पूर्वराजाले किन वेवास्ता गर्दैछन् दुर्गा प्रसाइँलाई ?-Sutra News

पूर्वराजाले किन वेवास्ता गर्दैछन् दुर्गा प्रसाइँलाई ?

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । एमालेको जिम्मेवारीमै रहेकै बखत एक वर्षअघि २०७९ फागुन १ मा काँकडभिट्टाको मेची पुलमा विशेष कार्यक्रम गर्दै दुर्गा प्रसाइँले राजसंस्थाको पक्षमा आफूलाई उभ्याएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै प्रमुख अथिति बनाएर राजसंस्थाको पक्षमा अभियान चलाउन उनले ‘नागरिक बचाउ महाअभियान’को घोषणा गरेका थिए । जुन अभियानको घोषणापछि उनी एमालेबाट बाहिरिए भने घोषितरूपमै राजसंस्थाको पक्षमा सडकमा ओर्लिए ।



प्रसाइँले योबीचमा देशव्यापी कार्यक्रम गरिरहेका छन् । पछिल्लो केही महिनादेखि उनले आफ्नो कार्यक्रमलाई थप आक्रामक बनाइरहेका छन् । प्रसाइँले ‘निर्णायक आन्दोलन’ भन्दै गत मंसिर ७ मा केन्द्रीय राजधानी काठमाडौंमा प्रदर्शन गरेका थिए । तर, केन्द्रीय राजधानी केन्द्रीत उनको प्रदर्शन अपेक्षाकृत बन्न सकेन ।

एकातिर सरकारले उच्च तहमा बल प्रयोग गर्‍यो भने अर्कोतिर राजसंस्था पक्षधरबाटै उनले सदासयता पाउन सकेनन् । जसको निम्ति अभियान चलाएका थिए प्रसाइँले उनीबाटै सहयोग पाएनन् ।

मंसिर ७ मा प्रसाइँ काठमाडौं केन्द्रीत कार्यक्रममा ओर्लिँदा पूर्वराजा शाह भने दलबलसहित झापा पुगेका थिए । पूर्वराजा शाह राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आयोजना गरेको कार्यक्रममा सघाउन झापा ओर्लिएका थिए । पूर्वराजा र राजसंस्था पक्षधरको सहयोग नपाउँदा नै प्रसाइँको काठमाडौं केन्द्रीत प्रदर्शन कमजोर बनेको थियो ।

राजसंस्थाको पक्षमा अभियान सुरु गरेको एक वर्ष पुग्दै गर्दा प्रसाइँले आगामी फागुन १ गते काठमाडौंबाट व्यवस्थाविरुद्ध निर्णायक आन्दोलन गर्ने बताइरहेका छन् । उनले पुनः पूर्वराजा शाहलाई सहभागि बनाएर आन्दोलनको घोषणा गर्ने तयारी गरेका छन् ।

तर, यसअघि जस्तै पूर्वराजाले प्रसाइँको अभियानलाई भने यसपटक पनि छलेका छन् । फागुन १ बाट अभियान छेड्ने प्रसाइँको तयारी चलिरहँदा पूर्वराजा शाह भने सवपरिवारसहित चितवन झरेका छन् । पूर्वराजा निकटस्थले बताएअनुसार उनी आगामी १६ दिन चितवनमा रहनेछन् । चितवनको सोल्टी होटलमा पूर्वराजा शाहले १६ दिनका लागि होटल बुक गरेका छन् ।

पछिल्लो समय प्रसाइँको अभियानलाई लिएर मुल राजावादी पार्टी राप्रपा विभाजित छ भने कलम थापा नेतृत्वको राप्रपा नेपालले सदासयता देखाएको छ । यद्यपि, यसअघिकै शैलीमा राप्रपा विभाजित हुँदा प्रसाइँको अभियानलाई सहयोग पुग्ने देखिन्न । कमल थापाले सदासयता देखाएपनि उनको पक्षमा बलियो शक्ति छैन ।

पूर्वराजा शाह सहभागि नहुने र राजावादी पार्टीहरुले पनि सहयोग नगर्ने परिस्थितिमा प्रसाइँको अभियान फेरि असफल हुने निश्चित देखिन्छ । यसले एकातिर राजावादीहरुको मनोविज्ञान आन्दोलनका लागि तयार नभइसकेको देखाउँछ भने अर्कोतिर राजावादीहरुभित्र व्यापाक विभाजन आएको पनि देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट