कोरोना नियन्त्रणमा सरकार असफल, आफ्नो सुरक्षा आफैँ गरौँ : कांग्रेस-Sutra News

कोरोना नियन्त्रणमा सरकार असफल, आफ्नो सुरक्षा आफैँ गरौँ : कांग्रेस

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसले इतिहासमा वर्तमान सरकारजस्तो संवेदनहीन कहिल्यै नदेखिएको बताएको छ। कोभिड-१९ अनुगमन समितिले सोमबार पार्टी मुख्यालयमा गरेको पत्रकार सम्मेलनमा कांग्रेसले मुलुक कोरोना भाइरसको मारमा रहेका बेला सरकार सत्ताको खिचातानीमा रमाइरहेको बताउँदै वर्तमान सरकारजस्तो संवेदनहीन इतिहासमा नभएको बताएको हो।



‘लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरूको इतिहासमा यस्तो संवेदनहीनता कहिल्यै देखिएन। भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको सरकार विचौलियातन्त्रको कठपुतली बनेको छ। पछिल्लो दिनमा लगानी बोर्डमा गरिएको नियुक्ति यसको नाङ्गो रूप हो। यसरी आफ्ना निजी स्वार्थ पूर्ति गर्न रमाइरहेको वर्तमान सरकार र सत्ताधारी दलबाट जनताले कुनै आशा राख्ने ठाउँ नरहेको स्थिति छ,’ समितिका संयोजक डा. प्रकाशशरण महतले भने।

कोरोनाको बढ्दो संक्रमणका कारण मुलुकमा स्वास्थ्य संकट र जीविकालाई जोखिममा पार्ने आर्थिक संकटको बीचमा रहेको बताउँदै महतले संकट सम्बोधनमा भने सरकार अकर्मण्य, नालायक र गैरजिम्मेवार देखिएको पनि बताए।

कांग्रेसले सरकारले कोरोना भाइरस नियन्त्रण गर्न सकिने परिस्थिति हुँदाहुँदै पनि देशभर कोभिड-१९ संक्रमण फैलिँदै गएकोप्रति चिन्ता प्रकट गरेको छ। कोरोना भाइरस नियन्त्रणका लागि कांग्रेसले १३ बुँदे माग सरकारसमक्ष पनि राखेको छ।

यस्ता छन् कांग्रेसका मागहरू

१. देशको शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरू लामो समय जोखिममा रहने अवस्था रहेको बताउँदै कांग्रेसले जोखिम न्यून गर्ने उपायतर्फ सरकार गम्भीर बन्नुपर्ने माग रखेको छ।

२. सम्भावित संक्रमितहरूलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गर्न पनि कांग्रेसले माग गरेको छ।

३. यस्तै संक्रमण समुदायमा गैसकेको स्थिति भएकाले सम्भावित संक्रमित ठाउँहरूको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा बढाउन पनि सरकारसँग माग गरेको छ।

४. पूर्ण लकडाउन देशले धान्न नसक्ने हुनाले परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गर्न कांग्रेसको अर्को माग छ।

५. विदेशमा रोजगार गुमाएका नेपालीहरूलाई नियमित उडान गरी सस्तो दरमा स्वदेश फर्काउने व्यवस्था गर्दै उनीहरूलाई व्यवस्थित होल्डिङ सेन्टरमा राख्न पनि कांग्रेसले माग गरेको छ। यसका लागि सम्बन्धित कूटनीतिक निकायहरूलाई परिचालन गर्न सकिने कांग्रेसको भनाइ छ।

६. समुदायमा संक्रमण विस्तारसँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्यु दर बढेको बताउँदै कांग्रेसले तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाउन माग गरेको छ।

७. आवश्यक संख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरूको चाहिँदो व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको छ।

८. स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरूको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गर्दै विमाको व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन समेत माग गरेको छ।

९. कोभिड-१९ सम्बन्धित स्वास्थ्यकर्मीहरूको अभाव देखिएको र भविष्यमा थप स्वास्थ्यकर्मीहरूको आवश्यकतालाई समेत ध्यानमा राखी तत्काल आवश्यक तालिमको व्यवस्था मिलाई स्वास्थ्यकर्मीहरूको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गर्न कांग्रेसले माग गरेको छ।

१०. क्वारेन्टाइन केन्द्रहरूलाई मापदण्ड अनुसार बनाउने व्यवस्था गर्नुपर्ने बताउँदै त्यसको लागि आवश्यक आर्थिक सहयोग स्थानीय निकायहरुलाई दिनुपर्ने माग गरेको छ।

११. वीरगञ्ज लगायतका अन्य ठाउँहरूमा उपचारको उपचारको ढोका बन्द हुँदा मानिसहरू मर्नु परेको घटनाप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले यस्तो अवस्थाको अन्त्य गर्न माग गरेको छ।

१२. कोभिड–१९ रोकथामका लागि विभिन्न औषधिहरूको प्रभावकारिताका आधारमा प्रयोग भैरहेको बताउँदै कांग्रेसले त्यसको निर्णय उपचारमा संलग्न विज्ञ डाक्टरहरूले गर्ने रसरकारले त्यस्ता औषधि तथा अन्य स्वास्थ्य उपकरणहरुको आयात निजी क्षेत्रलाई खुला गर्नुपर्ने माग राखेको छ।

१३. कोभिड-१९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्णरूपमा असफल भएको कांग्रेसले बताएको छ। तत्काल कोभिड-१९ नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी दिन माग गर्दै स्वास्थ्य मन्त्रालयमासमेत योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गरिदा नेतृत्व अप्रभावकारी देखिएको बताएको छ। कांग्रेसले वरिष्ठता र व्यवसायिकताका आधारमा स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिन सरकारसँग माग गरेको छ।

कोभिड-१९ संक्रमणको बढ्दो जटिलतालाई ध्यानमा राखी तत्काल कार्यान्वयन गर्न माग गर्दै कांग्रेसले सरकार संवेदनशील नभएर संक्रमणले व्यापक रूप लिन सक्ने बताएको छ। सरकारको भरोसा धेरै गर्न नसकिने भएकोले आफ्नो सुरक्षामा आफै सजग हुने र अरूलाई पनि सजग हुन आह्वान गर्दै कोभिड-१९ का कारण समस्यामा परेका नागरिकहरूलाई सक्दो सहयोग गर्नसमेत पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट