भेन्टिलेटरबाट निकालिएका सुशान्त बस्याल अझै बिहोस-Sutra News

भेन्टिलेटरबाट निकालिएका सुशान्त बस्याल अझै बिहोस

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । शुक्रबार चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टोली चढेको कार दुर्घटना हुँदा कमेडियन सुशान्त बस्याल गम्भीर घाइते थिए ।



टाउकोमा गम्भीर चोट लागेर मध्यपुर ठिमी अस्पतालमा उपचारारत बस्याललाई भेन्टिलेटरबाट निकालिएको स्रोतले जनाएको छ । तर, उनको सोमबारसम्म होस आउन सकेको छैन ।

परिवार स्रोत भन्छ, ‘उनलाइ भेन्टिलेटरबाट बाहिर राखिएको छ, तर, होस आएको छैन्, उसले अहिलेसम्म मान्छे चिन्न सकेका छैनन्, अहिले आफै सास फेरेका छन् ।’

उनको तत्काल निको हुने अवस्था नरहेको चिकित्सकले जनाएको छ । सोही घटनामा घाइते भएका ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी र पूजन अधिकारीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेको थियो ।

मदिरा सेवन गरी कार चलाउँदा दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई आइतबार हाजिरी जमानीमा प्रहरीले रिहा गरिसकेको छ । उनीहरू घाइतेका परिवारसँग छलफल गरी सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी कागज गरेपछि हिरासत मुक्त भएका हुन् ।

दुई पक्षबीचको कागजी सम्झौताअनुसार सुशान्तको सबै उपचार खर्च निर्देशक भण्डारीले बेहोर्ने भएका छन् । रिहा भएसँगै उनले अस्पताल पुगेर सुशान्तको अवस्थाबारे जानकारी लिएका थिए ।

यता सुशान्तका परिवार सबै काठमाडौं आइपुगेका छन् । आइतबार अमेरिकाबाट उनका माइला दाजु र क्यानडा बस्ने ठूलो दाइ पनि काठमाडौं आइपुगेका छन् । सुशान्त चार दाजुभाइमध्ये कान्छा हुन् । उनका साइँला दाजु काठमाडौंमा नै बस्छन् ।

शुक्रबार बिहान साढे ३ बजे नगरकोटबाट काठमाडौं आउँदै गरेको कार भक्तपुरको जगातीको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोकिएको थियो । बस्यालसँगै दुर्घटनामा परेका पवन भट्टराई, प्रकृति गिरी र रजनिस अर्यालको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।

कार चालक भण्डारी र कारमा सवार अधिकारी सामान्य उपचारपछि प्रहरी हिरासतमा पुगेका थिए ।

यो पनि पढ्नुहोस्

‘कमेडी च्याम्पियन’का सुशान्त भेन्टिलेटरमा भर्ना, विशालसहित दुई जना हिरासतमा

‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना, ६ जना घाइते मध्य एक गम्भीर

को हुन् भेन्टिलेटरमा पुगेका ‘कमेडी च्याम्पियन’का सुशान्त ?

‘कमेडी च्याम्पियन’का निर्देशक भण्डारी हाजिरी जमानीमा रिहा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट