वर्षाले राजमार्ग विस्तारको काम ठप्प-Sutra News

वर्षाले राजमार्ग विस्तारको काम ठप्प

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक विस्तारको काम प्रभावित बनेको छ ।



वर्षाले तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगन गौँडालगायत खण्डमा कालोपत्रको काम रोकिएको छ । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेलले भने, ‘दुई किलोमिटर क्षेत्रमा प्राइमर बिछ्याइसकिएको थियो, वर्षा भइरहेका कारण कालोपत्रको काम रोकिएको छ ।’

वर्षाकै कारण काम दुई हप्ता पछाडि धकेलिएको र अन्य पूर्वाधारका काम पनि प्रभावित भएको उनको भनाइ छ । आयोजना प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत प्रगति हासिल गर्ने लक्ष्यसहित कामलाई गति दिइएको बताए ।

पाँच सयभन्दा बढी मजदुर निर्माणमा खटिएका छन् । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार तयारीको काम भइरहेको छ । कुनै अवरोध नआएमा आगामी दुई वर्षभित्र आयोजनाको काम सम्पन्न हुने उनले बताए ।

तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दशमलव ८८ किमी दूरी रहेको पश्चिम खण्डको आधा क्षेत्र पाँच लेन र आधा जति चार लेनको बन्ने आयोजना प्रमुख पौडेलले जानकारी दिए । हाल सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट