

काठमाडौं। अधिकांश नेपाली कलाकारको सपना हो– बलिउडहुँदै हलिउड । केही बलिउडसम्म पुगेका पनि छन्, केही सपना पुरा नभएपछि मुम्बईबाट निराश हुँदै नेपाल फर्किएका छन् । यो त भयो नेपालका कलाकारका कुरा । तर, पछिल्लो समय विदेशी कलाकार पनि नेपाली फिल्ममा आकर्षित देखिएका छन् । यसको ताजा उदाहरण हो, बेलायती अभिनेता जेमी बेकनको नेपाल डेब्यु ।
बेलायतका अभिनेता रहेका बेकन नेटफिल्क्स स्टारका रुपमा चिनिन्छन् । उनी अभिनित नेटफ्लिक्स सिरिज ‘ह्वाइट लाइन्स’ र फिचर फिल्म ‘ब्राइटन’ चर्चामा आएको थियो । नेपाली कलाकारले विदेशी फिल्म ताकिरहेका बेला बेलायती अभिनेता बेकनको नेपाल डेब्युले नेपाली फिल्म वृत्तमा बेग्लै तरंग ल्याएको छ ।
यो फिल्ममा बेकनलाई डेब्यु गराउन पाउँदा यसका निर्देशक प्रदिप शाही खुशीले गद्गद् छन् । उनको डेब्युको खबर उनले खुशी हुँदै सामाजिक संजालमा सेयर गरेका छन् । उनले यो फिल्मबाट नेपाली र बेलायती फिल्मबीचको सम्बन्ध निर्माण गर्न मद्दत पुग्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उद्धेश्यका साथ निर्माण गर्न लागिएको साइन्स फिक्स विधाको फिल्म ‘एक्लो’मा बेकमसँगै नेपाली अभिनेता प्रदिप खड्कासमेत अनुबन्धित भएका छन् । बिहिबारबाट रिलिज हुने ‘पुजार सार्की’मा दलित पात्रको भुमिका निर्वाह गरेका प्रदिप यो फिल्ममा पनि विल्कुलै फरक अवतारमा देखापर्ने बताइएको छ । फिल्ममा अभिनेता प्रदीपसँगै अभिनेत्री बेनिशा हमाल, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, कविता नेपाली, दीया पुनलगायत कलाकार पनि अनुबन्धित भइसकेका छन् ।
‘एक्ला’का निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन् । त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए । यसअघि उनले ‘गोर्खाः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।
शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। हाल यो फिल्मको सेट डिजाइन र प्री प्रोडक्सनको काम भइरहेको छ । यो फिल्मका कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीका अनुसार यो फिल्मको छायाँकनका लागी नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भइरहेको छ। फिल्म साउनको अन्तिमबाट छायाँकनमा जाने तयारीमा रहेको छ।