त्रिविमा प्राध्यापक र पोखरामा विद्यार्थीसँग अविलम्ब सम्बाद गर्न कांग्रेसको माग-Sutra News

त्रिविमा प्राध्यापक र पोखरामा विद्यार्थीसँग अविलम्ब सम्बाद गर्न कांग्रेसको माग

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं- कांग्रेसले अनशनरत विद्यार्थीहरूसँग सम्बाद गरेर माग पूरा गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिविमा प्राध्यापक र पोखरामा विद्यार्थीसँग अविलम्ब सम्वाद गरेर आन्दोलनका माग पूरा गर्न माग गरेको हो।



‘विद्यार्थीको भावना प्रतिनिधित्व गरेर विभिन्न जायज माग अघि सारेर अनशनमा बसेका विद्यार्थीहररूसँग अविलम्ब सम्वाद गर्न र माग पूरा गर्न नेपाली कांग्रेस सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समयमा भइरहेकोे अनियमितता र चरम राजनीतिकरण एवम् पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १८ दिनदेखि जारी विद्यार्थीहरूको अनशनप्रति सरकारी बेवास्तालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको प्रवक्ता शर्माले बताएका छन्।

सरकारबाट नियुक्त त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरूपको गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो भन्दा विसंगतिपूर्ण द्वन्द्वको खेल मैदान बन्दै गएको कांग्रेसले बताएको छ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले त्रिविलाई प्राज्ञिक सुशासनको केन्द्र बनाऔं भन्ने उद्घोष साथ प्राज्ञिक, शैक्षिक एवम् प्रशासनिक पदको नियुक्ति राजनितिक भागवण्डामा नगरि जेष्ठता र प्राज्ञिक वरिष्ठताको आधारमा निश्चित मापदण्ड पारदर्शी ढंगले निर्धारण गरि नियुक्ति गर्नु पर्ने लगायतका ३३ बुँदे माग अघि सारेर दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

अध्यक्ष सह प्रा. जगत तिमिल्सिना र महासचिव सह प्रा. राजेन्द्र गौतम माथिको मुद्दा अविलम्ब फिर्ता लिएर वार्ता र सम्वादद्वारा समस्याको समाधान गर्न कांग्रेसले सरकार र त्रिवि प्रशासन समेतलाई आग्रह गरेको छ। विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर भनेर दबाब दिँदै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट