‘डिग्री माइला’लाई देशभर २ सय ४० शोज, ५ करोड व्यापार गर्ने अनुमान-Sutra News

‘डिग्री माइला’लाई देशभर २ सय ४० शोज, ५ करोड व्यापार गर्ने अनुमान

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । यस वर्षको अन्तिम दिन अर्थात् शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को अग्रिम बुकिङ ओपनिङ सुरु भइसकेको छ। यो फिल्मलाई देशभरका फिल्म हलहरुले उच्च शोज दिएका छन् । बुधबारदेखि नै देशभरका हलमा यो फिल्मको बूकिङ खुल्ला भइसकेको छ।



वर्षकै प्रतिक्षित फिल्म बन्न सफल भएको ‘डिग्री माइला’ले यो समाचार तयार पर्दा सम्ममा पाएको शोज हेर्ने हो भने, देशभर २ सय ४० शोज पाएको छ । यो शोज संख्या थपिने अनुमान छ। फिल्मलाई मिलेको उच्च शोजबाट ‘डिग्री माइला’ले बक्सअफिसमा सुनामी ल्याउने संकेत गरेको छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रबारका लागि मात्रै ९ सहरमा ६० शोज उपलब्ध गराएको छ । क्यूएफएक्सले काठमाडौं उपत्यकामा २४ र बाहिरका हलमा ३६ शोज उपलब्ध गराएको छ ।

यस्तै, देशको दास्रो ठूलो चेन आइएनआईले आफ्नो ३ वटा आउटलेटमा २१ शो दिएको छ । यता अन्य मल्टिप्लेक्सले यो फिल्मलाई उच्च संख्यामा शो दिएका छन् । ‘डिग्री माइला’लाई बीग मुभिजले ११ शोज दिएको छ । चाबहिलमा रहेको एफक्यूबले ९ शोज, वान सिनेमाज्ले दुई वटा आउटलेटमा १५ शो दिएको छ । नयाँ बानेश्वरको अडिटोरियममा ९ र कालिमाटीमा रहेको अडिटोरियममा ७ शोज उपलब्ध गराएको छ । यसैले, चैत्र ३० गतेबाट यो फिल्मले बम्पर ओपनिङ गर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

फिल्मका वितरक गोविन्द शाहीले ‘डिग्री माइला’ले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरिएको बताए । उनले शुक्रबार २ करोड ५० लाख माथि र शनिबार ३ करोड बढिको व्यापार गर्ने अनुमान गरिरहेको जानकारी दिए ।

यसअघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी-४’ले रिलिजको पहिलो शनिबार ३ कोरड बढिको व्यापार गरेको बताउँदै ‘डिग्री माइला’को हाइप अनुसार यो आँकडा अनुमान गरिएको बताए ।

ट्रेलर रिलिज भएयता दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । वर्षको सुरुवातमा ‘जारी’ले ल्याएको व्यापारिक उछाललाई ‘डिग्री माइला’ले पनि सुखद् अन्त्य दिने रुझान देखाएको छ ।

फिल्मले शैक्षिक बेरोजगारीको कथालाई उठाएको छ । यसअघि यो कथामा अभिनेता दयाहाङ राईको निर्देशनमा केही वर्ष अगाडि‘डिग्री माइला’ नाटक बनेको थियो ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ र आँचल शर्मा जोडीको रुपमा छन् भने प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।

यो फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट