कसरी पछ्यायो टेलिभिजनको किचलोले रविलाई ?-Sutra News

कसरी पछ्यायो टेलिभिजनको किचलोले रविलाई ?

सोमबार, ९ पौस २०८०

सोमबार, ९ पौस २०८०

काठमाडौं । २०७७ फागुनमा ‘ग्यालेक्सी फोर के’ टेलिभिजनको सुरुवात भयो । जसमा देखिने अनुहारमा रवि लामिछाने थिए । यद्यपी, उक्त टेलिभिजनमा लामिछानेको भूमिका कार्यकारी निर्देशक (एक कर्मचारी)को रुपमा मात्रै देखिन्छ ।



तथापि, व्यक्तिगत चर्चाको कारण पनि ‘ग्यालेक्सी फोर के’ टेलिभिजन लामिछानेकै हो भन्ने बुझाई धेरैमा रह्यो । कागजीरुपमा उक्त टेलिभिजनमा जि.बि. राई, कुमार रम्तेललगायत लगानीकर्ताको रुपमा देखिन्छन् । लामिछाने कुनै सन्दर्भमा सहयोगी भएपनि उनी त्यसका लगानीकर्ता नरहेको बाहिरि तथ्यहरु बोल्छन् ।

लामिछानेकै ख्यातीका कारण निकै छोटो समयमै टेलिभिजन पनि लोकप्रिय बन्यो । अन्य मूलधारका टेलिभिजनकै तहमा ग्यालेक्सी टेलिभिजनले प्रसिद्धि कमाएको थियो ।

यद्यपि, टेलिभिजनको फरक यात्रामा देखिएका लामिछानेले लगत्तै पत्रकारिता यात्रा त्यागे । उनी पत्रकारिता यात्रालाई त्याग्दै राजनीतिमा होमिए । टेलिभिजन स्थापनाको डेढ वर्ष नहुँदै २०७९ को असार २ मा लामिछाने आफैं रहेर सुरुवात गरिएको टेलिभिजनबाट बाहिरिँदै राजनीतिमा होमिए ।

असार २ मा टेलिभिजनबाट बाहिरिएका उनले लगत्तै असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाममा दलको घोषणा गरेका थिए । राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमका बीच उनको नेतृत्वमा रास्वपाको घोषणा भएको थियो ।

लामिछाने त्यसयता राजनीतिक कर्ममै व्यस्त छन् । उनी नेतृत्वको पार्टीले छोटो समयमै राजनीतिक रुपमा ठूलै छलाङ्ग मारेको पनि देखिन्छ । असारमा गठन भएको पार्टीले सोही वर्षको मंसिरमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ माओवादी केन्द्रको हाराहारिमा ११ लाख २४ हजार मत प्राप्त गरेको थियो ।

राजनीतिमा लागेको छोटो समयमै लामिछाने सांसद मात्रै बनेनन् मन्त्रीसम्म बने । उनले ३२ दिनसम्म गृहमन्त्रालयको नेतृत्व लिएका थिए ।
तर, त्यसयता लामिछाने आफैं नागरिकतादेखि विभिन्न समस्यामा झेलिए । उनी मन्त्री र सांसद पदबाट मात्रै बाहिरिएनन्, नागरिकताबिहीन पनि बने । भलै, उक्त सन्दर्भमा उनको आफ्नै कमजोरी पनि देखिन्छ ।

यद्यपि, उपनिर्वाचनबाट फेरि उनी निर्वाचित भएर आएका छन् । उपनिर्वाचनबाट प्राप्त मतलाई हेर्दा, उनको पार्टीको पक्षमा थप जनमत बढेको देखिन्छ ।

अहिले रास्वपा संसदभित्र प्रतिपक्षी दल हो । तथापि, उसको हैसियत कमजोर छैन ।

रास्वपाले थुप्रै एजेण्डामा आफूलाई रचनात्मकरुपमा पनि प्रस्तुत गरिरहेको छ । सुरुवाती संसदीय राजनीतिक खेलमा देखिएको कारण कयौं ठाउँमा चुकेको छ, तथापि उसलाई सच्चिने मौका पनि अन्यको तुलनामा धेरै दिन सकिन्छ ।

तर, यहीबीच स्वयम् पार्टी सभापति लामिछानेमाथि एकपछि अर्को गर्दै प्रश्नहरु उठ्न थालेका छन् । उनी प्रश्न र राजनीतिक चक्रको घेरामा फस्दै गएको देखिन्छ । टेलिभिजन कर्म छाडेको करिब डेढ वर्षपछि उनलाई सोही टेलिभिजनको व्यवस्थापकीय किचलोले समातेको छ । उक्त किचलोले लामिछानेलाई ‘भात खाम कि, थाल खाम’को अवस्थामा पुर्‍याएको देखिन्छ ।

शनिबार पोखरामा भएको रास्वपाको आमसभाका क्रममा उनीमाथि मकैको खोया प्रहार भयो । खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । तर, बाहिर रहेका लामिछाने अर्को गम्भीर प्रश्नको घेरामा तानिएका छन् ।

स्वयम् लामिछानेले बताएअनुसार उनलाई ‘जेल पठाउने योजना बुन्न थालिएको छ’ । जसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘डिजाइनर’को भूमिका खेलेका छन् । केही सञ्चार माध्यम उनीविरुद्ध हात धोएर लागेको उनी बताउँछन् ।

उनी गृहमन्त्रीको पदमा रहँदा राष्ट्रिय परिचयपत्र छपाइको जिम्मा विदेशी कम्पनीलाई दिइएकोको घटनामा अहिलेका गृहमन्त्री श्रेष्ठले छानबिन समिति बनाएर छानबिन बढाएका छन् । जुन समितिप्रति उनको ठूलो सन्देह झल्किन्छ ।

अर्कोतर्फ, सूर्यदर्शन सहकारीको हिनामिना प्रकरणमा उनी मुछिएका छन् । पोखरामा रहेको उक्त संस्थाको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको घटनामा लामिछानेको नाम जोडिएको छ ।

लामिछानेको नाममा उक्त सहकारीबाट ऋण लिइएको तथ्यहरु बाहिरिएका छन् । पोखरा महानगरपालिकाको छानबिन प्रतिवेदनअनुसार उनको नाममा १ करोड ऋण लिएको देखिन्छ ।

ग्यालेक्सी टेलिभिजनको सञ्चालनका क्रममा जीबी राईलगायतले उक्त सहकारीको पैसा लगानी गरेका थिए । जसमा उनको नाममा पनि ऋण निकालिएको देखिन्छ ।

यद्यपि, लामिछानेले उक्त कुरालाई अस्वीकार गरेका छन् । उनले आफूलाई फसाउन खोजिएको बताएका छन् ।

आफूमाथि आरोप लागेपछि उनले “साझेदारले आफ्नो नागरिकता दुरुपयोग गरेको हुनसक्छन्” भन्ने प्रतिक्रिया दिएका छन् । तथापि, खोया काण्डको लहरो तान्दा आएको यो घटनाको बृहत छानबिनपछि मात्रै बाँकी विषय स्पष्ट हुने देखिन्छ ।

यद्यपि, यो घटनाले उनलाई टेलिभिजन कर्म छाडेको डेढ वर्षपछि पनि टेलिभिजनको किचलोले नछाडेको देखिन्छ । उनी टेलिभिजन किचलोले अर्को समस्यामा झेलिन थालेको देखिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट