लिम्बूको उम्मेदवारी घोषणाका लागि लामिछानेसहित रास्वपाका शीर्ष नेता इलाम-Sutra News

लिम्बूको उम्मेदवारी घोषणाका लागि लामिछानेसहित रास्वपाका शीर्ष नेता इलाम

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडाैं । आगामी वैशाख १५ का लागि तय भएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि केही दिन अगाडि मात्रै सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) परित्याग गरेका मिलन लिम्बूको उम्मेदवारीको औपचारिक घोषणा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेताहरू इलाम गएका छन् ।



बिहीबार मात्रै इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको रास्वपाले जनाएको छ । पार्टीको प्राइमरी निर्वाचनमा नाम दर्ता गराएका सबैले नाम फिर्ता लिएपछि लिम्बू सर्वसम्मत भएको र मतदानमा जान नपरेको रास्वपाले जनाएको हो ।

पहिचानसहितको संघीयताका कट्टर समर्थक लिम्बू अहिलेको संघीय संरचनासँग असन्तुष्ट रहेको र प्रदेशमा उम्मेदवार समेत नउठाएको रास्वपामा लिम्बूको प्रवेशलाई लिएर आलोचना गर्नेको संख्या पनि बढ्दै गएको छ ।

लिम्बूको उम्मेदवारी घोषणामा पार्टी सभापति लामिछाने सहित उपसभापति डा. स्वर्णिम वाग्ले, सह-महामन्त्री कविन्द्र बुर्लाकोटी, संसदिय दलका उपनेता एवं युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सह-प्रवक्ता रमेश प्रसाईं, केन्द्रिय सदस्य डा. तोसीमा कार्की सहितका नेताहरू इलाम पुग्ने भएका छन् । रास्वपा नेताहरूले लिम्बूको उम्मेदवारी घोषणाको साथै इलाम क्षेत्र नम्बर २ स्थित इलाम नगरपालिका ७ चोक बजार लाकुरी चौतारा पुगेर मतदातालाई सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जानकारी दिएको छ ।

परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य प्रतिस्पर्धा रहेको इलाम २ मा रास्वपाको उपस्थिति सँगै त्रिपक्षीय भिडन्त हुने पक्कापक्की भएको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक रहेको एमालेले पूर्वसभामुख एवं सोही क्षेत्रबाट निर्वाचित सांसद स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइसके छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि सुवासचन्द्र नेम्वाङसँग झिनो मतले पराजित डम्बर खड्कालाई उम्मेदवार बनाउने तयारी अगाडि बढाएको छ ।

सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले उम्मेदवार उठाउने भने पनि अहिलेसम्म उम्मेदवारी घोषणा गरेको छैन भने पहिचानवादी र एकीकृत समाजवादी सहितका दलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष एवं दिवंगत नेता सुवासचन्द्र नेम्वाङ लगातार ५ पटक निर्वाचित भएको इलाम २ मा यसपटक उनै नेम्वाङ पुत्र सुहान नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र नेपाली कांग्रेसबिच कसले बाजी मार्ला ? त्यो प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट