हिन्दू राष्ट्रको एजेन्डा उठ्दा विभाजित बन्यो कांग्रेस-Sutra News

हिन्दू राष्ट्रको एजेन्डा उठ्दा विभाजित बन्यो कांग्रेस

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेसभित्र फेरि धर्मको एजेन्डाले प्राथमिकता पाएको छ । महासमिति बैठकसँगै कांग्रेसले धर्मको सन्दर्भमा कित्ता स्पष्ट पार्ने धेरैको अनुमान छ । हालसम्मको छलफल र तयारीलाई हेर्दा कांग्रेस फेरि हिन्दु राष्ट्रको पक्षमा उभिने अड्कल गर्न सकिन्छ ।



हिन्दु राष्ट्रको पक्षमा छलफल चलाउन केन्द्रीय समितिका केही नेताहरुले समूहगतरुपमै लिखित प्रस्ताव तयार गरेका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा कांग्रेसका २२ केन्द्रीय सदस्यले हस्ताक्षरसहित नै प्रस्ताव दर्ता गराएका छन् । जहाँ केही प्रभावशाली नेताहरु पनि सहभागि छन् ।

नेताहरुले ९४ प्रतिशतभन्दा बढी हिन्दुहरु रहेको मुलुकमा धर्म निरपेक्षता लाद्न नमिल्ने तर्क प्रस्तावमा राखेका छन् । जसरी कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभियो यो जनभावना विपरित रहेको नेताहरुको तर्क छ ।

“कांग्रेस जस्तो व्यापक जनआधार भएको प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशत भन्दाबढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधार, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिनु ठिक थिएन”, प्रस्तावमा भनिएको छ ।

भण्डारीको नेतृत्वमा दर्ता गरिएको प्रस्तावप्रति कांग्रेसमा शीर्ष तह पनि सकारात्मक देखिन्छ । स्वयम् सभापति शेरबहादुर देउवा पनि भण्डारीको प्रस्तावको पक्षमा देखिएको नेताहरु बताउँछ । सभापति देउवाले यसअघि नै सार्वजनिकरुपमा हिन्दु राष्ट्रको एजेन्डामाथि छलफल आवश्यक भएको बताएका थिए ।

धर्मको एजेन्डाले जबरजस्त प्राथमिकता पाइरहँदा धर्मकै एजेन्डाले कांग्रेस भने विभाजित बनेको छ । पार्टीलाई हिन्दु राष्ट्रको पक्ष उभ्याउन तयारी चलिरहेकै बेला पार्टीकै केही संगठनहरु भने खुलेर विरोधमा आएका छन् । आदिवासी जनजाति विभाग, लोकतान्त्रिक आदिवासी महासंघ र मुस्लिम संघले भण्डारी नेतृत्वको प्रस्तावप्रति आपत्ति जनाएका छन् । तीन संगठनले संयुक्त विज्ञप्ति नै जारी गर्दै पार्टीभित्र सुरु भएको धर्मको बहसको विरोध गरेका हुन् ।

लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रणालीको कार्यान्वयनको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनीहरुको माग छ । महासमिति बैठकमा यस्ता एजेन्डालाई समावेश नगराउन पनि उनीहरुले अपिल गरेका छन् ।

धर्मको विषयमा उठेको बहस पार्टीको विचार र सिद्धान्तविपरीत भएको आदिवासी जनजाति तथा मुस्लिम समुदायको भनाई छ ।

‘नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने समयमा प्रतिगमन गर्न खोज्नु पार्टी, जनता र मुलुककै लागि दुर्भाग्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको यस ऐतिहासिक महासमिति बैठक २०८० मा संविधान एवम् पार्टीको नीति, विचार र सिद्धान्त विपरित हुनेगरी कुनै निर्णय नगर्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइन्छ।’

साथै, नेपाली जनताको आन्दोलनबाट प्राप्त उपलब्धिहरु लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीलाई अविछिन्न राख्दै यसको कार्यान्वयन गर्न पनि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका छन्।

यद्यपि, कांग्रेसको ठूलो तप्का हिन्दु राष्ट्र बनाउने पक्षमा उभिएको कारण के–कसरी छलफल हुन्छ हेर्न बाँकी नै छ । तथापि, यसले कांग्रेसलाई विभाजित बनाएको छ । यदि हिन्दु राष्ट्रको पक्षमा कांग्रेस उभिएमा धर्म निरपेक्षताका पक्षधर तिव्र असन्तुष्ट बन्ने अनुमान लगाउन गाह्रो छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट