राप्रपाको आन्दोलनमा घाइते ठाकुरप्रसाद डाँगीको निधन-Sutra News

राप्रपाको आन्दोलनमा घाइते ठाकुरप्रसाद डाँगीको निधन

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।



अश्रुग्यास प्रहारपछि घाइते डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

६५ वर्षीय डाँगी राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका हुन् ।

डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । अश्रुग्याँसले लागेपछि उनको स्वास्थ्य अवस्था झनै गम्भीर बनेको थियो ।

मृतक डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए ।

सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले चैत २७ गते काठमाडौंको भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो।

उक्त घटनामा राप्रपा ३० जनाभन्दा बढी मानिस घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट