दुर्घटनामा घाइते बस धनीको मृत्यु, यात्रुहरूको उपचार हुँदै-Sutra News

दुर्घटनामा घाइते बस धनीको मृत्यु, यात्रुहरूको उपचार हुँदै

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ ।



बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगर ४ निवासी ४६ वर्षीय विकको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । दाङबाट पूर्वी रुकुमतर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका २ ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो । विक सोही दुर्घटनाग्रस्त बसका बस धनी हुन् ।

बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चार जनालाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते रहेका तीन जना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट