दुबईमा नेपालीले २५ करोडमा खोलेको क्लबमा कन्सर्ट गर्दै मंगालियन हार्ट-Sutra News

दुबईमा नेपालीले २५ करोडमा खोलेको क्लबमा कन्सर्ट गर्दै मंगालियन हार्ट

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । युएईस्थित बरदुबईमा करिब २५ करोडको लगानीमा नेपालीले खोलेको नाइट क्लबको उद्घाटनको अवसरमा मंगोलियन हार्टले कन्सर्ट गर्ने भएको छ । केही समयअघिमात्रै अष्ट्रेलिया,दक्षिण कोरिया र पोखरामा आफ्नो प्रस्तुतिमार्फत माहोल तताएको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले अब युएइको दुबईमा वृहत कन्सर्ट गर्ने भएको हो ।



ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाका अनुसार क्लब एस के सेभेनको वृहत उद्घाटनको अवसरमा आगामी शनिबार मे ४ तारिखका दिन प्रस्तुति दिने तय भएको छ । ‘संसारभर नेपालीहरुले विभिन्न माध्यमबाट नेपाली संगीतको प्रवद्धन गरिरहेका छन् । बर दुबईमा नेपाली साथीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो । सुरुवात हामीबाटै हुँदैछ,’ म्यानेजर लामाले भने । उक्त क्लबका लगानीकर्ता काठमाडौंका सरोज विष्ट हुन्, जो १३ वर्षदेखि दुबईमा व्यावसायी गर्दै आइरहेका छन् ।

गायक राजु लामा ‘फ्रन्ट म्यान’ रहेको यो ब्यान्डले कार्यक्रममा आफ्ना लोकप्रिय पुराना गीतहरु प्रस्तुत गर्ने तयारी छ । युएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेश्रो कन्सर्ट हो । युएईमा दर्शकहरुको माग बढी भएका कारण तेश्रो पटक कन्सर्ट भएको हो ।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट