कोरोनासम्बन्धी खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको मोडर्नाको दाबी-Sutra News

कोरोनासम्बन्धी खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको मोडर्नाको दाबी

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

वासिङ्टन- अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ।



खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ।

खोपका कारण नाकमा कोरोनाभाइरस बढ्न रोकिनुको अर्थ नाक हुँदै शरीरका भित्रि भागमा कोरोनाभाइरस संक्रमित हुनेक्रम रोकिने अध्ययनको निचोड छ।

अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप बाँदरमा परीक्षण गर्दा यस्तो नतिजा प्राप्त भएको थिएन। तर खोपले पशुको फोक्सोमा कोरोनाभाइरस प्रवेश गर्नबाट भने रोक्न सफलता प्राप्त भएको थियो। कोरोनाभाइरस फोक्सोमा पुगे त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याउन सक्छ।

मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरहरुलाई विभक्त गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो। पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई १०० माइक्रोग्रामका डोज दिइएको जर्नलमा उल्लेख छ।

खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोनाभाइरसलाई निस्तेज बनाउने एन्टीबडी तयार भएको थियो।

मोडर्नाले तयार पारेको खोप र अक्सफोर्ड विश्वविद्यालय एवं अस्ट्रजेनिकाले संयुक्त रुपमा विकास गरेका खोपहरु अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन्।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट