गठबन्धन टुटेपछि पहिलो पटक प्रचण्ड–देउवा भेट, के भयो कुराकानी ?-Sutra News

गठबन्धन टुटेपछि पहिलो पटक प्रचण्ड–देउवा भेट, के भयो कुराकानी ?

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौ । प्रधानमन्त्रीसमेत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो।



प्रचण्ड र देउवाबीच झण्डै एक घण्टा संवाद चलेको थियो ।

बालुवाटारमा भएको भेटमा संसद्‌को गतिरोध र शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । “संसदको गतिरोध हटाउन र शान्ति प्रक्रियासँग सम्बन्धित प्रक्रियालाई टुंग्याउने कोणबाट छलफल भएको हो, यसमा मिलेर जाऔं भन्ने छ”, आचार्यले भेटवार्ताबारे भनेका छन् ।

प्रमुख प्रतिपक्षीको बेन्चमा पुगेसँगै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमाथि संसदीय छानबिनको माग गर्दै आएको छ । कांग्रेसले स्वार्थ बाझिनेगरी गृहको जिम्मेवारीमा बस्न नहुने अडान लिँदै आएको छ ।

कांग्रेसको अडानका कारण विभिन्न विधेयकमाथिको छलफल प्रभावित भएको छ । प्रधानमन्त्री शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयधलाई टुंग्याउने प्रयत्नमा छन् । उनले देउवासँग उक्त विषयमा सहयोग खोजेका हुन् ।

यद्यपि, कांग्रेससँग टीआरसीकै विषयमा समझदारी नबन्दा राष्ट्रियसभा अध्यक्षको निर्वाचनको सम्मुखमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोडेका थिए । उनले फागुन २१ मा एमालेसहितका दललाई सरकारमा जोडेका थिए ।

सत्ता समीकरण परिवर्तनपछि प्रचण्ड र देउवाबीच भएको यो पहिलो भेटवार्ता हो । एक घण्टासम्म चलेको संवादमा अन्य विषयमाथि पनि छलफल भएको अड्कल लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट