बुवाको अन्तिम संस्कार सकेर जाँदा त्रिशूलीमा बेपत्ता दिवश भेटिए-Sutra News

बुवाको अन्तिम संस्कार सकेर जाँदा त्रिशूलीमा बेपत्ता दिवश भेटिए

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । बुवाको अन्तिम संस्कार गरेर घर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर बेपत्ता भएका१८ वर्षीय दिवश रोकाको शव फेला परेको छ । गोरखा फर्किंदै गर्दा त्रिशूलीमा बेपत्ता भएका उनको आज बिहान शव फेला परेको हो ।



गत १७ चैत बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको थियो । दुर्घटनामा दिवस बेपत्ता भएका थिए भने पाँच जनाको शव भेटिएको थियो ।

बेपत्ता भएको पाँच दिनपछि सशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा शव फेला पारेको हो । शव फेला परेपछि आफन्तलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।

आफन्त तथा जनप्रतिनिधिको रोहवरमा शवको मुचुल्का गरी प्रारम्भिक अनुसन्धान सकेर शव परीक्षणका लागि गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गत १६ चैतमा क्यान्सरबाट मृत्यु भएका बुवा शंकरको अन्तिम संस्कार गरेर गोरखा फर्कने क्रममा ट्याक्सी दुर्घटनामा भएको थियो ।

दुर्घटनामा गोरखा नगरपालिका ७ का ९ वर्षीय बालक आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अञ्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिर्मलको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट