प्रचण्डसँग किन खोँचे थाप्दैछन् माधव र उपेन्द्र ?-Sutra News

प्रचण्डसँग किन खोँचे थाप्दैछन् माधव र उपेन्द्र ?

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षीय दलहरु हुन् । जसपा नयाँ गठबन्धन निर्माणकै समयमा सँगै थियो भने एकीकृत समाजवादी पार्टी फागुन २३ मा भएको सहमति पछि गठबन्धनमा आबद्ध भएको थियो ।



गठबन्धन निर्माणको समयमा फागुन २१ मा चार दलबीच भएको ८ बुँदे सहमतिमा जसपा मुख्य हिस्सेदारको रुपमा थियो भने पछि फागुन २९ मा सोही सम्झौतालाई संशोधन गरी ७ बुँदे बनाउँदा एकीकृत समाजवादी विविधत् सहभागि भएको थियो । दुवै दल महत्वपूर्ण मन्त्रालयसहित अहिले सरकारमा पनि सहभागि छन् ।

यद्यपि, बुधबार सदनमा दुवै दलको प्रस्तुति प्रतिपक्षीको भन्दा कम थिएन । दुवै दलले विश्वासको मत दिएपनि प्रतिपक्षीले भन्दा कडा शैलीमा सरकारको विरोध गरेका थिए । दुवै दलले सरकारको भविष्यलाई देखाएर पनि चेतावनी दिएका छन् ।

बुधबार संसद बैठकमा बोल्ने क्रममा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गठबन्धनको भविष्य नरहेको समेत भनेनन् आफ्ना मागहरु सम्बोधन नगरिएका दिन सत्ता छाड्ने चेतावनी पनि दिए । एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बजेट पारितसम्मको समय दिएको छ ।

यता, जसपाले पनि सोही शैलीमा चेतावनी दिएको छ । माग पूरा नगरेको खण्डमा सरकार छाड्न बेर नलाउने चेतावनी जसपाको छ । जसपाका नेता राजकिशोर यादवले केही महिना मात्रै कुर्न सकिने चेतावनी दिएका छन् ।

बुधबारको संसद बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफू नबोलेर दोस्रो तहका नेतालाई सम्बोधनका लागि पठाएका थिए । उनीहरुले दोस्रो तहका नेतामार्फत प्रधानमन्त्रीको उछितो मात्रै काढेनन् आफ्ना मागबारे चेतावनीपूर्वक पूरा गराउन दबाब पनि दिएका थिए ।

निकटस्थ नेताहरुका अनुसार विशेषगरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्रीको बारगेनिङ्गमा छन् भने जसपाका अध्यक्ष यादव मधेश सरकारको सुनिश्चिततासँगै केन्द्रीय सरकारमा महत्वपूर्ण हिस्सेदारी खोजिरहेका छन् । समीकरण परिवर्तनसँगै स्वतः दबाबमा रहेका प्रधानमन्त्रीलाई थप आफू अनुकुल बनाउने योजनामा दुई दलका नेतृत्व लागेको नेताहरुको टिप्पणी छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गर्दा गरेको सम्बोधन पनि नेताहरुको चौतर्फी दबाबको प्रतिफल भएको देखिन्छ । प्रधानमन्त्री प्रचण्डले नेताहरुको बारगेनिङ्गले आफू हैरान भएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट