‘महाजात्रा’लाई ‘जारी’को रेकर्ड ब्रेक गर्न अझै ३ करोड कमाउनु पर्ने-Sutra News

‘महाजात्रा’लाई ‘जारी’को रेकर्ड ब्रेक गर्न अझै ३ करोड कमाउनु पर्ने

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘महाजात्रा’ शुक्रबारबाट प्रदर्शनको चौथो सातामा प्रवेश गर्दै छ। चैत्रको ९ गतेबाट प्रदर्शनमा आएको फिल्मलाई दर्शकले झनै उत्साहजनक रूपमा साथ दिइरहेको देखिन्छ । तेस्रो सातामा फिल्मले बक्स अफिसमा बम्पर व्यापारलाई कायमै राखेको छ ।



दुई सातामा १० करोड १४ लाख ग्रस कलेक्शन गरेको फिल्मले तेस्रो सातामा करिब ४ करोडको व्यापार गरेको छ । नयाँ वर्षमा पनि फिल्मले हलमा राम्रो शोज पाएको छ । दर्शकको बाक्लो उपस्थिति झनै बढेका कारण यो फिल्म अझै केही साता हलमा चल्नेछ । जसको फाइदा यसको व्यापारिक आँकडामा थप हुँदै जाने देखिन्छ । यता, यो फिल्म ब्लकबस्टर समेत हुन पुगेको छ । फिल्मले नेपाली बक्स अफिसमा मात्र होइन, ओभरसिजमा पनि आक्रामक कमाई गरिरहेको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्म ‘महाजात्रा’ले तेस्रो सातासम्म नेपाली बक्स अफिसमा १४ करोड र ओभरसिजमा ९ करोड कमाई गरेको छ ।

फिल्म ‘महाजात्रा’बाट निर्देशक प्रदीप भट्टराईले ‘शत्रु गते’ले कमाएको १४ करोडको व्यापारको आँकडा तोड्ने पक्का भएको छ । यस्तै, यो वर्ष सर्वाधिक कमाई गर्ने फिल्ममा ‘जारी’ पर्दछ, यता ‘महाजात्रा’को व्यापारिक रफ्तार हेर्दा यो रेकर्ड ब्रेक हुने देखिन्छ । ‘जारी’ ले करिब साढे १७ करोड ग्रस कलेक्शन गरेको थियो । अब, ‘महाजात्रा’लाई यो रेकर्ड ब्रेक गर्नका लागि साढे ३ करोड माथिको ग्रस कलेक्शन आवश्यक छ ।

तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

षट्कोण आर्ट्सको प्रस्तुति रहेको फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्म ‘महाजात्रा’को टिमले वि.सं २०८२ सालको दशैंमा नयाँ फिल्म रिलिज गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट