी २० विश्वकपको अघिल्लो चरणमा प्रवेश गर्ने छ । शीर्ष दुईभित्र पर्न नसके विश्वकप यात्राको औपचारिक अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट