साउन ८ गतेदेखि सार्वजनिक यातायात चलाउने सहमति-Sutra News

साउन ८ गतेदेखि सार्वजनिक यातायात चलाउने सहमति

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

काठमाडौं- आगामी बिहीवारबाट सार्वजनिक यात्रुवाहक सवारी सञ्चालन हुने भएको छ। यातायात व्यवसायीहरु आगामी साउन ८ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न सहमत भएका हुन्।



राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् पुनर्कर्जालगायत बैंकिङ विषयमा सम्बोधन गरेको तथा चालक सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र व्यवसायीले आधा आधा व्यहोर्ने सहमति जुटेपछि व्यवसायीहरू बस सञ्चालन गर्न सहमत भएका हुन्।

सार्वजनिक यातायात सञ्चालनको विषयमा सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, तिनवटा ट्रेड युनियनहरू नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ, महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएको थियो।

उक्त छलफलमा यातायात श्रमिकहरूको समूहिक कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधा आधा भुक्तानी गर्ने निर्णय भएको थियो।

त्यस्तै यातायात सञ्चालन गर्न श्रमिकहरुको हकमा उनीहरुको कोरोनाको कारण मृत्यु भएमा मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने, यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाइजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले उपलब्ध गराउने, लामो, छोटो र मध्यम दूरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभागमार्फत‍् सम्बन्धित मन्त्रालयमा सिफारिस गर्नेलगायतका विषयमा सहमति भएसँगै व्यवासायीहरु यातायात सञ्चालनमा राजी भएका हुन्।

एक जिल्लाबाट अर्का जिल्लामा जान नपाईने तर एक जिल्लाका लागि सार्वजनिक यातायात सञ्चालन गर्न पाइने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट