एकसाथ तीन अनुहारलाई डेब्यु गराउँदै विराज भट्ट-Sutra News

एकसाथ तीन अनुहारलाई डेब्यु गराउँदै विराज भट्ट

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एक्सन नायकका रुपमा चिनिएका विराज भट्टले भोजपुरी फिल्ममा समेत आफूलाई बेग्लै पहिचान बनाइसकेका छन् ।



विराज नेपाली फिल्मका लोकप्रिय अभिनेतामध्ये एक हुन्, भने भोजपुरी फिल्ममा एक्शन स्टारको रूपमा लोकप्रिय छन् । उनले थारु फिल्ममा पनि काम गरेका छन् ।

नेपाली फिल्ममा लामो समयसम्म काम गरेका उनले एक्सनमा पृथकता ल्याउन भारी मेहेनत गरेका थिए । खुकुरी फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेका उनले सयौँ फिल्महरु अभिनय गरिसकेका छन् । पहिलो फिल्मको क्रेडिटमा भने उनको सहायक भूमिका थियो ।

नेपाली फिल्म क्षेत्रमा दशकौँ बिताएर भोजपुरी फिल्ममा होमिएका उनले २०७६ सालमा प्रदर्शन भएको फिल्म ‘साङ्लो’ निर्माण तथा निर्देशन गरेर नेपाली फिल्ममा पर्किएका थिए । उनको यो पहिलो डेब्यु निर्देशन फिल्म थियो ।

फिल्म साङ्लोमा आफै मुख्य भूमिकामा रहेर काम गरेका उनले निर्माण र निर्देशनका हिसाबले दोस्रो फिल्मका रुपमा ‘१२ गाउँ’ लिएर आउने तयारी गरिरहका छन् । यो फिल्ममा विराज आफै मुख्य भूमिकामा अभिनय गर्न लागेका छन् । उनले आफैसँगै यस फिल्ममार्फत एकैपटक तीन जनालाई पनि डेब्यु गराउँदै छन् ।

जसमा उनले आफ्नै छोरा समिरलाई अनुबन्धित गराएर डेब्यु गराउँदै छन् । भारतमा बसेर अभिनयको कक्षा लिँदै आएका छोरालाई फिल्ममा डेब्यु गराउने खबरले निकै चर्चा कमाएको छ । समिरले फिल्ममा अभिनय नगरी एक स्टारको रुपमा परिचित भइसकेका छन् ।

समिरले बाह्र गाउँपछि सन्तोष सेनले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म बलिदानमा पनि अनुबन्धित भइसकेका छन् । उनको अब पहिला कुन डेब्यु फिल्म हुन्छ ? त्यो प्रदर्शनका हिसाबले तय हुनेछ । तर, छायांकनका हिसाबले उनी पहिला बाह्र गाउँमा काम गर्दै छन् ।

यता, विराजले समिरसँगै यो फिल्मबाट २०२२ की मिस नेपाल इन्टरनेशनल विजेता न्यान्सी खड्कालाई पनि अनुबन्धित गराएर डेब्यु गराउँदै छन् ।

यसैगरी विराजले छोटो समयमै म्युजिक भिडियोबाट आफ्नो अभिनयले सबैको मन जित्न सफल भएकी अर्की मोडल सनिशा भट्टराईलाई आफ्नो फिल्मबाट डेब्यु गराउँदै छन् । यसरी एउटै फिल्ममा विराजले तीन जना नयाँ अनुहारलाई डेब्यु गराउन गइरहेका छन् ।

सन् २०२४ मा रिलिजको लक्ष्य राखिएको फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । विराजले यो फिल्मलाई आफ्नो करिअरकै महत्वाकांक्षी प्रोजेक्टको रुपमा समेत व्याख्या गरेका छन् ।

पछिल्लो समय फिल्ममा सकेसम्म स्टारकास्टलाई लिएर फिल्म बनाउने चलन छ । तर, विराजले फिल्म क्षेत्रमा नयाँ अनुहार राखेर निकै ठूलो रिक्स लिन खोजिरहेको देखिन्छ । जुन हिसाबले उनले तयारी गरिरहेका छन् । यसमा सफल होलान् या नहोलान् ? यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट