छानबिनको दायरामा तानियो प्रसाइँले बोक्ने हतियार-Sutra News

छानबिनको दायरामा तानियो प्रसाइँले बोक्ने हतियार

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बोक्ने अत्याधुनिक हतियारबारे गृहमन्त्रालयले छानबिन सुरु गरेको छ । हतियारको इजाजतपत्र र नवीकरणबारे प्रश्न उठेपछि गृहले समिति नै बनाएर छानबिन थालेको हो ।



मन्त्रालयले बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । समितिमा गृह मन्त्रालयका उपसचिव (कानुन) ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य रहेको जनाइएको छ ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समयसीमा दिइएको जनाइएको छ ।

गत चैत ५ गते सर्वोच्च अदालत परिसरबाट प्रसाईंका दुई सहयोगीहरु दीपक खड्का र राजकुमार धिताललाई अत्याधुनिक हतियारसहित समातिएका थिए । प्रहरीले अदालतभित्र हतियारसहित प्रवेश गर्न खोजेका उनीहरुलाई हिरासतमा लिएको थियो । उनीहरुबाट प्रहरीले २२ बोर ए३५४७५२को हतियार बरामद गरेको थियो।

प्रहरीले प्रसाइँका सहयोगीहरु खड्का र धिमालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेर अनुसन्धान थालेको थियो । तर, प्रहरीको उक्त कार्य गैरकानुनी भन्दै सर्वोच्चले उनीहरूलाई थुनामुक्त गर्न आदेश जारी गरी छाडिदियो । सँगै सर्वोच्चले उक्त हतियारमाथि छानबिन गर्न गृहलाई निर्देशन दिएको थियो ।

योबीचमा उक्त हतियारबारे संसदीय समितिमै पनि चर्चा उठेको थियो । विशेषगरी प्रसाइँले बोकेको हतियारको अनुमति कसरी दिइयो भन्ने प्रश्न चौतर्फी उठेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट